BIZMANDU
www.bizmandu.com

नेपाल बंगलादेश बैंकको साधारण सभाबाट नयाँ नाम पारित, एनआइएफआइसी बैंक राखिने, लाभांश पनि पारित

२०७१ साउन ४

काठमाडौं। नया नाम ‘एनआइएफआइसी बैंक’ राख्ने  र लोगो पनि परिवर्तन गर्ने नेपाल बंगलादेश बैंकको प्रस्ताव १९ औं बार्षिक साधारण सभाले पारित गरेको छ । तर बैंकको नयाँ नाम र लोगो राष्ट्र बैंकबाट पारित हुन भने बाँकी छ ।
बंगलादेशी साझेदार आइएफआइसी बैंकले एनबी समूहको स्वामित्वमा रहेको बहुमत सेयर खरिद गरेपछि बैंकको नाम र लोगो समेत परिवर्तन गर्ने निर्णय भएको थियो । एनबी समूहको स्वामित्वको सेयर खरीद गरेर बैंकमा ३८ प्रतिशत सेयर स्वामित्व पुर्‍याएकाे अाइएफआइसी बैंकले थप सेयर खरीद गरेर ४८ प्रतिशत पुर्‍याउँदै छ ।

Tata
GBIME
Nepal Life

नेपाल बंगलादेश बैंकको साधारण सभाले चुक्तापूँजी वृद्धिको लागि आइएफआइसी बैंकको सेयर स्वामित्व  ४८ प्रतिशत पुर्याउने गरी थप ४० लाख ७० हजार संस्थापक सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ । यो सेयर आईएफआईसि बैंकले एक सय ६० रुपैयाँ प्रिमियम सहित दुई सय ६० मा खरिद गर्न लागेको हो ।

यसबाट बैंकको पुँजी वृद्धि हुनेछ भने प्रिमियममा आएको रकमले बैंकको रिजर्भ पनि बलियो हुनेछ । प्रतिकित्तिा २६० मा सेयर विक्री गर्दा बैंकलाई ८० करोड भन्दा बढी रकम रिजर्भमा बढ्नेछ ।  बैंकको साधारण सभाले १० प्रतिशत बोनस सेयर र ७.८९ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, बैंकले आफ्ना ग्राहकहरुलाई बीमा अभिकर्ताको सेवा दिने, उपयुक्त संस्था पाएमा मर्जरमा जाने प्रस्ताव पनि स्वीकृत गरेको छ । यो समाचार तयार पार्दासम्म बैंकको सात जना सञ्चालकहरुको निर्वाचनको प्रक्रिया चलिरहेको बैंकले जानकारी दिएको छ । बैंकको संस्थापक समूहबाट चार जना र सर्वसाधारण तर्फका तीन जना सञ्चालक छान्न निर्वाचन भइरहेको हो ।