BIZMANDU
www.bizmandu.com

उद्योग हाम्रो पहिचान हो, यसलाई हामी छोड्दैनौं, राजकुमार गोल्छासँगको अन्तर्वार्ता

२०७१ भदौ २२

उद्योग हाम्रो पहिचान हो, यसलाई हामी छोड्दैनौं, राजकुमार गोल्छासँगको अन्तर्वार्ता
उद्योग हाम्रो पहिचान हो, यसलाई हामी छोड्दैनौं, राजकुमार गोल्छासँगको अन्तर्वार्ता


गोल्छा समुहका सदस्यहरु सबैका आ–आफ्ना डिपार्टमेन्टहरु छन् । जस्तो म जुटको व्यवसाय हेर्छु । हाम्रो समुहको यो परम्परा अहिले देखिको होइन, हजुरबुबा रामलाल गोल्छाको पाला देखिकै हो । त्यो बेलादेखि नै यस्तो सिस्टम बनाइएको हो । सबैको काम र जिम्मेवारी अनुसार तलब सुविधाको व्यवस्था पनि गरेका छौं ।

गोल्छा समुहको सफलताको कारण भनेको क्षमता अनुसारका जिम्मेवारी र जिम्मेवारी अनुसारको सेवा सुविधा हो । त्यसमा पनि व्यपार भनेको जति विस्तार गर्यो उति बढेर जाने कुरा हो । यो जमिन जस्तो होइन कि जति बाँड्यो उति घटेर जाने ।

जुटमा हाम्रो फोकस हटेको छैन । तर जुटको व्यपारमा चुनौतिहरु थपिएका छन्, प्लाष्टिकले गर्दा बजार घटेको छ ।  भारत र बंग्लादेशमा जुट उद्योगलाई सरकारले नै सहयोग गरेका छन् । तर नेपालमा छैन् । यति हुँदाहुँदै पनि हाम्रा दुई उद्योगमा आठ हजार श्रमिकले रोजगारी पाइरहेका छन् । यस्तो अवस्थामा फोकस हट्यो त कसरी भन्ने ?

 

नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छा गोल्छा अर्गनाइजेशनकै प्रभावशाली सदस्य हुन् । विशेष गरि जुट उद्योग र श्रमिक व्यवस्थापन तथा परिचालनमा दख्खल राख्ने गोल्छा अहिले अर्गनाइजेशन अन्तर्गतको अरिहन्त मल्टिफाइवर्स समूह र रघुपति जुट मिलको कारोवार हेर्छन । विराटनगरबाट सुरु भएको यो समूहको कारोबार अहिले काठमाडौंमा बढी छ । बिजमाण्डूका लागि महेन्द्र बिष्टले बिराटनगरमै उनलाई सोधे गोल्छा अर्गनाइजेशनको फोकस उद्योगबाट व्यापारमा सरेको हो ?

Tata
GBIME
NLIC


१९३५ सालमा तपाईको पुर्खा नेपाल आएका हुन् । ९०/९२ बर्ष अगाडि सानो पुँजी लिएर आएका रामलाल गोल्छाले सुरु गरेको व्यापार व्यवसाय उहाँको परिवारले यति ठूलो बनाइसकेको छ कि अब गोल्छा समूह हरेक क्षेत्रमा अगाडि छ  भन्दा हुन्छ ?
हरेक क्षेत्रमा त होईन, नेपालको धेरै क्षेत्रमा गोल्छा समूह अगाडि छ । यसरी हेरौं, हामी जुट, स्टील, खाद्यन्न उद्योग जस्ता क्षेत्रमा अरु भन्दा अगाडि छौ   ।     

परम्परागत जुटबाट सुरु भएको व्यवसाय अहिले खाद्यान्न, गाडी हुँदै सुचना प्रविधिसम्म पुगेको छ । गोल्छा अर्गजनाइजेशनका व्यापारमा संलग्न सदस्यहरुले नयाँ क्षेत्रमा हात हालेको देखिन्छ । अबको नयाँ योजना के हो ?
विशेष गरेर हाम्रो फोकस भनेको ट्रेडिङ्ग इण्डष्ट्रिज नै हो । अरुमा पनि जाने योजना चाही छ तर लोडसेडिङको समस्याले गर्दा औद्योगिक क्षेत्रको अवस्था खराव छ । यसले धेरै समस्याहरु सिर्जना गरेको छ । लोडसेडिङको समस्या समाधान भएपछि मात्र नयाँ परियोजना सुरु गर्ने सोचमा छौं ।

