BIZMANDU
www.bizmandu.com

नाडा अटो शो सुरु, छ दिनसम्म चल्ने, सय स्टल, मन्त्रीले मागे यातायात नीति

२०७१ भदौ १८

नाडा अटो शो सुरु, छ  दिनसम्म चल्ने, सय स्टल, मन्त्रीले मागे यातायात नीति
नाडा अटो शो सुरु, छ दिनसम्म चल्ने, सय स्टल, मन्त्रीले मागे यातायात नीति

Tata
GBIME
Nepal Life

कञ्चन अधिकारी/बिजमाण्डू
तस्वीरहरू: अंगद ढकाल/बिजमाण्डू
काठमाडौं । सवारीसम्बन्धी सम्पूर्ण जानकारी गराउन विगत नौ वर्षदेखि आयोजना हुँदै आएको ‘नाडा अटो सो’को नवौ संस्करण सुरु भएको छ। नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गर्ने यो मेला अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गरे।

राजधानीको भृकुटीमण्डपमा ६ दिन चल्ने सो मेलामा साना र ठूला सवारी, बैंक/वित्त फाइन्नान्ससमेतका गरी झन्डै एक सय स्टल छन् । सवारीसाधनको चासो राख्नेहरुको लागि लक्षित गर्दै मेला आयोजना गरिएको नाडाका अध्यक्ष शेखर गोल्छाले बताए ।

यो वर्षको मेलामा नेपालमा सवारीसाधन बिक्री गर्ने सबैजसो कम्पनीको सहभागिता छ । आयोजकका अनुसार मेलामा ६३ वटा प्रदर्शकले भाग लिँदैछन् । जसमा चारपाङ्ग्रे साधनका १२ वटा र दुईपाङ्ग्रे सवारी साधनको १३ वटा स्टलहरु छन् ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्रविधि, स्पेयर पाटर्स, लुब्रिकेन्ट्स, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा नेपालमै उत्पादित सामग्री राखिएको छ।

नाडाले पहिलोपटक सन् १९९८ नोभेम्बर ५ देखि ८ सम्म भृकुटीमण्डपमै अटो सो आयोजना गरेको थियो । पहिलो संस्करणमा २६ प्रदर्शकको सहभागिता थियो । अहिले बजार विस्तारसँगै प्रदर्शकसमेत झन्डै ३ गुणाले बढेका छन् ।

दसैंको नजिक आयोजना गर्न लागिएको यस मेलामा व्यवसायीले सक्दो धेरै सवारी बिक्रीका लागि छुट र स्किमको बहार ल्याएका छन । मेलामा मोटरसाइकलदेखि गाडी तथा स्पेयर पाटर्ससम्म उपलब्ध छ ।

यसैगरी प्रदर्शनीमा अवलोकन गर्न आउनेले टिकटमा विभिन्न आकर्षक उपहारहरु जित्नेछन् । प्रत्येक दिन आइएमएसले प्रायोजन गरेको लक्की ड्रमा एक जनालाई सामसुङ ग्यालेक्सी एस डुअस टु प्रदान गरिने आयोजकले बताएको छ।

यसैगरी एआइटी प्रालिले प्रायोजन गरेको एउटा टिभिएस फोनिक्स १२५ सिसीको बाइक अन्तमा भाग्यशाली विजेताले पाउन सक्नेछन् । प्रदर्शनीस्थलमा फ्रि वाइफाइको व्यवस्था गरिएको छ।

मन्त्री महतद्वारा यातायात नीति बनाउन आग्रह
अर्थ मन्त्री महतले यातायात व्यवस्था विभागलाई चाँडै भन्दा चाँडै यातायात नीति ल्याउन आग्रह गरेका छन् । नेपालमा दिनप्रतिदिन सार्वजनिक यातायातको अवस्था विग्रँदै गएको बताउँदै मन्त्री महतले सार्वजनिक यातायातको गुणस्तर बढाउन नीति आवश्यक रहेको बताए ।

राजधानीमा बुधबार नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गरेको मेलाको उद्घाटन गर्दै मन्त्री महतले भने, 'राजधानीको सार्जनिक सवारीसाधन चढीसाध्यै छैन । यसलाई सुरधार गर्नै पर्छ । यसको लागि यातायात व्यवस्था विभागले चाँडै नीति बनाएर कार्यन्वयन गर्नुपर्छ । यसको लागि सहयोग गर्न सरकार सधैँ तयार छ।'

