BIZMANDU
www.bizmandu.com

सञ्चालकबाटै सूचना चुहाएर यसरी हुन्छ सेयर बजारमा चलखेल

२०७१ बैशाख १४

सञ्चालकबाटै सूचना चुहाएर यसरी हुन्छ सेयर बजारमा चलखेल
सञ्चालकबाटै सूचना चुहाएर यसरी हुन्छ सेयर बजारमा चलखेल

विजयराज खनाल/बिजमाण्डू
काठमाडौं। पूँजी बजारको नियम अनुसार लाभांस वा बोनस जस्ता बजार प्रभावित बनाउने सूचना कम्पनीको आधिकारिक निर्णय अघि बजारमा चुहाउन पाइँदैन। यस्ता निर्णयको जानकारी पनि तत्काल नियामक र सेयर कारोबार गर्ने निकायलाई दिनुपर्छ। निर्णय लुकाएर बजारलाई प्रभावित गर्नु हुदैन। यस्ता नियम त छन् तर बजार अर्कै ढंगले चलेको छ।
लाभांस वा बोनसको आधिकारिक निर्णय बजारमा आउनु भन्दा पहिले नै सेयरको भाउले डाँडा काटिसकेको हुन्छ। सेयर ब्रोकरका कार्यलयमा बसेर कम्पनीले दिने लाभांस ठ्याक्कै मिलाउनेहरुको संख्या पनि कम छैन।

Tata
GBIME
Nepal Life

उदाहरण १
नेपाल इन्भेष्टमेन्ट बैंकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने अपुष्ट समाचार गत असोज अघिनै पँुजीबजारमा आयो। बैंकको उपल्लो तहमा बस्नेहरुबाटै यस्तो सूचना गोप्य रुपमा बजारमा आएको थियो। सबैलाई लगानीकर्तालाई यस्तो जानकारी आएको भने होइन, आफ्ना केही साथीलाई दिएको जानकारी बजारभर फैलियो। प्रारम्भिक रुपमा यस्तो खबर पाएका सबैले मूल्य बढ्नु अगाडी नै सेयर खरिद गरे। असोज २३ गते आठ सय ५२ रुपैयाँमा रहेको सेयर कम्पनीले आधिकारिक रुपमा लाभांश घोषणा गर्ने दिनसम्म आइपुग्दा आठ सय ८० रुपैयाँ भयो। बैंकले लाभांश घोषणा केही फरक गर्यो। बैंकले २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर घोषणा गर्यो। लाभांश घोषणा गरेकै दिनको भोली पल्ट सेयर मूल्य घटेर आठ सय ३१ रुपैयाँमा आयो।