लोडसेडिङको समस्या चाँडै समाधान होला जस्तो लागेर यस्तो सोचाई बनाउनु भएको हो ?
उर्जाको क्षेत्रमा पनि नयाँ नयाँ परियोजनाहरु आईरहेका छन् । लोडसेडिङ अन्त्य गर्न सक्ने गरि आयोजना बनाउनु पर्छ भनेर आवाज उठेकै छ । ठूला आयोजना निर्माणका लागि पहल पनि भएको छ । अहिले नभए पनि दुई÷चार बर्ष पछि त केही न केही उपाय लाग्ला नि । सँधै यति लामो समय लोडसेडिङ भइरहँदैन ।

गोल्छा समूह हेर्दा एक ढिक्का देखिन्छ, तर यिनीहरुको सदस्यहरुको व्यापार व्यवसाय एउटै छैन । सबै सदस्यले जिम्मेवारी बाटफाँड गरेका छन् यसलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
गोल्छा समुहका सदस्यहरु सबैका आ–आफ्ना डिपार्टमेन्टहरु छन् । जस्तो म जुटको व्यवसाय हेर्छु । हाम्रो समुहको यो परम्परा अहिले देखिको होइन, हजुरबुबा रामलाल गोल्छाको पाला देखिकै हो । त्यो बेला देखि नै यस्तो सिस्टम बनाइएको हो । सबैको काम र जिम्मेवारी अनुसार तलब सुविधाको व्यवस्था पनि गरेका छौं । त्यसमा पनि हामीले विभिन्न समुहहरु बनाएका छौं, जस्तै अरिहन्त समुह, टेलिभिजन आदि । जसले जुन हेर्छ त्यसमा उसकैका जिम्मेवारी हुन्छ । ती सबैमा स्वतन्त्र कम्पनीहरु छन् र सोही अनुसारको जिम्मेवारी पनि हुने गर्दछ ।

तपाईले नै १९८९ बाट व्यवसायमा प्रत्यक्ष हात हाल्नु भयो, गोल्छा समूहका अग्रजहरुले तपाईहरुलाई व्यवसाय गर्न कस्तो मन्त्र सिकाए ?
स्पष्ट रुपमा भन्दा हामीको ठगेर खाने प्रबृति छैन । हामी सबै जना ओपन माईण्डेड छौं । आज हजुरबासँग काम गरेका मानिसका परिवारहरु हामीसँग पनि काम गरिरहेका छन् । सबैलाई पारिवारिक बातावरण दिएका छौ । हाम्रो समुहको सफलतामा उनीहरुको पनि ठूलो हात रहेको छ । यो सबै हामीले हजुरबुबाबाट सिकेका हौं ।

आधुनिक प्रविधिलाई भित्राएर व्यापार गर्ने चलन तपाईहरुले नै सुरु गर्नु भएको हो । २०१६ सालमै तपाईहरुले जर्मनीबाट ल्याएको प्लान्ट जडान गरी पहिलो स्वचालित चामल उद्योग खोल्नु भयो, अहिले कसरी काम गर्दै हुनुहुन्छ ?
हाम्रो व्यवसाकि मुलमन्त्र भनेको नै गुणस्तर हो । हामीले उत्पादन गरेको बस्तुको गुणस्तरमा कसैले पनि खोट लगाउन सक्तैन । खाद्यन्नमा गोल्छा समुहको जुन गुणस्तर छ, त्यत्तिको अहिलेसम्म कसैले दिन सकेको छैन । हुलासको चामल अहिले पनि एक नम्बर मै आउँछ । त्यस्तै हुलासको स्टीललाई पनि सबैले भरोसा गरेका छन् । सामसुङ टेलिभिजन पनि त्यस्तै हो । मुलुकमा रंगिन कर्कटपाता पनि हामीले नै ल्याएका हौ । त्यस्तै गत बर्षदेखि हामीले पर्यटन व्यवसायमा पनि लगानी सुरु गर्यौं । पोखरामा बम्बिङ्ग जम्पिङ्गको सुरुवात गरेका छौं ।
त्यस्तै शिक्षा र स्वास्थ्यमा पनि केही गुणस्तरीय परियोजनाहरु चलिरहेका छन् । विराटनगरमा सञ्चालित युरोकिट्स कलेज, विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल पनि सर्बसाधारणका भरोसायोग्य परियोजनाहरु हुन् । रामलाल गोल्छा आँखा अस्पताललाई अझ प्रभावकारी बनाउन किड्नी सेन्टर पनि सुरु भईसकेको छ । अहिले हाम्रो समुहमा विदेशमा अध्ययन गरेर आएको नयाँ पुस्ता पनि पर्याप्त भईसकेको छ । उनीहरुले अन्य क्षेत्रमा पनि नयाँ विशेषताका योजनाहरु ल्याउँछन् ।

