काठमाडौं। विकास निर्माणमा खर्च हुनु पर्ने रकम सरकारी कोषमा थुप्रिन थालेपछि यसको प्रभाव बैकहरुमा पनि परेको छ। पौने खर्ब रुपैयाँ सरकारी कोषमा रकम जम्मा भएका कारण बैंकहरुको निक्षेप र कर्जा स्थिर देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत साता बाणिज्य बैंकहरुको निक्षेप दुई अर्बले घटेको छ भने कर्जा जम्मा एक अर्ब रुपैयाँ बृद्धि भएको छ। सञ्चालनमा रहेका ३० बाणिज्य बैंकहरुसँग अहिले ११ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप छ। कर्जा लगानी आठ खर्ब ६७ अर्ब रुपैयाँमा पुगेको छ।
बर्षको अन्तिममा बैंकहरुको निक्षेप र कर्जा दुबै बढ्ने गरेको थियो। अघिल्लो बर्ष यति बेला बैंकहरुको निक्षेप एक खर्ब रुपैयाँ माथिले बृद्धि भएको थियो। यसपाली निक्षेप र कर्जाको बृद्धि ५० अर्बको नजिक छ।