काठमाडौं । विरलै हुने बिशाल बजार कम्पनीको सेयर कारोवार बिहिवार नेपाल स्टकमा एक्सचेञ्जमा भयो, त्यो पनि प्रतिकित्ता ३९ रुपैयाँले वृद्धि भएर । विहिवार बिशाल बजारको प्रतिकित्ता दुई हजार रुपैयाँमा १० कित्ता सेयर कारोवार भयो ।
उता आश्चर्यजनक वृद्धिलाई निरन्तरता दिंदै युनिलिभरको सेयर मूल्य समेत एक सय ५० रुपैयाँले बढ्यो । युनिलिभरको विहिवार एउटा कारोवारमा एक सय ८० कित्ता सेयर कारोवार भयो । प्रतिकित्ता साढे सात हजार ६५० रुपैयाँमा १३ लाख ७७ हजार रुपैयाँको कारोवार भयो ।
यस अघि आइतवार युनिलिभरको प्रतिकित्ता सेयर एक सय ३१ रुपैयाँले बढेको थियो । उच्च नगद लाभांशको घोषणा गरेपछि अघिल्लो साताको मंगलवार प्रतिसेयर दुई सय ७४ रुपैयाँ र विहिवार त्यसलाई पछ्याउँदै दुई सय ८५ रुपैयाँले मूल्य बढेको थियो । पछिल्लो दुई सातामा युनिलिभरको प्रतिसेयर मूल्य ७४० रुपैयाँले बढिसकेको छ ।
बुटवल पावरको सेयरधनी पनि उच्च दरमा वृद्धि भैरहेको छ । चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक भएपछि निरन्तर बढिरहेको बुटवल पावरको सेयर मूल्य विहिवार १२ रुपैयाँले बढेर प्रतिकित्ता ६५२ रुपैयाँ पुगेको छ । विहिवार अरुणभ्यालीको प्रतिकित्ता दुई रुपैयाँले बढ्यो, चिलिमेको प्रतिकित्ता पाँच रुपैयाँले बढ्यो ।
विहिवारै नागरिक लगानी कोषको प्रतिकित्ता ११ रुपैयाँले मूल्य बढेर ६०३ रुपैयाँमा ३४ कित्ता सेयर कारोवार भयो । डिप्रोक्स विकास बैंक र एभरेष्ट बैंकका सेयरधनीले पनि प्रतिकित्ता १०÷१० रुपैयाँका दरले गुमाए । अर्ब नाफा गर्ने अर्को बैंक हिमालयनका सेयरधनीले पनि विहिवार प्रतिसेयर १२ रुपैयाँ गुमाउनुपर्यो ।
यो साता सेयरधनीहरुको लगाव बैंकबाट इन्सुरेन्सतर्फ सरेको छ । अधिकांश बैंकको सेयरमूल्यमा गिरावट आएको छ भने इन्सुरेन्सको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । लाइफ इन्सुरेन्स कम्पनी नेपालको सेयरमूल्य बुधवार २९ रुपैयाँ बढेर ९५३ रुपैयाँमा कारोवार भयो । नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्यमा समेत २० रुपैयाँ बढेर ८९० रुपैयाँमा कारोवार भयो ।
विहिवार बैंकिङ समूहबाहेकका सबै समूहमा हरियो बत्ति बल्यो । बैकिङ समूहको सूचक शुन्य दशमलव ९१ अंकले ओरालो लाग्यो । होटल समूहको शुन्य दशमलव ९४ अंकले बढ्यो । सबैभन्दा बढी जलविद्युत समूहको सूचकांक ६.७६ अंकले, इन्सुरेन्स समूहको ५.८७, युनिलिभर र बिशाल बजारको सेयर मूल्य बढेपछि अन्य समूहको सूचकांक ४.७ अंकले बढ्यो । यति हुँदा पनि नेप्से सूचक भने चार सय अंकमा पुग्न सकेन । विहिवार नेप्सेमा पाँच करोड ६० लाख रुपैयाँको कारोवार भयो ।