उनले राजधानीको ट्याक्सीहरुको अवस्था पनि नाजुक रहेको बताउँदै राजधानीका ट्याक्सीमा बस्न डर लाग्ने आफ्नो अनुभव सुनाए । उनले भने, 'काठमाडौंका ट्याक्सीहरु यस्ता छन् जहाँ डुङ्डुङ्ती गनाउँछन् र चढ्नै मन लाग्दैन । चढेपछि सुरक्षित पनि छैन ।' उसको लागि सरकारले नीति बनाएर नीति नमान्ने सवारी साधनहरुलाई कडा भन्दा कडा कारबाही गर्नै पर्ने बताए ।

उनले सार्वजनिक सवारीधानको गुणस्तर बढाए मात्रै नेपालमा साना सवारी साधनको चाप गर्न सकिने बताए ।
यसैगरी मन्त्री महतले यातायात व्यवसायीले सवारी कर कम गर्न गरेको आग्रहलाई अस्वीकार गरे।  उनले सवारीसाधन राजश्व दिने मूल स्रोत भएकोले राजश्व नबढाइने स्पष्ट पारे । 

अधिकांश कम्पनी नयाँ गाडी प्रस्तुत गर्दै
सविन मिश्र/विजमाण्डू
काठमाडौं। बुधबारदेखि सुरु हुने नाडा अटो शो २०१४ का लागि अधिकांश सवारी साधन बिक्रेता कम्पनीले नयाँ गाडी ल्याउने भएका छन्। एकै ठाउँमा ग्राहकको ठुलो जमघट हुने भएकाले धेरै गाडी बिक्रेताले नयाँ सवारी साधन प्रदर्शनीका लागि ल्याउने तयारी गरेका हुन्। 


 

धेरै व्यवसायीहरु अटो शोमा आफ्ना नयाँ गाडी देखाउन प्रतिस्पर्धामा छन्। विश्व प्रसिद्ध विभिन्न गाडी कम्पनीका आधिकारिक विक्रेताहरुले शोका लागि गाडी भित्र्याइसकेका छन्। गाडी विक्रेताहरुले नेपाली बजारमा नदेखिएका गाडीहरु उपभोक्तालाई 'सर्प्राइज' दिने गरी ल्याउने दावी पनि गरेका छन्। 
 
बुधबार सुरु हुने अटो शोमा एकसय वटा स्टल रहने आयोजक नेपाल अटोमोवाइल डिलर्स एसोसियसन नाडाले जनाएको छ। 
 
पाँच दिनसम्म चल्ने अटो शोमा १२ वटा ब्रान्डका चार पांग्रे सवारी साधन र ११ वटा ब्रान्डका दुई पांग्रे सवारी साधन रहने छन। शोमा दाइहात्सु, फियाट, फोर्ड, होण्डा, हुण्डाई, किया, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागेनलगायतका ब्रान्डका नयाँ तथा आधुनिक सवारी साधन प्रदर्शनीका लागि राखिने जनाइएको छ। 
 
हुन्डाईको एक्सेन्ट
यो वर्षको नाडा अटो शोमा हुण्डाईले एक्सेन्ट गाडी प्रदर्शनमा राख्ने भएको छ। कम्पनीले हालै मात्र नेपाल भित्र्याएको यो गाडी नै यसपाली अटो शोमा राखिने लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक प्रबन्ध निर्देशक रुपेश भट्टले जानकारी दिए। उनका अनुसार हुण्डाईले यसपटक ग्राण्ड गाडी पनि अटो शोमा प्रदर्शनीका लागि राख्दैछ। 

 
नेपाली बजारमा यो एक्सेन्ट गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँदेखि ३१ लाख ९६ हजार रुपैयाँसम्म पर्ने भट्टले बताए। साँचो बिना पनि अटोमेटिक स्टार्ट गर्न सकिने भएकाले यो गाडी नयाँ भएको उनको भनाइ छ। नेपालमा यो गाडी विभिन्न ६ रङ तथा तीन भेरियन्टमा उपलब्ध हुने उनले जानकारी दिए।
 
