
मुम्बइ। देशकै सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इन्डिया (एसबिआइ) ले आफ्ना सहयोगी पाँच बैंकलाई आफूसँग विलय गर्ने तयारी गरेको छ। बैंककी सञ्चालक समिति अध्यक्ष अरुन्धति भट्टचार्यले एक आर्थिक दैनिकसँग कुराकानी गर्दै पाँच संस्थालाई विलय गर्न लागेको जानकारी दिएकी हुन्।
एसबिआइका पाँच सहयोगी बैंकभित्र स्टेट बैंक अफ बिकानेर, स्टेट बैंक अफ हैदराबाद, स्टेट बैंक अफ मन्सुर, स्टेट बैंक अफ पटियाला र स्टेट बैंक अफ त्रावणकोर पर्छ। एसबिआइले यि पाँचै वटा बैंकलाई विलय गर्न लागेको जनाएको हो।
यसअघि एसबिआइका सात सहयोग बैंक थिए। जसमध्ये दुई वटा स्टेट बैंक अफ सौराष्ट्र र स्टेट बैंक अफ इन्दौर विलय भइसकेका छन्। भारतीय समाचार एजेन्सीहरुका अनुसार, पाँच वटा बैंक विलय भएपछि एसबिआइको कुल सम्पति आधार २१.९० लाख करोड भारु पुग्ने छ। साथै पाँच हजार छ सय ५८ वटा शाखा थपिने छन्। विलयपछि बैंकको बजार हिस्सा बढेर १९ प्रतिशतबाट २४ प्रतिशत पुग्ने छ।
भट्टाचार्यले विलय गर्नुअघि एसबिआइको स्थिति थप बलियो बनाउनु पर्ने बताइन्।'यसपछि मात्र ठूलो कदम उठाउनु उपयुक्त हुन्छ,' उनले भनिन्। एक दशकअघि नै विलयमा जानु पर्छ भनेर निर्णय भएको समाचार एजेन्सीले जनाएको छ।