BIZMANDU
www.bizmandu.com

निगमको पूर्वाञ्चल कार्यालयमा अख्तियार, गुणस्तर, तौल, चालक र ट्याङ्कर धनीको जानकारी लिइयो

२०७१ जेठ ३१

निगमको पूर्वाञ्चल कार्यालयमा अख्तियार, गुणस्तर, तौल, चालक र ट्याङ्कर धनीको जानकारी लिइयो
निगमको पूर्वाञ्चल कार्यालयमा अख्तियार, गुणस्तर, तौल, चालक र ट्याङ्कर धनीको जानकारी लिइयो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र त्यहाँको डिपोको अनुगमन गरेको छ । टोलीले शनिवार अनुगमन गरेको हो ।
पेट्रोलियम पदार्थको भारतबाट ढुवानी र बिक्री गर्ने क्रममा अनियमितता भइरहेको तथ्य सार्वजनिक भएपछि अख्तियारको टोली पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अवस्था बुझ्न शुक्रबार विराटनगर गएको थियो ।
आयोगका प्रहरी उपरीक्षक सुरेश बस्नेतको नेतृत्वमा नौ जनाको टोली विराटनगर पुगेको थियो । टोलीले भारतको बरौनीबाट लोड गरी आएका १७ ट्याङ्करलाई विराटनगर भन्सार नाकामा छड्के जाँच गरेको छ । जाँचको क्रममा टोलीले पेट्रोलियम पदार्थको गुणस्तर, तौल तथा चालक र ट्याङ्कर धनीका सम्बन्धमा जानकारी लिएको छ ।
अनुसन्धानको क्रममा केही ट्याङ्कर चालक भारतीय रहेका र उनीहरुको चालक अनुमतिपत्र जाँचका लागी स्थानीय प्रहरीलाई निर्देशनसमेत दिइएको छ । यस डिपोअन्तर्गत दुई सय ५० ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ आयात र बिक्री वितरण भइरहेको छ ।
त्यस्तै टोलीले आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय र डिपोमा पेट्रोलियम पदार्थको तापक्रम लस, पेट्रोलियम पदार्थको भण्डारण अवस्था, गुणस्तर, नापतौल मेसिनको अवस्था, बिक्री वितरण, आर्थिक कारोबारको अवस्था तथा आवश्यक कागजातसमेतको जानकारी लिएको निगमका पूर्वाञ्चल प्रमुख सीताराम पोखरेलले बताए ।
अख्तियारको छुट्टाछुट्टै टोलीले आयल निगमको अमलेखगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा अनुगमन गरिरहेको छ । शुक्रबार मात्रै वीरगन्ज र नेपालगन्जमा पनि २७ वटा ट्याङ्करलाई नियन्त्रणमा लिएर आयोगले अनुसान्धान गरेको थियो । वीरगन्जबाट २३ र नेपालगन्जबाट चार पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिइएको थियो ।

Tata
GBIME
Nepal Life