बर्षको पहिलो करोबारमा नेप्सेमा तीव्र उतारचढाव, नेप्से एक अंक कमले बढ्यो, २५ करोड व्यापार
२०७१ बैशाख २
बर्षको पहिलो करोबारमा नेप्सेमा तीव्र उतारचढाव, नेप्से एक अंक कमले बढ्यो, २५ करोड व्यापार
काठमाडौं। बर्षको पहिलो कारोबार दिन नेप्से परिसूचकमा तीव्र उतारचढाव देखियो । कारोबार खुले देखि नै बढ्ने क्रममा रहेको नेप्से परिसूचकलाई नेपाल टेलिकमको सेयर मूल्यमा भएको कटौतीले बरम्बार तल ओराल्यो । तर अन्य कम्पनीहरुको मूल्यमा भएको वृद्धिले बजारको बढ्दो गति कायम राख्न नेप्से सफल भयो । नेपाल टेलिकम सुचीकृत ‘अन्य’ समूहको परिसूचकमा उल्लेख्य गिरावट आएसंगै बजार ओरालो लाग्यो । वाणिज्य बैंकहरुको सेयरको मूल्य वृद्धिदर पनि सुस्तियो । बजार बन्द हुँदा भने नेप्से परिसूचक ०.९३ अंकले बढेर ८१८ मा पुग्यो । २८ अंकसम्म घटेको ‘अन्य’ समूहको परिसूचक कारोबार बन्द हुँदा भने ११ अंकले घट्यो । नेप्सेमा तीव्र उतारचढाव देखिए पनि यस्तो रेञ्ज भने निकै कम रहेको थियो । चार अंक भित्रको रेञ्जमा रहेर उतार चढावमा देखिएको नेप्सेको गति स्पष्ट हुन सकेको देखिदैन । तर बजार बन्द हुँदा नेप्से बढ्ने क्रममा रहेकोले बजार बढ्ने दिशामा लाग्ने देखिन्छ ।
आइतवार जलविद्युत् समूहको परिसूचकमा पनि सुधार आउन सकेन । चिलिमेको सेयर मूल्य १३ रुपैयाँले बढेपनि बुटवल पावर र नेशनल हाइड्रोको सेयर मूल्य घट्यो । सानिमामाई र अरुणभ्यालीको भने मूल्य स्थिर रह्यो । कारोबार रकमको आधारमा यो दिन सबैभन्दा धेरै कारोबार हुनेमा चिलिमे जलविद्युत् कम्पनी रह्यो ।
कारोबारमा आएका ‘अन्य’ र जलविद्युत् बाहेक सबै समूहको परिसूचक भने बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा एक प्रतिशतभन्दा कमले फेरबदल भएको छ । सबैभन्दा धेरै रकमले मूल्य बढ्नेमा सहयोगी बिकास बैंक रहेको छ । बैंकको ९.७९ प्रतिशतले मूल्य बढेर चार सय ६० रुपैयाँ भयो । बैंकले १० बराबर १.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएपछि कम्पनीको सेयर मूल्य बढेको हो । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य साढे पाँच प्रतिशतले घट्यो ।
आइतवार एक सय २३ कम्पनीको पाँच लाख ७२ हजार कित्ता सेयर कारोबार भयो भने कुल आठ खर्ब ३४ करोड रुपैयाँको कुल बजार पूँजीकरण भयो ।