सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । सुधार गर्नै नसकिने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीहरुलाई लिक्विडेसन (खारेजी) मा पठाउने भएको छ । समस्याग्रस्त हिमालयन फाइनान्स र क्रिस्टल फाइनान्सलाई खारेजीमा पठाउन लागिएको हो ।

‘खारेजीमा पठाउने प्रकृया अन्तिम चरणमा पुगेको,’ राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिंदै भन्यो, ‘सञ्चालक समितिबाट निर्णय गर्ने वित्तिकै अदालतमा जाने छौं ।’ ठूलो परिमाणमा ऋण दुरुपयोग भेटिएको र सञ्चालक समिति र उच्च व्यवस्थापनले मनपरी ढंगबाट स्रोत परिचालन गरेको पाइएपछि राष्ट्र बैंक कठोर निर्णय गर्न बाध्य भएको स्रोतले जानकारी दियो ।
नेपाल राष्ट्र बैंकले हिमालयन फाइनान्सलाई २०६९ पुस २४ गते र क्रिस्टल फाइनान्सलाई २०६९ असोज ८ गते समस्याग्रस्त घोषणा गरेको थियो । दुवै संस्था यसअघि शीघ्र सुधारात्मक कारवाहीमा पनि परेका थिए । ‘पटक पटक कारवाहीमा परे पनि सुधारको संकेत नदेखिएपछि खारेजी गर्नु परेको हो,’ स्रोतले भन्यो ।
राष्ट्र बैंकले यसअघि दुई विकास बैंक र एक फाइनान्स कम्पनीलाई खारेजीमा पठाइसकेको छ । नेपाल विकास बैंक, युनाइटेड डेभलपमेन्ट बैंक र सम्झना फाइनान्स खारेजीमा गइसकेका छन् ।
नियमित ब्याज भुक्तानी गर्ने ऋण पनि समस्याग्रस्त घोषणा गरेपछि नवीकरण नहुने भएकाले अब संस्थामा खराब ऋण मात्र बढी मात्रामा छ । लेखाङ्कन नगरी ऋण दिएकाले उठाउन समस्या भइरहेका बेला संस्थाको रेकर्ड बाहिरका निक्षेपकर्ताले प्रमाणसहित निक्षेप दावी गर्न थालेपछि यसलाई व्यवस्थापन गर्न थप असहज भएको छ ।
ऐन संशोधन गरेर मात्र खारेजीमा पठाउने योजना बनाएको राष्ट्र बैंकले यी दुई संस्था सम्हाल्न नसक्ने अवस्थामा पुगेपछि पूर्वयोजनालाई थाँती राख्दै खारेजी प्रकृया अगाडि बढाउन लागेको हो । राष्ट्र बैंकले ऐन संशोधन गरेर निक्षेपकर्ताको पैसा फिर्ता गरिसकेपछि संस्था खारेजीमा पठाउने योजना बनाएको थियो । अहिलेकै स्रोतबाट निक्षेप फिर्ता हुने नदेखिएपछि राष्ट्र बैंकले खारेजीको बाटो रोज्न लागेको हो ।
संस्था खारेजीमा गएपछि त्यसबाट आउने रकम सुरुमा निक्षेपकर्तालाई फिर्ता गरिन्छ । त्यसपछि अन्य दायित्व भुक्तान गरेर साधारण सेयरधनीलाई पनि वितरण गरिन्छ । सम्पतिबाट भुक्तान गर्ने अवस्था नरहे साधारण लगानीकर्ताको रकम डुब्छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन फाइनान्सको अन्तिम कारोबार प्रति कित्ता १८ रुपैयाँका दरले भएको थियो । नेप्सेमा हिमालयनको १४ लाख कित्ता सेयर सुचिकृत छ । यसैगरी क्रिस्टल फाइनान्सको अन्तिम कारोबार प्रति कित्ता एक सय १७ रुपैयाँका दरले भएको थियो । क्रिस्टलको नेप्सेमा सात लाख कित्ता सेयर सुचिकृत छ ।
हिमालयन फाइनान्स सस्थाकाे सम्पत्ती व्याक्तीका नाममा
