BIZMANDU
www.bizmandu.com

नेपालीलाई क्यासिनो प्रवेशको बाटो खुलेन, अर्थको असहमतिपछि प्रावधान परिवर्तन

२०६९ भदौ १०

काठमाडौं । लामो समयको विवादपछि सरकारले नेपालीलाई क्यासिनोमा प्रतिवन्ध लगाउने भएको छ । पर्यटन मन्त्रालयले डेढ वर्ष अघि तयार पारेको क्यासिनो सम्वन्धी ऐनको मस्यौंदामा नेपालीलाई क्यासिनोमा प्रवेश दिनुपर्ने प्रस्ताव थियो । झन्डै डेढ वर्षअघि पर्यटन मन्त्रालयले नेपालीलाई क्यासिनोमा प्रवेश दिनुपर्ने सुझावसहितको मस्यौंदामा अर्थमन्त्रालयले असहमति जनाएपछि त्यो प्रावधानलाई हटाएर नयाँ मस्यौदा तयार गरिएको छ । पर्यटन मन्त्रालयले सरोकारवालालाई संसोधनसहितको नयाँ मस्यौदा पठाएको छ ।
अर्थ लगायतका अन्य मन्त्रालयले असहमति जनाएपछि पर्यटन मन्त्रालयले नेपालीलाई क्यासिनोमा प्रतिवन्ध लगाउनुपर्ने प्रावधान सहितको नयाँ मस्यौदा तयार पारेको हो । मन्त्रालय स्रोतका अनुसार विदेशी पासपोर्ट भएकाले मात्रै क्यासिनो गएर खेल्न पाउनेछन् । मस्यौंदामा क्यासिनोको अनुगमन गर्न पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिने उल्लेख छ ।  क्यासिनो छिर्ने व्यक्तिको नाम राख्नुपर्ने र ६ महिनासम्म सीसीटीभीमा भएको दृश्य सुरक्षित राख्नुपर्ने प्रावधान समेत राखिएको स्रोतले बतायो ।
मस्यौंदामा इलोक्ट्रोनिक्स गेमिङ(मिनी क्यासिनो)को बारेमा मौन छ । अर्थमन्त्रालयले मिनी क्यासिनो बन्द गर्न सुझाव दिएको थियो भने पर्यटनले लाइसेन्स दिइसकेका मिनी क्यासिनो बन्द गर्न नमिल्ने भन्दै अडान राखेको थियो ।  

Tata
GBIME
Nepal Life