एजेन्सी । चीनले सन् २०२० सम्ममा नेपाल सम्म रेल्वेलाइन विस्तार गर्ने लक्ष सार्वजनिक गरेको छ । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले १३ औं पञ्चवर्षिय योजना (सन् २०१६–२०२०) मा दक्षिणी छिमेकीसम्म रेल्वेलाइन विस्तार गर्ने लक्ष सार्वजनिक गरिएको जनाएको हो । १३ औं योजनामा अरु दुई छिमेकी भारत र भुटानसम्मका सीमा जोड्नलाई समेत रेल्वेलाईन विस्तार सुरु गरिने जनाइएको छ ।
क्युन्गाइ–तिब्बत रेल्वेलाई विस्तार गर्दै नेपालको सीमातर्फ ल्याइने भएको हो । तीन हजार छ सय देखि चार हजार मिटरको उचाइमा रहेको यो रेल्वे लाइनमा १३ स्टेशन छन् । ‘स्काइ रेल’ नाम दिइएको रेल्वेको गति प्रतिघण्टा एक सय २० किलोमिटरको छ ।
सन् २००६ मा तिब्बतको राजधानी ल्हासासम्म आएको रेल चीनले क्रमशः दक्षिण तिर विस्तार गर्न थालेको हो । ल्हासाबाट दुई सय ५४ किलोमिटर पुर्व दक्षिणमा अवस्थित सिगात्सेमा आउँदो अगष्टमा रेल्वे चलाउन थाल्ने जनाइएको छ । ल्हासा–सिगात्से लाइन सन् २०१० मा निर्माण सुरु भएको थियो ।
आउँदो मंगलबार १४ औं ट्रयाक टेष्ट पुरा गरि अगष्टमा औपचारिक रेल्वे सेवा सुरु गर्न लागिएको हो । नेपालबाट सिगात्से कोशी नदीको उत्तरमा पर्छ । चीनले आफ्नो योजनामा समेटिसके पछि नेपालका तर्फबाट कुटनीतिक पहल भए रेल्वे विस्तार अझ तिब्र हुन सक्नेछ ।
१२ औं पञ्चवर्षिय योजनाको यो सर्बाधिक ठुलो मध्येको परियोजना हो । यसको लागत एक खर्ब ७० अर्ब रुपैयाँ (एक अर्ब ७० करोड अमेरिकी डलर एबं १० अर्ब ८० करोड चिनिया युआन) रहेको तिब्बत स्थित रेल्वे कार्यालयका उप निर्देशक याङ युलिनले ग्लोबल टाइम्सलाई बताएका छन् । हिमाली भेगका कडा चट्टान फोरेर यो रेल्वे लाइन विस्तार गरिएको छ ।
सिगात्से जोडिए लगत्तै ल्हासाबाट पुर्व न्यीङ्ची तर्फ रेल्वे विस्तार सुरु गर्ने जनाइएको छ । ल्हासा स्थित टिबेटियन एकेडेमी अफ सोसियल साइन्सका प्राध्यापक वाङ चुनहुङले यो रेल्वे विस्तारबाट दक्षिण एसिया आपसमा जोडिने तथा आर्थिक तथा सांस्कृतिक आदानप्रदानमा महत्वपुर्ण सहयोग पुग्ने बताएका छन् ।