BIZMANDU
www.bizmandu.com

भारतबाट अन्न तस्करी, नेपाली किसान मारमा, सरकारको राजस्व पनि गुम्यो

२०६९ असार २०

नयाँदिल्ली । सन् २०१२ को पहिलो तीन महिनामा भारतबाट नेपालतर्फ हुन लागेको करिव २० मेट्रिक टन खाद्यान्न भारतीय सिमा सुरक्षा बल (बिएसएफ) र सशस्त्र सिमा बल (एसएसबि) ले नियन्त्रणमा लिएको छ । भारतीय गृह मन्त्रालयको यो तथ्यांकले वर्षेनी सयौं मेट्रिक टन खाद्यान्न भारतबाट नेपालतर्फ भित्रीरहेको पुष्टि गर्छ ।
भारतीय गृह मन्त्रालयका अनुसार खाद्यान्न तस्करी नेपालतर्फ मात्र नभई बंगलादेश पनि हुने गरेको छ । तीन महिने अवधिमा नै बंगलादेश तस्करी हुन लागेको ६ मेट्रिक टन खाद्यान्न कब्जा गरिएको छ । भारतीय अनुसन्धान संस्था जि रिसर्च गु्रपका अनुसार भारतीय राज्यहरु विहार, उत्तर प्रदेश र उत्तराखण्ड तस्करीका मुख्य नाका हुन ।
सन् २००९ देखि २०१२ को मार्चसम्म विहारबाट मात्रै ९९७.५ मेट्रिक टन खाद्यान्न तस्करी भएको छ । यसैगरी उत्तर प्रदेशबाट ५४६, उत्तराखण्ड बाट ६ र पश्चिम बंगालबाट ४ गरी एक हजार ७७० मेट्रिक टन खाद्यान्न भारतबाट नेपाल र वंगलादेश तस्करी भएको छ ।
प्रतिवेदनले ठुलो मात्रामा खाद्यान्न तस्करीमा भारतीय तथा नेपाली एवं बंगलादेशी अधिकारीको समेत हात हुनसक्ने आशंका गरेको छ । संगठित अपराधको रुपमा फैलँदै गएको खाद्यान्त तस्करीका कारण भारतमा करोडौं जनसंख्या भोकमरि पिडित भइरहेको भन्दै सरकारले तस्कारी रोक्न विशेष रणनीति तर्जुमा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
तस्करी मार्फत भित्रने खाद्यान्नका कारण भारत मात्र नभई नेपाल पनि पिडित भएको अध्ययनको ठहर छ । भारतबाट हुने तस्करीका कारण नेपाली खाद्यान्नले उचित मूल्य नपाउने भएकाले कृषि पेशाको आर्कषण घट्दै गइरहेको छ । तस्करी मार्फत भित्रने अन्नका कारण सरकारले राजस्व पनि गुमाइरहेको छ । यस बाहेक अधिक विषादि प्रयोग गरिएका खाद्यान्नका कारण आम जनताको स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ ।

Tata
GBIME
Nepal Life