उदाहरण २
 गत असोजमै एभरेष्ट बैंकको प्रस्तावित लाभांशको जानकारी बजारका केही लगानीकर्ताले पाए। पहिले सिमित हुँदै पछि यस्तो खबर अन्य लगानीकर्ताहरुसम्म पनि पुग्यो। एक हजार चार सय ३९ रुपैयाँमा कारोबार भइरहेको बैंकको सेयर लाभांश घोषणा गर्ने दिनसम्म एक हजार छ सय ८० मा पुग्यो। बैंकले ५० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयरको घोषणा गरेको थियो। बैंकको लाभांश बारे बजारमा आएको जानकारी ठ्याक्कै मिलेको लगानीकर्ताहरु बताउँछन। बैंकले लाभांश घोषणा गरेको दिनपछिका दिन सेयर मूल्य घटेको देखिन्छ। यी मात्रै होइनन्, यस वर्ष सार्वाधिक बोनस दिने नेपाल लाइफ इन्स्योरेस र नेशनल लाइफको सेयर मुल्य पनि कम्पनीको आधिकारिक निर्णय अघि नै उच्च विन्दुमा पुगिसकेको थियो। निर्णय पछि सेयरको भाउ बढ्ने ठाउँ नै बाकी रहेन।
बजारमा लाभांश वा मूल्य प्रभाव पर्ने जानकारी आउनेमा यी कम्पनी मात्र होइन प्राय सबैजसो कम्पनीको लाभांशको खबर घोषणा हुनु अगाडीनै बजारमा चुहिन्छ। लगानीकर्ता रमेश निरौला भन्छन, 'नियमितजसो कारोबार हुने मध्ये ९५ प्रतिशतको यस्तो जानकारी सञ्चालक समितिले पारित गर्नु अघि नै बजारमा प्रवाह भइसकेको हुन्छ। तर यस्तो जानकारी सञ्चालक समितिमा रहेको व्यक्तिहरुको आफ्ना केही साथी बाहेक अरु लगानीकर्तामा पुग्न भने केही समय लाग्ने गर्छ।'
अर्धसरकारी स्वामित्वमा रहेको कृषि बिकास बैंकको लाभांस घोषणाको अर्को बलियो उदाहरण छ। बैंक सञ्चालक समितिले ३१ प्रतिसत नगद लाभांस दिने प्रस्ताव पारित गर्यो। यो निर्णय एक साता भन्दा बढी समय लुकाएर राखेपनि केही लगानीकर्ताले गोप्य रुपमा जानकारी पाए। एक साता पछि नेपाल स्टक एक्सचेन्जलाई निर्णयको जानकारी गराउँदा बजारमा चलखेल भइसकेको थियो। यही बीचको एक सातामा बैंकको सेयर कारोबार र मुल्य निकै बढ्यो।
सर्वसाधारणमा सेयर जारी गरेको हरेक कम्पनीको सञ्चालक समितिमा सर्वसाधारणको तर्फबाट पनि केही संख्यामा प्रतिनिधित्व हुन्छ। त्यस्ता प्रतिनीधिबाट पनि बजारमा यस्ता सुचना आउछ। 'हिजो आफुलाई निर्वाचित गरेर पठाएका साथीहरुलाई गुन तिर्न पनि सञ्चालक समितिमा पुगेका सदस्यहरुले यस्ता जानकारी दिने गर्छन,' निरौला भन्छन्।
सञ्चालक समितिमा रहेका कुनै व्यक्तिले आफ्नो 'सर्कल' का साथीलाई भनेको जानकारी सधै तिनीहरु बीच मात्र सिमित रहन्छ भन्ने हुदैन। 'एकले अर्कोलाई कसैलाई नभन्नु भन्दै दिइने यस्तो जानकारी चैतको डढेलो जस्तै फैलिदै जान्छ,' लगानीकर्ता पुरुषोत्तम चिमोरिया भन्छन्। कतिपय अवस्थामा त यसरी जानकारी पाउँने लगानीकर्ताहरुले बजार म्यानुपुलेट समेत गरेको चिमोरिया बताउँछन्। कहिलेकाँही केही आधिकारीक व्यक्तिहरुले नै यो कम्पनीले यति दिदैछ भनेर समेत हल्ला फैलाएर मूल्य बढाउने तर लाभांश दिनेबेला आफूले लगानी गरेको मूल्यको प्रतिफल नै नआएको अनुभव पनि लगानीकर्ता चिमोरियाको छ।
लाभांशका यस्ता सूचना चुहाउनेमा धेरै जसो काठमाडौंमा नै मुख्य कार्यालय रहेका संस्थाका सञ्चालक समिति सदस्य र कर्मचारीहरु छन्। काठमाडौं बाहिरका कम्पनीहरुको यस्तो सूचना सञ्चालक समितिको बैठक अघि निकै कम चुहिने गरेको नेप्सेका अधिकारीहरु बताउँछन्। नेप्सेका एक अधिकारी भन्छन, 'धेरैजसो काठमाडौं बाहिरका कम्पनीले दिने लाभांश दर कम हुँदा सूचना बाहिर आइहाले पनि सेयर मूल्यमा निकै कम प्रभाव परेको देखिन्छ।'
कम्पनीहरुले दिने लाभांशबारे पहिले नै आंकलन हुनु स्वभाविक प्रक्रिया हो। प्राविधिक रुपमा विश्लेषण गर्ने लगानीकर्ताले नियमित प्रक्रियामा लाभांसको अंक करिब करिब मिलाउन सक्छन्। तर यति बोनस सेयर र यति नगद लाभांस भन्ने अंक कम्पनीकै अधिकारीहरुले नदिए मिलाउन सामान्यतः असंभव छ। नाफा बाहेक कम्पनी भित्रका अन्य परिस्थितिका बारेमा पनि लगानीकर्ता पुरै जानकार हुँदैनन्। जस्तो कम्पनी मर्ज हुने, अर्को कम्पनी किन्ने, नयाँ भेन्चर सुरु गर्ने जस्ता जानकारी लगानीकर्तालाई हुदैन।