टाटाको युटिलिटी मोभ्स
टाटा अघिल्ला अटो शोमा जस्तै सिप्रदी ट्रेडिङले प्रालिले अटो शो लक्षित गरि टाटाको युटिलिटी भेइकल टाटा मोभ्सको बिक्री सुुरु गरेको छ। सेतो र सिल्भर कलर तथा दुई भिन्न मोडलमा उपलब्ध टाटा मोभसको बजार मूल्य ३१ लाख ८५ हजारदेखि सुरु हुन्छ। नगर क्षेत्रका साथै लामो दूरीमा सञ्चालनका उपयुक्त भएको यो गाडी प्रति लिटर १५.६ कलोमिटर माइलेज दिने कम्पनीको दावी छ। 

यस्तै टाटाले उपभोक्तालाई सर्प्राइज दिने गरी नयाँ गाडी पनि भित्र्याएको छ। कम्पनीले यो गाडीको नाम अटो शो मै सार्वजनिक गर्ने जनाएको छ। 'टाटा भन्ने वित्तिकै ठुला गाडी भन्ने परेको छ,' कम्पनीका एक अधिकारीले भने, 'हामीले कस्टुमरलाई त्यो भ्रमबाट बाहिर ल्याउन पनि सर्प्राइज दिने योजना बनाएका छौं।'
 
स्कोडाको र्‍यापिड रिलोडेड
अटो शोलाई लक्षित गरेर स्कोडाले भने र्‍यापिड रिलोडेड गाडीलाई नै मुख्य प्रदर्शनीमा राख्ने भएको छ। विभिन्न पाँचवटा रंगमा उपलब्ध हुने यो गाडी डिजेल तथा इन्जिन दुवै इन्जिनको उपलब्ध हुने कम्पनीले जनाएको छ। यो गाडीको पेट्रोल इन्जिन मूल्य ३३ लाख २५ हजारदेखि ३८ लाख ९५ हजारसम्म पर्ने कम्पनीले जनाएको छ।

यस्तै डिजेल इन्जिनतर्फ भने ३७ लाख ५५ हजारदेखि ४२ लाख ९५ हजार रुपैयाँसम्म पर्ने कम्पनीको भनाइ छ। यो गाडीले नेपाली बजारमा इन्ट्री लेभलका सेडान गाडीसँग मुख्य प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ। 
 

टोयोटाको इटिओस क्रस
नेेपालका लागि टोयोटा गाडीका आधिकारीक बितरक युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालिले नाडा अटो शोमा नयाँ इटिओस क्रस गाडी प्रदर्शनमा राख्ने भएको छ। ४५ लिटर इन्धर ट्यांक रहेको यो गाडीमा पाँच जना यात्रु अट्ने युनाइटेड ट्रेडर्सले जनाएको छ।

टोयोटा इटिओस क्रस स्टायल, आराम, सुविधा, क्षमता र सुरक्षाको पूर्ण प्याकेज भएको कम्पनीले दावी गरेको छ। नयाँ गाडीमा थ्री स्पोक स्ट्रिङ ह्विल, पावर विन्डोज, रिमोट फ्यूल लिड लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो गाडीको मूल्य ४१ लाख ४५ हजार रुपैयाँ रहेको छ। 

 

छुटको बहार
नाडा अटो शो तथा नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै गाडी कम्पनीहरुले ग्राहकका लागि छुटका योजनाहरु पनि ल्याउन थालेका छन्। नेपालमा रहेको हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहार योजनाका लागि विभिन्न छुट योजना अघि सारेको छ।

यो योजनामा कम्पनीका गाडी खरिद गर्ने ग्राहकले नगद पाँच लाख रुपैयाँसम्म छुट पाउने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। यस्तै १० जोडीले थाइल्याण्ड तथा मलेशिया टुरका लागि होलिडे प्याकेज पनि पाउने कम्पनीले जनाएको छ।
 

स्कोडाले पनि यो वर्ष ग्राहकका लागि विशेष अफर ल्याउने तयारी गरेको छ। 'हामीले यो वर्षका लागि पनि विशेष छुटको होमवर्क गरिरहेका छौं,' कम्पनीका एक अधिकारीले भने, 'ग्राहकको आवश्यकता र चाडपर्वलाई लक्षित गरेर कस्तो छुट दिने भन्ने निर्धारण हुन्छ।'
 
यस्तै नजिकिँदो चाडपर्वलाई लक्षित गरेर अधिकांश सवारी साधन विक्रेताले छुटको योजना ल्याएका छन्। दुई पांग्रे तथा चार पांग्रे सवारी साधनमा छुटको योजना अघि सारेका हुन्।