काठमाडौं। अरुणभ्याली हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । सोमवार बसेको कम्पनीको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । कम्पनीको लाभांश साधारण सभाले पारित गर्न बाँकी छ । हालै एक बराबर एक अनुपातमा हकप्रद सेयर दिएर चुक्तापूँजी ७० करोड पुर्याएको कम्पनीको बोनस सेयर पारित भएमा थप बढ्ने छ ।
बोनस सेयर दिएपछि कम्पनीको चुक्तापूँजी ७७ करोड १० लाख ८४ हजार रुपैयाँको हुने छ । कम्पनीले हकप्रद जारी गर्दा प्रकासित आवहान पत्रमा गत आव २०७०/७१ को नाफा सात करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो । कम्पनीको त्यो अवधिको वित्तीय विवरण भने प्रकाशित भएको छैन । कम्पनीले अर्काे बर्ष समेत १० प्रतिशतमा बोनस सेयर दिने सम्भावना आवहान पत्रमा प्रक्षेपण गरेको थियो । कम्पनीले आव २०७२/७३ मा चुक्तापूँजी करिब १० प्रतिशतले बढेर ८४ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । गत आवको तेस्रो त्रैमाशमा भने कम्पनीको नाफा तीन करोड ४८ लाख रहेको थियो ।