काठमाडौं । शुभलक्ष्मी फाइनान्स, नेपाल कन्जुमर विकास बैंकलाई मर्ज गरेपछि सोमवारबाट रिलायलव विकास बैंकको सेयर कारोवार खुलेको छ । पहिलो रिलायवल वित्तीय संस्थाका रुपमा नेप्सेमा कारोवार भएको रिलायवल विकास बैंकले स्टकमा ‘आरईडिबिएल’ कोड पाएको छ ।
उता एनडेप विकास बैंकले मर्जका लागि नयाँ पाटर्नर राइजिङ्ग डेभलपमेन्ट बैंक खोजेको छ । दुई विकास बैंकवीच मर्ज समझदारी भएपछि एनडेपको सोमवारबाट नेप्सेमा कारोवार रोकिएको छ ।
५८ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको एनडेपले नारायणगढमा केन्द्रिय कार्यालय भएको २१ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी भएको राइजिङ्ग डेभलपमेन्ट बैंक रोजेको हो । एनडेपसँग चार अर्ब ७४ करोड निक्षेप छ भने राइजिङ्गसँग एक अर्ब २८ करोड रुपैयाँ निक्षेप छ ।
त्यसैगरी एनडेपसँग तीन अर्ब छ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ भने राइजिङ्गले एक अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैतको तेस्रो त्रैमासमा एनडेप १७ करोड ७७ लाख रुपैयाँ घाटामा थियो भने एक करोड २६ लाख रुपैयाँ मुनाफामा छ ।
उता आइतवार मर्जका लागि समझदारी गरेका ओम फाइनान्स र कामना विकास बैंकको कारोवार रोकिएको छ ।