काठमाडौं । राष्ट्र बैंकले वित्तीय अनुशासनका विषयमा प्रश्न उठाउँदै सञ्चालकलाई कारवाही गरेपछि आइतवार बढारिएको नेपाल बंगलादेश बैंकले सोमवार ठूलै ‘कमव्याक’ गर्यो । बंगलादेश बैंकबाट एनबी समूहको सेयर विक्री गर्ने खबर प्रकासित भएपछि ठूलो मुनाफा आर्जन गर्दा पनि तल्लो स्तरमा झरेको एनबीले सोमवार १२ रुपैयाँको वृद्धि हाँसिल गरेको हो ।
आइतवार एनबीको सेयर मूल्यमा उच्च गिरावट आएपछि प्रतिकित्ता १२२ रुपैयाँसम्म कारोवार भएको थियो । सोमवार प्रतिशतका आधारमा सबैभन्दा बढी मूल्य वृद्धि भएपछि एनबी दोस्रो बढी मूल्यवृद्धि हुने कम्पनी बनेको हो । सोमवार एनबीको पहिलो कारोवार दुई रुपैयाँको वृद्धिका साथ १२७ रुपैयाँमा खुलेको थियो । पछि वृद्धि भएर १३७ रुपैयाँमा पुग्यो ।
सोमवार एनबी बैंकको सञ्चालक समितिको बैठक बस्ने र बैठकले एनबी समूहलाई सेयर विक्रीको अनुमति दिने सम्भावना भएको खबर प्रकासित भएको थियो । एनबी समूहको सेयर बंगलादेशी बैंकले किन्ने विषयमा यस अघि नै सहमति भए पनि ठोस प्रक्रिया अघि बढेको थिएन ।
सोमवार एनबीका ३० कारोवारबाट छ हजार ५२३ कित्ता सेयर कारोवार भयो । एनबी बैंकसँगै समूहले प्रवद्र्धन गरेको नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्यमा ठूलो मूल्यवृद्धि भने भएन । एनसिसिको सोमवार प्रतिकित्ता पाँच रुपैयाँ मूल्य बढेर ११९ रुपैयाँ पुग्यो ।