BIZMANDU
www.bizmandu.com

प्रमाेसनका लागि सस्ताे भाडामा उडाउँदै निगमको एमए ६० विमान, बुधबार देखि व्यवसायिक उडान

२०७१ असार ८

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमए ६० जहाजको व्यवसायिक उडान आगामी बुधबारबाट हुने भएको छ । यो विमानको पहिलो उडान काठमाडौंबाट विराटनगर हुनेछ ।
चीनबाट ल्याएको ५७ दिनपछि मात्र निगम व्यवस्थापनले व्यवसायिक उडान गर्न सकेको हो। जहाज उडानउनको लागि सबै प्रक्रिया पूरा गरेर नियमति उडानको तालिका सार्वजनिक गरेको निगमका कर्पोरेट निर्देशक तथा प्रवक्ता रामहरि शर्माले बताए। 'हामीले जहाज उडानको लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर उडान निश्चित गरेरै शनिबारबाट टिकट बिक्री नै खुला गरिसकेका छौं,' शर्माले भने ।
निगमले गरेको तयारी अनुसार बुधबार बिहान ८ बजे यो जहाजले विराटनगरको लागि औपचारिक रुपमा व्यवासायिक उडानको सुरुवात गर्ने भएको छ। त्यहाँबाट फर्केर आएपछि १०:२० बजे भद्रपुर उडान गर्ने तालिका बनाइएको छ। यात्रुबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेका बताउँदै शर्माले भैरहवा, भद्रपुर र धनगढीमा उडान गर्ने जानकारी दिए।
जहाजले गत बिहीबार सफल परीक्षण उडान गरेको थियो भने शुक्रबार प्रमाणित उडान गरेको थियो। चीनबाट आएका दुई नयाँ इन्जिनियरले 'टेक्निकल लगबुक' मा हस्ताक्षर गरेपछि जहाज उडेको थियो।
प्रवक्ता शर्माको अनुसार निगमले प्रमोसनका लागि केही अवधिसम्म यात्रुलाई सस्तो भाडा दरमा उडान भर्नेछ । चिनियाँ जहाज निर्माता कम्पनी जियान एयरक्राफ्ट इन्डिस्ट्रियल कर्पोरेसनबाट उत्पादित ५६ सिट क्षमताको 'मोडर्न आर्क' (एमए–६०) मोडेलेको जहाज निगमले गत वैशाख १४ मा काठमाडौं अवतरण गरेको थियो। ।
प्रवक्ता शर्माका अनुसार एमए–६० बाट हालका लागि सातामा १५ उडान गर्ने तालिका बनाइएको छ। थप जहाज नआउन्जेल काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान गरिनेछन्। विराटनगरका लागि दैनिक एक उडान राखिएको छ।
निगमको तालिका अनुसार विराटनगरका लागि दैनिक एक, भद्रपुरका लागि प्रत्येक सोम, बुध र शनिबार, भैरहवाका लागि मंगल र बिहीबार तथा धनगढीका लागि मंगल र शुक्रबार एमए ६० ले उडान गर्नेछ। जहाजलाई चीनबाट आएका एक क्याप्टेन र को–पाइलटले उडाउने छन्।
यी गन्तव्यका लागि निगमले करसहित काठमाडौंबाट भद्रपुरका लागि प्रतियात्रु चार हजार एकसय ३०, भैरहवा तीन हजार एकसय ४५, विराटनगर तीन हजार पाँच सय पाँच र धनगढीका लागि पाँच हजार सातसय ४० रुपैयाँ तोकिएको छ।
निगमले चीनसँग एमए–६० मोडेलका दुई र १८ सिटयुक्त वाइ१२–इ मोडेलका चार जहाज ल्याउने सम्झौता गरेको थियो । तीमध्ये एउटा एमए–६० र एउटा वाइ१२–इ अनुदान तथा एउटा एमए–६० र तीनवटा वाइ१२–इ सहुलियत ऋणमा चीनले दिनेछ।
निगमका अनुसार अनुदानमा पाइने एउटा वाइ–१२इ असार १६ मा यहाँ आइपुग्छ। त्यसैगरी सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाइ–१२इ कात्तिक १३ मा आइपुग्ने छन्।

Tata
GBIME
Nepal Life