BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकको नाफा २७ प्रतिशत र नबिलको सात प्रतिशतले वृद्धि, दोस्रो त्रैमाश भन्दा ५० प्रतिशत

२०७१ बैशाख १९

काठमाडौं। चालु आवको तेस्रो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा २७ प्रतिशतले र नबिल बैंकको नाफा सात प्रतिशतले बढेको छ ।  
सिद्धार्थ बैंकको गत आवको यही अवधिमा २८ करोड ४१ लाख रुपैयाँ नाफा भएकोमा यस बर्षभने ३६ करोड ३६ लाख रुपैयाँ नाफा भएको छ । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने करिब ५० प्रतिशतले बढेको हो । 
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने १४ प्रतिशतले मात्र बढ्न सकेको छ । गत बर्ष ७७ करोड २५ लाख यस्तो आम्दानी भएको बैंकको ८८ करोड चार लाख रुपैयाँ पुगेको छ । बैंकको त्रैमाशमा तेस्रो त्रैमाशमा स्प्रेडदर ४.१७ मा रहेको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी साढे चार प्रतिशतले बढ्यो भने व्याज लागत एक प्रतिशतले घट्यो । 
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा करिब १४ प्रतिशतले बढेर २५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि १९.२७ प्रतिशतले बढेर ३२ अर्ब ४८ करोड रुपैयाँ पुग्यो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा ११.४६ प्रतिशतले घटेर तीन अर्ब ३२ करोडमा सिमित भएको छ । यो कुल कर्जाको आधारमा भने करिब १३.१५ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७५.२८ रहेको छ । 
बैंकले बैदेशिक बिनिमयबाट १० करोड २२ लाख नाफा कमाएको छ । बैंकको कर्मचारी र अन्य खर्च २२ प्रतिशतले घटेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको ८१ लाख फिर्ता ल्याएको छ । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने १५ प्रतिशतले कम गरेर २४ करोड ५८ लाख बनाएको छ । त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा ३.१४ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत १०६ प्रतिशत रकम छुट्याएको छ । बैंकको सञ्चालन नाफा भने २१ प्रतिशतले बढेर ५५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । 
बैंकको पुजी कोष पर्याप्तता ११.७१ रहेको छ । बैंकको कोष लागत ४.५९ बाट घटेर ३.४५ मा सिमित भएको छ । बैंकको बेस रेट ५.८०, प्रतिसेयर आम्दानी २६.७४, मूल्य आम्दानी अनुपात २१.२१ र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ रहेको छ । 

Tata
GBIME
Nepal Life
त्यस्तै, नबिल बैंकको गत आवको यही अवधिमा एक अर्ब ५३ करोड ३६ लाख रुपैयाँ नाफा भएकोमा यस बर्षभने एक अर्ब ६४ करोड १९ लाख रुपैयाँ नाफा भएको छ । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने करिब ५५ प्रतिशतले बढेको हो । 
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने आठ प्रतिशतले मात्र बढ्न सकेको छ । गत बर्ष दुई अर्ब ५२ करोड यस्तो आम्दानी भएको बैंकको दुई अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी घट्नुमा स्प्रेड दर (निक्षेमा दिने व्याज र कर्जाको व्याज बीचको अन्तर) कम गरिनु पनि देखिएको छ । बैंकले दोस्रो त्रैमाशमा आठ कायम गरेको स्प्रेडदर तेस्रो त्रैमाशमा झारेर ७.१५ मा सिमित बनाएको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी ०.४४ प्रतिशतले र व्याज लागत पनि १३ प्रतिशतले घट्यो । 
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा करिब १९ प्रतिशतले बढेर ५३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि २८ प्रतिशतले बढेर ७३ अर्ब ९० करोड रुपैयाँ पुग्यो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा सात प्रतिशतले बढेर चार अर्ब ६७ करोडमा सिमित भएको छ । यो कुल कर्जाको आधारमा भने करिब आठ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७२.५१ रहेको छ । 

बैंकले बैदेशिक बिनिमयबाट ३९ करोड ५९ लाख नाफा कमाएको छ । बैंकको कर्मचारी र अन्य खर्च १५ प्रतिशतले बढेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको २८ करोड चार लाख फिर्ता ल्याएको छ । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने १७.३५ प्रतिशतले कम गरेर ५६ करोड ३६ लाख बनाएको छ । त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा २.९६ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत ९८ प्रतिशत रकम छुट्याएको छ । बैंकको सञ्चालन नाफा भने साढे सात प्रतिशतले बढेर दुई अर्ब २५ करोड रुपैयाँ पुगेको छ । 
बैंकको पुजी कोष पर्याप्तता १२.४४ रहेको छ । बैंकको कोष लागत ४.५९ बाट घटेर ३.४५मा सिमित भएको छ । बैंकको बेस रेट ५.८, प्रतिसेयर आम्दानी ७२.५१, मूल्य आम्दानी अनुपात २७.५१ र प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ रहेको छ ।