BIZMANDU
www.bizmandu.com

नेपाल चेम्बरका पदाधिकारीले भेटे प्रधानमन्त्री, निजी क्षेत्रसँग सहकार्य र समन्वय बढाउन सुझाव

२०७१ बैशाख ५

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शुसिल कोइरालासँग भेट गरेका छन्। चेम्बर अध्यक्ष सुरेश वस्नेत नेतृत्वको टोलीले भेट गरि कोइरालालाई निजी क्षेत्रसँग सहकार्य बढाउन सुझाव दिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले मुलुकले समयमै नयाँ संविधान पाउने र अहिले देखिनै आर्थिक सामाजिक विकासमा सहज वातावरण निर्माण गर्ने बताए। कोइरालाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउंदै नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधारको विकास जस्ता क्षेत्रमा आन्तरिक लगानी प्रबर्द्धन र बाह्य लगानी आकर्षण गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको जानकारी दिए। निजी क्षेत्रका समस्या तत्काल समाधान गर्ने सरकारको मुख्य ध्येय रहेको हुँदा आर्थिक क्षेत्रमा देखिएका समस्याहरु समय समयमा जानकारी गराईरहन उनले अनुरोध गरे।
प्रधानमन्त्री कोइरालाले नयाँ सरकार गठन पछि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका लगानीका प्रतिवद्धताले आफूलाई हौस्याएको बताए। 'सरकार मुलुकको आर्थिक तथा निजी क्षेत्रको प्रवर्द्धनका लागि सहजकर्ताको भूमिका खेल्न तत्पर छ' उनले भने।
भेटमा चेम्वरका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकार, प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, महासचिव कमलेश कुमार अग्रवाल, सचिव द्वय देवेन्द्र बहादुर श्रेष्ठ र सन्तोष पाण्डे, सहकोषाध्यक्ष पर्शुराम दाहाल तथा कार्य समिति सदस्यहरु कमलकुमार वेगानी, कृष्णमान श्रेष्ठ, कैलाशचन्द्र गोयल, रामशरण थपलिया, हरिबहादुर कार्की, नरेश श्रेष्ठ, भिमलाल पौडेल, हेमबहादुर स्वार, दिपककाजी तुलाधर, सुरेन्द्रकुमार शारदा, निरज राई र राजेन्द्र शेरचन उपस्थित थिए।

Tata
GBIME
Nepal Life