के भन्छ धिताेपत्र बाेर्ड ?
सुनियोजित रुपमा बजारमा मूल्य प्रभावित गर्ने यस्ता सुचना दिनु भने अपराधको रुपमा हेरिन्छ। धितोपत्र सम्बन्धि ऐन, २०६३ मा रहेको भित्री कारोबार सम्बन्धि व्यवस्थाले धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सुचना वा जानकारीहरुको आधारमा आफुले सेयर कारोबार गरेमा, अरुलाई कारोबार गर्न लगाएमा, सुचना वा जानकारी दिएमा भित्री कारोबार भएको मानिने उल्लेख गरेको छ। त्यस्तै, यस्तो भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिमा स्पष्ट रुपमा सञ्चालक समितिमा रहेका व्यक्ति, कर्मचारी लगायत तोकेको छ। यी बर्गबाट त्यस्तो सुचना चुहाएको खण्डमा बिगो बराबरको जरिवाना र एक बर्षसम्म कैद वा दुवै हुनसक्ने व्यवस्था गरेको छ। तर हालसम्म यो व्यवस्था कानुनमै सीमित छ। अहिले सञ्चालनमा रहको कारोबार प्रणालीले भित्री कारोबार भयो भएन भनेर हेर्न र अस्वभाविक कारोबार भएको छ कि भनेर पत्ता लगाउन नै सकिने अवस्था छैन, धितोपत्र बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरीले भने। हालसम्म कुनै लगानीकर्ताले यस्तो सुचनाको कारण मितोमतोमा कारोबार भएको वा आफु ठगिन पुगेको भन्ने उजुरी बोर्डमा परेको छैन। उजुरी नपरेपछि खोजबिन गर्न कसैलाई जागर चलेको छैन।
नेप्सेले यस्तो सुचनाबाट कारोबार प्रभावित नहोस भन्ने उदेश्यले  गत माग २६ गते कम्पनीहरुलाई मर्जर, लाभांश वा मूल्य प्रभावित हुने अन्य जानकारी नेप्सेलाई कारोबार खोल्नु अगावै वा काराबार अवधि पछि मात्र यस्ता निर्णय गर्न निर्देशन दिएको थियो। नेप्सेले बजार खुल्ने अवधि १२ बजेदेखि तीन बजे भित्र बजार मूल्य प्रभावित गर्ने कुनै पनि निर्णय नगर्न समेत कम्पनीहरुलाई नेप्सेले सूचित गरेको थियो। तर यसको कार्यान्वयन प्रभावकारी रुपमा हुन सकेको छैन। काठमाडौं बाहिरका कम्पनीहरुले यस्तो सुचना पत्र मार्फत् पठाउने गरेको र निर्णय भएको केही दिन पछि मात्रै आउने गरेको छ। त्यस्तै, काठमाडौंमै भएका कम्पनीहरुले पनि यो निर्देशन पालना गरिरहेका छैनन्।