काठमाडौं। चिलिमे जलविद्युत् कम्पनीको सेयर प्रति लगानीकर्ताहरुको आकर्षण बढेपछि कारोबार रकम उलेख्य वृद्धि भएको छ । कारोबार रकम र कारोबार संख्याको आधारमा यस साता चिलिमे जलविद्युत् अग्रस्थानमा रह्यो । सातामा कम्पनीको सबैभन्दा धेरै पटक (८०९) भएको किनबेचबाट २५ करोड ५५ लाख रुपैयाँको कारोबार भयो । साताभर कारोबारमा आएका एक सय ५८ कम्पनीको कुल कारोबार रकममा चिलिमेको कारोबार हिस्सा मात्रै २० प्रतिशत छ । साताभरमा कुल एक अर्ब ३० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । कुल कारोबार रकममा भने गत साताको तुलनामा ३४ प्रतिशतले कमि आएको छ ।
चिलिमेले हकप्रद सेयर दिने बजारमा हल्ला चलेपछि सेयर कारोबार बढ्ने क्रममा रहेको थियो । कम्पनीले हकप्रद सेयर नदिने उल्लेख गरेपनि लगानीकर्ताहरुको आकर्षण भने कम भएन । हकप्रद नदिएपनि कम्पनीले बार्षिक रुपमा दिइरहेको बोनस सेयरको दर बढ्ने अपेक्षा भने लगानीकर्ताहरुमा रहेको छ । यही कारण जलविद्युत् समूहको परिसूचक पनि सबैभन्दा धेरै एक सय ७४ अंकले वृद्धि भयो ।
यस साता जलविद्युत् समूहपछि म्यानुफ्याक्चरिङ र बीमा समूहको परिसूचक पनि दोहोरो अंकले बढेको छ । यी समूहको परिसूचक क्रमशः ९० अंक र ३४ अंकले बढेको छ । यी समूहको परिसूचकमा सुधार देखिएपछि साताभरमा नेप्से परिसूचक करिब १५ अंकले बढेको छ ।
नेप्से परिसूचकले बिगत १४ दिनको चालको आधारमा निकालिने आरएसआई बिश्लेषणको आधारमा हेर्दा ओभर बट जोनमा प्रवेश गर्न थालेको देखिन्छ । हाल नेप्सेको आरएसआई सुचक स्केल ७१.७७ मा रहेको छ । यसले बजार केहि दिन बढेने संकेत गरेपनि नजिकैको उच्च बिन्दु भेट्न लागेको संकेत गर्छ । यसअघि नेप्से बिभिन्न समयमा आरएसआई स्केलको ९० बिन्दुसम्म पुगेको देखिन्छ ।