हजारवुवा रामलालबाट वुवाहरु हंसराज र हुलास हुँदै अहिले नाती र पनातीहरुमा व्यवसाय सरिसकेको छ । अक्सर परिवार वढेपछि व्यापार भाग वन्डाले गर्दा घट्ने हुन्छ तर तपाईहरु आआफ्नो क्षेत्रमा अब्बल हुँदै जानु भयो, यो कसरी संभव भयो ?
यो सबै कुरा हामीले एउटा व्यवस्थित सिस्टम बनाएर काम गरेकाले संभव भएको हो । मैले अघि नै भनिसके हाम्रो समुहमा सबैले फरक फरक क्षेत्रको जिम्मेवारी पाएका छन् । जो जुन कुरामा दक्ष छ उसलाई सोही अनुसारको जिम्मेवारी दिने हाम्रो चलन छ । गोल्छा समुहको सफलताको कारण भनेको क्षमता अनुसारका जिम्मेवारी र जिम्मेवारी अनुसारको सेवा सुविधा हो । त्यसमा पनि व्यपार भनेको जति विस्तार ग¥यो उति बढेर जाने कुरा हो । यो जमिन जस्तो होइन कि जति बाँड्यो उति घटेर जाने ।

गोल्छा समूहको उदय विराटनगरबाट भयो तर तपाईका अधिकांस सदस्यहरु काठमाडौं बसेर व्यापार बढाइरहेका छन्, किन होला ?
उद्योग व्यवसायसँग सम्बन्धित सबै कामका प्रमुख कार्यालयहरु काठमाडौ केन्द्रित छन् । सानादेखि ठूला कामका लागि पनि काठमाडौ नै जानुपर्ने बाध्यता छ । यसले गर्दा काठमाडौलाई आधार बनाएर काम गर्नुपर्ने हाम्रो बाध्यता हो । अर्को कुरा काठमाडौको जीवनशैलि र हावा पानी पनि निकै राम्रो छ ।
त्यस्तै उद्योग व्यवसायको कामले विदेश आउन–जान, विदेशीसँग भेटघाट गर्न, सम्पर्क गर्न, सबै हिसावले काठमाडांै नै उपयुक्त छ । यी सबै काम विराटनगरमा बसेर गर्न सकिदैन ।  त्यसबाहेक अन्य सेवा सुविधा पनि काठमाडौमा नै केन्द्रित छन् । त्यसैले काठमाडौ केन्द्रित हुनुपर्ने हाम्रो बाध्यता हो ।

विराटनगरमा सुरुदेखि व्यापार गरेर राष्ट्रियस्तरमै पकड जमाइ सकेको गोल्छा समूहको अहिले विराटनगरमा प्रतिस्पर्धीहरु पनि थपिएका छन्, पहिलेको जस्तो सजिलो त छैन ?
व्यपार व्यवसायमा प्रतिस्पर्धा हुनु भनेको राम्रो हो । यसलाई सकारात्मक रुपमा लिनु पर्छ । प्रतिस्पर्धा भएन भने व्यवसायमा सफलता नै हुँदैन । सबैले विकास गरेको र प्रतिस्पर्धा गरेको र व्यापार विस्तार भएको कुरा राम्रो हो । बजारमा प्रतिस्पर्धा हुनैपर्छ । एकाधिकारबाट बिकास हुन सक्तैन । जहाँसम्म हाम्रो प्रतिस्पर्धाको कुरा छ, त्यो हिजो पनि विराटनगरको व्यापार व्यवसायमा हामी मात्र थिएनौ । पहिले पनि खुल्ला बजार नै थियो । हामीले पनि सानै पुँजीबाट सुरु गरेका थियौ, अरु हामी भन्दा माथि पनि थिए, आज उनीहरुको पनि विकास भएको छ ।