हिमालयन फाइनान्समा सम्पतिभन्दा दायित्व वढी देखिन गएको छ । राष्ट्र बैंकले गर्न लगाएको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्याङकन (डिडिए) प्रतिवेदनमा संस्थाको रेकर्डमा करिव ७३ करोड रुपैयाँ ऋण छ तर त्यो बराबरको सम्पति भने १८ करोड मात्र देखिएको छ । करिब ५२ करोड रुपैयाँको हिसाव किताव देखिँदैन, स्रोतले भन्यो ।
स्रोतका अनुसार, कम्पनीका तत्कालिन अध्यक्ष हिमालयनभक्त प्रधानाङ्, उनकी छोरी तत्कालिन महाप्रबन्धक शिशम मल्लले आफन्त र परिवारको नाममा धितो नामसारी गरेका कारण सम्पति कम देखिएको हो ।
अदालतले अध्यक्ष प्रधानाङ्लाई धरौटीमा छाडिसकेको छ । बैंकिङ कसुरमा तत्कालिन नायव महाप्रबन्धक श्यामभक्त प्रधानाङ अझै प्रहरी थुनामा छन् । शिशम मल्ललाई पनि बैंकिङ कसुरमा प्रहरीले खोजिरहेको छ, तर उनी अहिलेसम्म प्रहरी फन्दामा परेकी छैनन् ।
नेपाल राष्ट्र बैंकले यसरी नामसारी गरिएका केही सम्पति संस्थाको नाममा फिर्ता पनि ल्याएको छ । काभ्रेको करिव दुई सय रोपनी जग्गा फिर्ता भइसकेको छ । ‘अनुसन्धानका क्रममा भेटिएका संस्थाका सम्पतिहरु फिर्ता गर्ने क्रम जारी छ,’ स्रोतले भन्यो, ‘तर रेकर्डमा नभेटिएका थुप्रै सम्पति भएकाले त्यसलाई ल्याउन भने चुनौतीपूर्ण छ ।’
केही सम्पतिहरु कर्मचारीको नाममा पनि नामसारी भएका थिए । स्रोतका अनुसार राष्ट्र बैंकले कारवाही अगाडि बढाएपछि केही कर्मचारीहरुले प्रलोभन दिएर संस्थाको सम्पति आफ्नो नाममा गरिएको निवेदन पनि दिएका छन् । त्यस्ता सम्पतिहरु पनि संस्थाको नाममा पुनः ल्याउने काम भइरहेको छ ।
संस्थाको लेखामा करिब ४२ करोड रुपैयाँ निक्षेप छ । तर त्यसबाहेक पनि प्रमाण बोकेर निक्षेपकर्ता पैसा लिन आइरहेका छन् । स्रोतका अनुसार, रेकर्ड नराखी व्यक्तिगत प्रयोजनमा पनि ठूलो निक्षेप प्रयोग गरेको भेटिएको छ ।
क्रिस्टल फाइनान्सकाे स्थिति के छ ?
क्रिस्टल फाइनान्समा अध्यक्ष तथा व्यवस्थापन नेतृत्व मिलेर ठूलो रकम घोटाला गरिएको भेटिएको छ । फाइनान्सका प्रवर्द्धक दिब्यकुमार श्रेष्ठ बैंकिङ कसुर अभियोगमा प्रहरी थुनामा छन् । उनको संलग्नता नारायणी डेभलपमेन्ट बैंकमा समेत छ । नारायणीमा पनि आर्थिक हिनामिना व्यापाक भएर संस्था अप्ठेरोमा परेपछि केही साताअघि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
श्रेष्ठकी श्रीमती अन्जुदेवी क्रिस्टलकी सञ्चालक हुन् । नारायणी र क्रिस्टलको सम्पति मिसम्याच गरेर फाइदा लिएको आरोप श्रेष्ठ दम्पतिमाथि छ । क्रिस्टलको करिब ४४ करोड ऋण श्रेष्ठको परिवारभित्र मात्रै छ ।
यो ऋण भुक्तान नगरी दुरुपयोग गरेको भेटिएको छ । समस्याग्रस्त घोषणा गर्दा संस्थामा ४९ करोड १३ लाख निक्षेप थियो भने कर्जा ८६ करोड ६८ लाख रुपैयाँ थियो ।
श्रेष्ठ दम्पतिले आफ्नो र परिवारको नाममा संस्थाको सम्पति राखेको आरोप राष्ट्र बैंकको छ । संस्थाको लेखामा भने यस्तो सम्पति देखिएको छैन । राष्ट्र बैंक र प्रहरीले गरेको अनुसन्धानमा ठूलो रकम बराबरको सम्पति दुरुपयोग भएको छ । कतिपय सम्पति राष्ट्र बैंकले संस्थाको नाममा ल्याउन पहल गरिरहेको छ ।