BIZMANDU
www.bizmandu.com

सुधीर बस्नेतको सम्पती छानविन गर्न सरकारलाई अख्तियारको आग्रह, मुख्य सचिव मार्फत पत्र

२०७१ असार ६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरजग्गा तथा हाउजिङ व्यवसायी सुधीर बस्नेतको सम्पतीबारे छानविन गर्न आग्रह गरेको छ । अधिकार सम्पन्न आयोग गठन गर्न आग्रह गर्दै सरकारलाई मुख्य सचिव मार्फत आयोगले पत्र पठाएको छ ।
कोहिनुर हिल हाउजिङ प्रालिका सञ्चालक सुधीर बस्नेतले ललितपुर इमाडोलस्थित भेगासिटी परियोजनका लागि विभिन्न बैंक, वित्तीय संस्था र फ्ल्याट बुकिङकर्ताबाट लिइएको लगानी रकम जोखिममा परेको भन्दै अख्तियारले उनको सम्पूर्ण सम्पतीको व्यवस्थापन गर्ने गरी आयोग बनाउन सरकारलाई पत्र लेखेको हो ।
भेगासिटी परियोजनाका लागि बस्नेतले कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिए अपार्टमेन्टहरु बनाउन सुरु गरेका थिए भने फ्ल्याट बुकिङ गर्ने ठूलो संख्याका बुकिङकर्ताहरुको रकम असुलेका थिए । बस्नेत कालोसूचीमा परेपछि उनी अध्यक्ष रहेको ओरिएन्टल सहकारीका सदस्यहरुको बचत रकम समेत फिर्ता हुन सकेको छैन ।
आयोगले यस विषयमा ध्यानाकर्षण भएको जनाउँदै शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ, 'निजै अध्यक्ष रहेको ओरियन्टल सहकारी संस्थाका सदस्यहरुले बचत गरेको रकम समेत फिर्ता हुन सकेको अवस्था देखिएन ।
यस सम्बन्धमा आयोगबाट भएको अनुसन्धान एवं सम्वद्ध निकायसँग गरेको छलफल समेतबाट फ्ल्याट बुकिङ गर्ने सर्वसाधारण, सहकारीका वचतकर्ताहरु एवं बैंक तथा वित्तीय संस्थाहरुको रकम सुरक्षित गर्नका लागि निज सुधीर बस्नेतका सम्पूर्ण सम्पत्तिहरुको समुच्चा व्यवस्थापन गरि समस्या समाधान गर्न सक्ने अधिकार सम्पन्न आयोग अविलम्ब गठन गर्नु उपयुक्त देखिएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ अनुसार नेपाल सरकार (मन्त्रीपरिषद्)लाई मुख्य सचिव मार्फत लेखी पठाइएको छ ।'
 

Tata
GBIME
Nepal Life