BIZMANDU
www.bizmandu.com

अर्थसचिव भुसालले गरे आन्तरिक राजस्व विभागको निरीक्षण, सूचना प्रविधि प्रयोगको सरहाना

२०७१ बैशाख ८

काठमाडौं । नवनियुक्त अर्थसचिव युवराज भुसालले सोमबार आन्तरिक राजस्व विभागको निरीक्षण गरेका छन् । गत सातादेखि अर्थसचिवको जिम्मेवारी सम्हालेका भुसालले कर प्रशासनले पनि निजीक्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए । उनले विभागले सूचना प्रविधिको प्रयोगमा गरेको प्रगतिको सराहना गरे । 
विभागले सूचना प्रविधिको सफल प्रयोग गरेको र करदातालाई सहजरुपमा सुविधा दिएको जनाइएको छ । सचिव भूसालले करदातालाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिन पनि सुझाव दिए । 
अर्थमन्त्रालय राजस्व महाशाखा प्रमुख राजन खनालले मुल्य अभिबृद्धि कर(भ्याट)को बृद्धिदर कम्तिमा २२ प्रतिसत हुनुपर्ने बताए । आयकर तथा भ्याटतर्फ नन्फाइलर क्रमशः ५० प्रतिशत र २५ प्रतिशत भएकोमा चिन्ता व्यक्त गरे । 
विभागका महानिर्देशक टंकमणि शर्माले अर्थसचिवलाई स्वागत गर्दै विभागको संरचना, जनशक्तिको विवरण, कार्यक्षेत्र, दर्ता भएका करदाताको संख्या, राजस्व असुली तथा सुधारका रणनीति लगायतका विषयहरुबारे जानकारी गराएका थिए । उनले सचिवलाई भावी कार्ययोजनाका बारेमा जानकारी गराए 
नौ महिनामा विभागले उठायो ९७ अर्ब 
चालु आर्थिक वर्षको चैत महिनासम्म आन्तरिक राजस्व विभागले ९७ अर्ब ५५ करोड ४२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो असुली लक्ष भन्दा बढी हो । चैतसम्मका लागि विभागलाई ९५ अर्व ९१ करोड २० लाख ४२ हजार रुपैयाँ लक्ष तोकिएको थियो । विभागले सोमबार गरेको समीक्षामा आयकर ५४ अर्व २१ करोड ६१ लाख ५८ हजार, मूल्य अभिवृद्धि कर २४ अर्व ४० करोड ५९ लाख ८३ हजार र अन्तःशुल्क १८ अर्व १७ करोड ९४ लाख ५२ हजार असुली भएको जानकारी दिइएको हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ३६ करोड १८ लाख ९० हजार र  ३९ करोड ७ लाख ३४ हजार असुली भएको छ । 
काठमाडौं उपत्यका भित्रका ठूला करदाता कार्यालय लगायत आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतहरूको उपस्थिति रहेको मासिक समीक्षा वैठकमा महानिर्देशक टंकमणि शर्माले वैशाख महिनाको राजस्व असुली पूरा गर्ने कार्ययोजना बनाउन निर्देशन दिए । विल विजक जारी गराउन बजार अनुगमन गर्न समेत उनले निर्देशन दिए । 
 

Tata
GBIME
Nepal Life