BIZMANDU
www.bizmandu.com

सस्तो उडान भर्ने एअर एशिया काठमाडौंमा, सातमा दुई उडान, राउण्ड ट्रिपको २० हजार

२०६९ असार २०

सस्तो उडान भर्ने एअर एशिया काठमाडौंमा, सातमा दुई उडान, राउण्ड ट्रिपको २० हजार
सस्तो उडान भर्ने एअर एशिया काठमाडौंमा, सातमा दुई उडान, राउण्ड ट्रिपको २० हजार

काठमाडौं । मलेसियाको बजेट एअरलाइन्स एयर एशियाले मंगलवारदेखि काठमाडौं–क्वालालमपुरको उडान सुरु गरेको छ । एअरलाईन्सले अहिलेका लागि मंगलवार र विहिवार गरेर सातामा दुई दिने उडान भर्नेछ । ३७७ सिट क्षमता भएको एयर एशिया मंगलवार दुई बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । यो एअरलाइन्सलाई नागरिक उडड्यन प्राधिकरणले दिउँसो २ बजे ल्याण्ड गर्ने र तीन बजे फर्किने गरी स्लट तोकेको छ । एअरलाइन्सले क्वालालमपुर– काठमाडौंका लागि एकतर्फी साढे पाँच सय रिंगेट साढे चौध हजार रुपैयाँ हाराहारी तोकेको छ ।

बजेट एअरलाइन्स भए पनि कम्पनीले ३० किलो लगेज र सात किलो ह्याण्ड व्याग सुविधा दिएको कम्पनीको नेपालस्थित जिएसए इन्सेन्टिभ ट्राभल्स एण्ड टुर्सले जानकारी दिएको छ । पहिलो उडानबाट काठमाण्डौं आएका एअर एसियाका उच्च अधिकारी तथा यात्रुलाई पर्यटनसचिव गणेशराज जोशी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर, त्रिभुवन बिमानस्थलका महाप्रवन्धक रतिशचन्द्र लाल सुमन र एअर एसियाको नेपालस्थित जीएसए इन्सेन्टिभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले स्वागत गरेका थिए ।
स्वागतपछि त्रिभुवन बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एअर एसियाका फ्लाइट अपरेसन डाइरेक्टर क्यापटेन अजहुद्धिनले एअर एसियाले नेपालका लागि नियमति उडान थालेको घोषणा गरे । एअर एसियाले हाल एक सय ४० गन्तब्यमा उडान गरिरहेको जानकारी दिंदै उनले छिटै सातामा ४ उडान थाल्ने जानकारी दिए । एअर एसियाको नेपालस्थित आधिकारिक प्रतिनिधि इन्सेन्टिभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले एअर एसियाको उडानले मलेसिया–नेपाल आवत जावत गर्ने नेपाली श्रमिक तथा नेपाल आउन चाहने बिदेशी पर्यटकलाई सहज हुने बताउनुभयो । तत्कालका लागि एकतर्फी टिकटको ११ हजार र राउण्ड ट्रिप २० हजार रुपैयाँमा उपलब्ध हुने लामाले बताए ।
सामान्यतयाः बजेट एअरलाइन्समा खाना सुबिधा नहुने भएपनि एअर एसियाको काठमाण्डौं– क्वालालम्पुरको चार घण्टे उडानमा यात्रुहरुलाई खाना सुबिधा उपलब्ध हुने छ । सस्तो भाडा दर भएकाले नेपाली श्रमिकहरु एअर एसियाबाट प्रत्यक्ष लाभाविन्त हुने छन भने नेपाल आउन चाहने मलेसिया, सिंगापुर लगायतका बौद्धमार्गी पर्यटकका लागि बुद्ध जन्मस्थल लुम्बिनी आउन सहज हुने छ । यसअघि क्वालालम्पुरबाट काठमाण्डौं आउने पर्याप्त सिधा उडान नहुँदा पर्यटक तथा नेपाली श्रमिकहरु बंगलादेश र थाइल्याण्ड हुँदै नेपाल आउनुपर्ने बाध्यता थियो ।
मलेसिया हुँदै अष्ट्रेलिया, जापान र कोरिया जान चाहानेका लागि समेत एअर एसियाबाट सहज हुने छ । केही समयभित्रै क्वालालम्पुरबाहेक अन्य शहरका लागि समेत टिकट बिक्रि सुरु हुने इन्सेन्टिभ टुर्सले जनाएको छ । एअर एसियाले लागतार तीन बर्ष बिश्वकै उत्कृष्ट बजेट एअरलाइन्सको उपाधि पाएको पाइसकेको छ । लामो दुरीमा चल्ने बिश्वकै पहिलो बजेट एअरलाइन्स एअर एसियाले ‘एअर एसिया एक्स’ ब्रान्डबाट नेपालसहित लामो दुरीमा उडान भर्ने गरेको छ ।

Tata
GBIME
Zonsen