BIZMANDU
www.bizmandu.com

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्री भट्टरार्इको निर्देशन

२०६९ भदौ ११

काठमाडौं । खाद्यान्नको मूल्य आकासिएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले आज उद्योगी, व्यवसायी, सार्वजनिक संस्थानका महाप्रवन्धकसँग छलफल गरेका छन् । उनले छलफलमा ठूलो मात्रामा खाद्यान्न होल्ड गरेर राख्ने व्यवसायीमाथि निगरानी बढाउन सरकारी अधिकारीहरूलाइ निर्देशन दिएका छन् । उनले साना व्यापारीभन्दा ठूला कलाबजारीलार्इ कारवाही  गर्न निर्देशन दिएका हुन् । 
प्रधानमन्त्री कार्यालयमा विहान भएको छलफलमा मूल्यवृद्धि नियन्त्रणका लागि पनि प्रधानमन्त्री भट्टराईले निर्देशन दिएका हुन  पछिल्लो समयमा चामल, चिनी लगायतका खाद्य वस्तुको मूल्य दैनिक रुपमा बढेको छ । गतवर्ष धानको उत्पादन बढेर तीन लाख टनभन्दा बढी बचत भए पनि चामलको मूल्य दुई महिनाको अवधिमा एक किलोमा १० रुपैयाँ भन्दा बढीले बढेको छ ।
एक महिनाको अवधिमा चिनीको मूल्य २० रुपैयाँले बढेको छ । खाद्यान्नको मूल्य बढेको सार्वजनिक भएपछि प्रधानमन्त्री भट्टराईले यसअघि नै वाणिज्य सचिव लालमणि जोशी, वाणिज्य विभागका महानिर्देशक र सार्वजनिक संस्थानका प्रमुखहरुलाई बोलाएर मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएका थिए ।
यता वाणिज्य मन्त्रालयले ठूला व्यापारीलाई लुकाएको सामान बजारमा पठाउन निर्देशन दिएको छ । ठूला व्यापारीले खाद्यान्नवस्तु लुकाएकोले बजारमा मूल्यवृद्धि भएको ठहर गर्दै बजारमा पठाएर सहज बनाउन निर्देशन दिएको हो । ठूला व्यापारीले खाद्यान्न मौज्दात राखेको हामीले जानकारी पाइसकेका छौ ।
उनीहरुलाई खाद्यान्न वाहिर ल्याउन पहिला आग्रह गरेका छौ, वाणिज्य सचिव लालमणि जोशीले भने, हाम्रो आग्रह नमाने कारवाही सुरु गर्छौ । यता वाणिज्य विभागले मूल्यवृद्धि नियन्त्रण गर्न आजैदेखि बजार अनुगमन सुरु गर्दैछ । खाद्य वस्तुको भाउ अस्वभाविक रुपमा बढेपछि विभागले काठमाडौ उपत्यकाको बजार अनुगमन गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life