BIZMANDU
www.bizmandu.com

बजेटको प्राथमिकतामा पुर्वाधार, अर्थमन्त्रीले भने– अब युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्छाै

२०७१ असार ६

बजेटको प्राथमिकतामा पुर्वाधार, अर्थमन्त्रीले भने– अब युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्छाै
बजेटको प्राथमिकतामा पुर्वाधार, अर्थमन्त्रीले भने– अब युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्छाै

काठमाडौं। अर्थमन्त्री डा. रामशरण महतले आगामी बजेटले पूर्वाधारका क्षेत्रमा व्यापक मात्रामा लगानी विस्तार गर्ने जानकारी दिएका छन्। उनले पूर्वाधारका क्षेत्रमा लगानी जुटाएर उच्च आर्थिक बृद्धि हासिल गर्ने सरकारको लक्ष रहेको जानकारी दिए। यस्तो लगानीले स्वदेशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने पनि उनले बताएका छन्।

नेपाली कांग्रेस सिराहाका नेता तथा जिल्ला विकास समिति सिराहाका पूर्वसभापति चन्द्रनारायण यादवको १४ औं स्मृतिसभालाई सम्बोधन गर्दै उनले रोजगारीका लागि युवाहरु ५० डिग्रीको तातोमा गएर काम गर्न तयार रहेको तर नेपालमा बसेर काम गर्न तयार नभएको पनि बताए। 'आगामी बजेटमार्फत युवाहरुलाई सस्तो व्याजदरमा कर्जा उपलब्ध गराई कृषि क्षेत्रमा उनीहरुको जाँगरलाई सदुपयोग गरिनेछ' उनले भने।
कृषि क्षेत्रमा रोजगारी सिर्जनाका प्रशस्त अवसरहरु रहेको उल्लेख गर्दै उनले आगामी बजेटमा उत्पादन बृद्धि र बजारीकरणका लागि समेत आवश्यक व्यवस्था गरिने जानकारी दिए। 'युवाहरुलाई स्वदेशभित्रै परिवारको रेखदेख गर्दै काम गर्ने अवसर मिलाइनेछ,' अर्थमन्त्री महतले भने, 'आगामी बजेटमा कृषिका अतिरिक्त उर्जा, पर्यटन तथा अन्य ग्रामीण पूर्वाधारका क्षेत्रमा प्राथमिकताका साथ कार्यक्रम बनाई बजेट बिनियोजन गरिने छ।'
सो अवसरमा कांग्रेसको सरकारले बिगतमा अवलम्वन गरेको उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आकार बढेको, राजस्व बढी असूली हुन थालेको र बढेको राजस्व ग्रामीण क्षेत्रको विकासमा खर्च गर्ने गरेको उनले बताए। स्वदेशभित्रै स्रोत जुटेपछि कुल विकास बजेटको ७० प्रतिशतभन्दा बढी रकम ग्रामीण क्षेत्रमा खर्च गर्न थालिएको उदाहरण पनि उनले दिए।
'अहिले हरेक जिल्ला सदरमुकामहरुमा सडक सञ्जाल बिस्तार भएको, स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी बढाइएका कारण बाल मुत्युदर घटेको, मातृ मृत्युदर घटेको र नेपालीको औषत आयु बीस बर्षअघिको तुलनामा १४ बर्षले बढेर ६९ बर्ष पुगेको छ,' उनले भने, 'बीस बर्षको अवधिमा करिब २० लाख मानिस गरिवीको रेखाबाट माथि उक्लिए।'
अझै ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको चर्चा गर्दै अर्थमन्त्री डा महतले ती नेपालीलाई गरिवीको कुचक्रबाट माथि उठाउनु अहिलेको चुनौती रहेको बताए। साधन र स्रोतले नेपाल कहिल्यै गरिव नभएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग गरेर उच्च आर्थिक वृद्धि हासिल गरिने र रोजगारी सिर्जना गरी गरिवी घटाइने जानकारी दिए।

Tata
GBIME
Nepal Life