BIZMANDU
www.bizmandu.com

टेलिकमको नाफा बढ्न सकेन, गत वर्षपनि ११ अर्ब खुद नाफा, सेवाबाट मात्रै ३९ अर्ब रुपैयाँ अाम्दानी

२०७१ साउन ३०

काठमाडौं। नेपाल टेलिकमले नाफा बढाउन सकेन। गत आर्थिक वर्षमा कम्पनीले ११ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०६९/७० कै हाराहारीमा हो। अघिल्लो आर्थिक वर्षमा टेलिकमको खुद नाफा ११ अर्ब २९ करोड रुपैयाँ थियो।

Tata
GBIME
Nepal Life

बजार प्रतिस्पर्धाका कारण नाफा बढाउन नसकेको जानकारी पनि टेलिकमले दिएको छ। आम्दानीमा बृद्धि गर्न नसकेपछि नाफा स्थिर भएको हो। महशुल दर नबढ्दा आम्दानी सेवा विस्तारसँग सम्बन्धित हुन्छ।

आर्थिक वर्ष २०७०/७१ मा टेलिकमले कुल आम्दानी ३९ अर्ब २६ करोड रुपैयाँ गरेको छ। यो आम्दानी अघिल्लो वर्षको तुलनामा ४१ करोड रुपैयाँ मात्रै बढी हो। सेवाबाट हुने आम्दानी ३५ अर्ब ५८ करोड रुपैयाँ छ अर्थात नेपाल टेलिकमको सेवा प्रयोग गरेवापत आम उपभोक्ताले ३५ अर्ब ५८ करोड रुपैयाँ तिरेका छन्। यो आम्दानी अघिल्लो वर्षको तुलनामा एक अर्ब ४४ करोड रुपैयाँ बढाएको हो। अन्य आम्दानी भने केही घटेको छ। यसमा बैंकमा राखेको निक्षेपबाट प्राप्त हुने व्याज पनि पर्छ।

टेलिकमको खर्च केही घटेको छ। लाइसेन्स फि र फ्रिक्वेन्सी फि घटेको कारण कुल खर्च कम भएको देखिएको हो। कुल खर्च चार करोड रुपैयाँ मात्रै घटेको हो। टेलिकमको सबैभन्दा ठूलो खर्च सञ्चालन तथा मर्मतमा छ। यस्तो खर्च छ अर्ब ८३ करोड रुपैयाँ छ। परसनल कस्ट चार अर्ब ९२ करोड, डिप्रिसिएसन तीन अर्ब ७८ करोड, लाइसेन्स फि तीन खर्ब ३५ करोड रुपैयाँ छ।

टेलिकमको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७५ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ भने तीन सय ८३ रुपैयाँ छ। अघिल्लो वर्ष तीन सय ५७ रुपैयाँ थियो।

टेलिकमले गत वर्ष लगानीकर्तालाई ४६ रुपैयाँ नगद लाभांस दिएको थियो। यो खुद नाफाले पनि लगानीकर्तालाई यही अनुपातमा लाभांस दिन पुग्छ।