BIZMANDU
www.bizmandu.com

बेलायती दरवारप्रति करदाताको छड्के आँखा, हावामै उड्यो ८५ करोड रुपैयाँ

२०६९ असार १९

लण्डन । बेलायती करदाताहरुले त्यहाँको दरवारप्रति आँखा टेढो बनाएका छन् कारण उनीहरुले गएको बेलायती आर्थिक वर्षमा ६१ लाख पाउण्ड ८५ करोड ४० लाख रुपैयाँको त हवाई यात्रा नै गरेका छन् । सबैभन्दा महँगो टिकट बेलायती युवराज विलिमय र उनकी पत्नी केटले अमेरिकाको लसएन्जल्सबाट लण्डन आउनका लागि ५२ हजार पाउण्ड खर्च गरेका थिए । यो रकममा उनीहरुको साथमा रहेका सात कर्मचारीले पनि व्रिटिस एअरमार्फत लसएञ्जल्सबाट लण्डन आएका थिए ।

यही यात्रा: बेलायती राजकुमार दम्पत्ती लसएन्जल्सबाट लण्डन आउँदै (फाइल तस्वीर)

Tata
GBIME
Nepal Life

बेलायतको दरवार बकिङघम प्यालेसले गए आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गर्दै सबै खर्चको पुरा विवरण दिएको हो । विवरण अनुसार राजकुमार एन्ड्रयु जसलाई बेलायतीहरुले एअर माइल एन्डीका रुपमा चिन्छन्, उनले बेलायतको उद्योग वाणिज्य एम्ब्यासडर भएर भ्रमण गर्दा तीन लाख ७८ हजार पाउण्ड हवाई विलमा खर्च गरेका थिए ।
बेलायतको राजप्रसादले गत आर्थिक वर्षमा गरेको हवाई खर्च त्यस अघिल्लो वर्षभन्दा एक लाख पाउण्डले बढी हो । प्रिन्स अफ वेल्सका रुपमा चिनिने युवराज चाल्र्स र पत्नी क्यामिलाले गरेको हवाई खर्च सबैभन्दा महँगो भएको बेलायती सञ्चारमाध्यमले लेखेका छन् । उनीहरुले गत अक्टुवरमा मध्यपूर्व, दक्षिण अफ्रिका र तान्जानियाको भ्रमण एक निजी विमानमा गरेका थिए । उनीहरुले यो भ्रमण गर्दा करदाताको चार लाख ६० हजार ३८७ पाउण्ड खर्च गरेका थिए ।
चाल्र्स मध्यपूर्व जानु केही दिन अघि मात्रै विमान चार्टर गरेर साउदी अरव गएका थिए, साउदीका राजकुमारको निधन भएपछि समवेदना दिन जाँदा चाल्र्सले गरेको चार्टर विमानको खर्च ६७ हजार २१५ पाउण्ड थियो ।
लसएन्जल्सबाट लण्डन आउँदा विलियम र केट तथा अरु वरिष्ठ सल्लाहाकारलाई व्रिटिस एअरवेजको विजनेस क्लास सिटमा सित्तैमा अपग्रेड गरिएको थियो । उनीहरुलाई त्यहाँबाट लण्डन आउँन प्रतिव्याक्ति साढे पाँच हजार पाउण्डको टिकट खर्च लागेको थियो ।
राजकुमार ह्यारीले पनि रानीको हिरक महोत्सवका अवसरमा मार्चमा एक लाख सात हजार ९८ पाउण्ड खर्च गरेका थिए । उनले त्यसमध्ये ५१ हजार ४४३ पाउण्ड लण्डनबाट मियामी हुँदै रियो दि जेनेरियोबाट लण्डनसम्मको यात्राका लागि खर्च गरेका थिए । उनले थप ५५ हजार ६५५ पाउण्ड भने मियामीबाट बेलिज, ओन्टो, बहमास, जमाइकाबाट मियामीसम्म आउनका लागि निजी विमान भाडामा लिएर खर्च गरेका थिए ।
बेलायती राजप्रसाद सेवाका प्रवक्ताले सरकारको आग्रह अनुसार हरेक भ्रमणलाई मितव्ययी बनाउने प्रयास गरेको जानकारी दिएका छन् । रानी र राजपरिवारका सदस्यले उडेको खर्च हरेक बेलायती नागरिकको थाप्लोमा ५२ पेन्सका दरले परेको छ । यो खर्चमा बेलायती राजपरिवारलाई प्रहरीले दिएको सुरक्षाखर्चको विवरण भने जोडिएको छैन । सन् २०११÷१२ मा राजपरिवारले तीन करोड २३ लाख पाउण्ड खर्च गरेको र त्यो त्यसअघिल्लो वर्षभन्दा दुई लाख पाउण्ड बढी भएको बताइएको छ ।