BIZMANDU
www.bizmandu.com

चार युवा सभासदले गरे चौधरी ग्रामको भ्रमण, वृहत औद्योगिकीकरणको सम्भावनामा अध्ययन

२०७१ जेठ १८

काठमाडौं। प्रमुख तीन राजनीतिक दलका चार जना युवा सभासदहरुले शनिवार नवलपरासी स्थित सिजी उद्योग ग्रामको अध्ययन भ्रमण गरेका छन्। नेपाली कांग्रेसका सभासदहरु गगन थापा र रामहरी खतिवडा, नेकपा एमालेका सभासद रविन्द्र अधिकारी र एमाओवादीका युवा सभासद टोप बहादुर रायमाझीले संयुक्त रुपमा उद्योग ग्रामको अध्ययन भ्रमण गरेका हुन्।
उद्योग ग्राममा रहेका करिब एक दर्जन उद्योगहरुमा सभासदहरुले करिब ६ घण्टा विताएका थिए। नेपालमा वृहत औद्योगिकीकरणको सम्भावनाका बारेमा अध्ययन गर्न उनीहरु सिजी उद्योग ग्रामको स्थलगत भ्रमणमा आएका हुन्।
उद्योग ग्राम अवलोकनपछि नवलपसारी स्थित सिजी कर्पोरेट सेन्टरमा आयोजित पत्रकार अन्तक्रियामा सभासद गगन थापाले सिजी उद्योग ग्रामबाट आफु अत्यन्तै प्रभावित भएको बताए। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको दूरदर्शि सोंच र कुशल व्यवस्थापनको अनुपम उदारहणका रुपमा आफुले उद्योग ग्रामलाई पाएको बताउदै उनले नेपालको आर्थिक एवं सामाजिक रुपान्तरणका लागि उद्योग ग्राम देशकै नमूना रहेको धारणा राखे। आगामी आर्थिक बर्षको बजेट ल्याउनका लागि संसदमा पूर्वबजेट छलफल शुरु भईसकेको सर्न्दभमा औद्योगिक क्षेत्रको विस्तारको अवधारणा बजेटमा समावेश गर्न समेत यो भ्रमण निकै उपयोगी हुने विश्वास उनले ब्यक्त गरे।
सभासद रविन्द्र अधिकारीले सिजी उद्योग ग्रामले नेपालको आर्थिक रुपान्तरण गर्न सम्भव छ भन्ने शिक्षा आफुले पाएको बताए। राजनीतिक नेतृत्वले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर काम गर्नुपर्ने समय आईसकेको उल्लेख गर्दै उनले आर्थिक बृद्धिदर, सामाजिक रुपान्तरण र रोजगारी सृजनामा केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए।
देशको आर्थिक विकासका लागि सोंचमा नै समस्या रहेको उल्लेख गर्दै उनले ब्यूरोक्रेसीको नकारात्मक चिन्तन पनि यसका लागि जिम्मेवार रहेकोमा जोड दिए।
एमाओवादी नेता एवं सभासद टोप बहादुर रायमाझीले उद्योग ग्रामको विकासले देशमा वृहत औद्योगिकीकरण गर्न सम्भव छ भन्ने अनुभव आफुले पाएको बताए। आर्थिक विकासका लागि तत्कालिन र दीर्घकालिन विकास योजना कार्यान्वयन गर्न जरुरी रहेको धारणा राख्दै उनले सिजी उद्योग ग्रामबाट शिक्षा लिन सक्नुपर्नेमा जोड दिए।
अर्का युवा सभासद रामहरी खतिवडाले सरकारले संचालन गरेको औद्योगिक क्षेत्रहरु धराशायी भएको अवस्थामा निजी क्षेत्रबाट सफलतापूर्वक संचालन गरिएको सिजी उद्योग ग्रामले नयाँ उत्साह थपेको बताए। नयाँ संविधान निर्माणको क्रममा समेत आर्थिक विकासलाई उच्च प्राथमिकता दिन जरुरी रहेको अनुभव आफुलाई प्राप्त भएको धारणा उनले राखे।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सभासदहरुलाई उद्योग ग्राममा स्वागत गर्दै युवा सभासदहरुले देशको औद्योगिकीकरण, आर्थिक रुपान्तरण र रोजगारी सृजनाका क्षेत्रमा ठोस योगदान गर्न आवश्यक रहेको बताए। उनले उद्योग ग्राम संचालनका अनुभवहरु सभासदसँग बाँडेका थिए।

Tata
GBIME
Nepal Life