जुटमा तपाईहरुको निकै अग्रता थियो । अरिहन्त र रघुपति जुट मिलले त ९५ प्रतिशत उत्पादन निर्यात नै गर्थे । अहिले जुटबाट तपाईहरुको फोकस हटेको जस्तो देखिन्छ ?
जुटमा हाम्रो फोकस हटेको छैन । तर जुटको व्यपारमा चुनौतिहरु थपिएका छन्, प्लाष्टिकले गर्दा बजार घटेको छ ।  भारत र बंग्लादेशमा जुट उद्योगलाई सरकारले नै सहयोग गरेका छन् । भारतमा जुट उद्योगहरुले उत्पादन गरेका बस्तुहरु भारत सरकारले निश्चित नाफा हुने गरी दाहासाहीले खरिद गरिदिन्छ ।  तर यहाँ सरकारले जुट उद्योगलाई कुनै पनि सुविधा दिएको छैन । बंग्लादेशमा पनि सरकारले १० प्रतिशत सुविधा दिन्छ । त्यसैले अहिले बग्लादेशमा ९० वटा जुट उद्योगहरु सञ्चालनमा छन् । त्यहाँ कृषिजन्य उद्योग, वातावरणमैत्री, निर्यात जन्य र श्रममा आधारित उद्योग भनेर जुट उद्योगलाई सरकारले सहयोग गरिरहेको छ । तर नेपालम यस्तो केही छैन । यति हुँदाहुँदै पनि हाम्रै दुई वटा उद्योग अहिले पनि सञ्चालमा छन् । यी उद्योगहरुमा आठ हजार श्रमिकले रोजगारी पाइरहेका छन् । आठ हजार श्रमिकलाई रोजगारी दिइरहेको अवस्थामा फोकस हट्यो त कसरी भन्ने ? त्यसैले यसमा अहिले पनि हाम्रो फोकस कम भएको छैन ।

प्लास्टिक बोरा, जिआइ तार, कपर वायर, स्टिलमा पनि तपाईहरु अग्रता थियो । अहिले त्यो अवस्था छैन । विस्तारै उद्योगधन्दा भन्दा पनि व्यापारमा तपाईहरुको फोकस बढ्न थालेको हो ?
होइन, अहिले विभिन्न कारणले गर्दा उद्यागहरुको विकास हुन सकेको छैन । हाम्रो केही फोकस व्यपारमा पनि हो, तर उद्योग हाम्रो पहिचान हो, यसलाई हामी छोड्न चाहदैनौं ।

व्यापार व्यवसायमा मात्र होइन समाज सेवा पनि गोल्छा परिवारले अन्य व्यवसायीहरुलाई सिकायो । तर अहिले समाज सेवामा तपाईहरुको उपस्थिति कम अरुको बढी देखिन्छ । प्राथमिकतामा विचलन आएको हो ?
अरुले ककसले के के गरे भन्ने हाम्रो चासोको विषय होईन, तर हामीले समाज सेवामा कुनै कमी हुन दिएका छैनौ । यो कार्य हामीले विगत २० ‌‌अाैं बर्षदेखि गरिरहेका छौ । विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल समाज सेवा अन्तर्गतको हाम्रो उदाहरण हो । अझै त्यसमा केही सेवाहरु थप गर्दै छौं ।  भर्खरै किड्नी सेन्टर सुरु गरेका छौ । त्यसबाहेक धार्मिक क्षेत्रमा पनि हाम्रो सहयोग चलिरहेको छ । जैन गुरु नेपाल आउँदै हुनुहुन्छ, यसमा पनि हाम्रो उल्लेखनीय सहयोग रहेको छ ।

तपाईहरुकाे अरुण बनस्पति, हुलास मेटल र ट्रेडिङको व्यापार कस्तो चलिरहेको छ ?
सबै राम्रै चलिरहेका छैनन् । स्टीलको  राम्रो छ, ट्रेडिङको व्यापार पनि राम्रो चलिरहेको छ । बाँकीको अवस्था सामान्य छ । व्यपार एकनासको हुँदैन, कहिले राम्रो हुन्छ, कहिले नराम्रो । यो विभिन्न चक्रमा घुमिरहन्छ, आज राम्रो भएको भोलि नराम्रो हुन सक्छ । सबै एक नासले व्यापार भयो भने त सबैले त्यही खोलि हाल्थे नि ।

गोल्छा समूहका उद्योग व्यापारहरुको सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना छैन ?
तत्काल नयाँ परियोजना केही नभएकाले सेयर विक्रिको त्यस्तो कुनै योजना छैन ।