प्रभात भट्टराई/बिजमाण्डू
काठमाडौं । नेपाल प्रति आम तन्नेरी पुस्ताको धारणा सकारात्मक पाइँदैन । कोहि यहाँको प्रदुषणलाई गाली गर्छन्, कसैलाई राजनीतिले वाक्क बनाएको छ । देश नबनेको वा काम नपाएको अनेक विषयमा नेपालप्रति दुखेसो पोख्ने अधिकांश युवाको चाहना हुन्छ बिदेश पुगेर ‘सेटल’ हुने । पढे लेखेकाको सपना हुन्छ अमेरिका, युरोप वा अष्ट्रेलियाको जीवन जिउने । कम पढेका गाउँ–ठाउँका युवा चाहन्छन् खाडी वा मलेसियामा रोजिरोटी ।
नेपालमा अवसर नदेख्नेका माझ केहि यस्ता तन्नेरी पनि छन् जो यहाँ सम्भावना मात्र खोजि गरिरहेका छैनन् सफलताको उदाहरण बन्ने बाटोमा निरन्तर अगाडी बढिरहेका पनि छन् । व्यवसायिक र व्यापारिक पारिवारिक पृष्ठभूमी भए पनि उनीहरु आफ्नो छुट्टै पहिचान बनाउने प्रयासमा छन् । नेपालमा सम्भावनाको क्षेत्र पहिल्याएर लगानी गर्ने र अवसरको खेती गर्ने अभियानमा उनीहरु एक पछि अर्को खुड्किलो चढ्दै पनि छन् । सानैमा विदेश पुगेका र उताका ‘प्रशस्त’ अवसर छाडेर नेपालमा उद्यमको विउ रोप्ने यी तन्नेरीले नेपालीमा नयाँ आशा र भरोसा जगाएका छन् ।
नयाँ बर्ष २०७१ को पुर्वसन्ध्यामा विजमाण्डूले भेटेका यी युवामा एक बर्ष भित्र रचनात्मक उचाइ हासिल गर्ने अठोट छ । आफुले थालेको ‘विजनेश प्रोजेक्ट’लाई अघि बढाउनु मात्रै होयन्, धेरैले त्यस पछिको विस्तार योजना समेत तयार पारेका छन् । आफ्नो पुस्तौनी व्यवसायलाई निरन्तरता दिँदा पनि त्यसमा प्रविधिलाई जोडेर तन्नेरी पुस्ताले नयाँ स्वाद पस्किंदैछ ।
प्रविधि रणनीति बनाउँदै दिकेश
नेपालकै मोर्डन इन्डियन स्कुलमा १२ कक्षासम्म पढेपछि स्नातकका लागि अमेरिका पुगे दिकेश मल्होत्रा । त्यहाँ साढे पाँच बर्ष वसेर नेपाल फर्किएपछि केहि समय सामसुङ मोवाइलको बजार हेरे । यहाँ आएको छ महिनामै वेलायतमा एमबिएको अवसर जुर्यो । एक बर्षको एमबिए कोर्स सिध्याएर सन् २०१२ को डिसेम्बरमा नेपाल फर्किए पछि भने दिकेश सामसुङका ‘फुल टाइमर’ बनेका छन् ।
बुवा दिपक मल्होत्राको अगुवाइमा सामसुङ मोवाइलको नेपालस्थित आधिकारिक प्रतिनिधित्व लिए पनि अहिले व्यवसायको सम्पुर्ण कमान इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालिको प्रेसिडेन्टको रुपमा दिकेशले हाँकेका छन् ।
विदेशको पढाइ र अनुभवमा लामो समय विताउँदा त्यहाँको बजारमा धेरै घुलमिल भएको र नेपाल आएपछि सुरुमा केहि अफ्ठ्यारो महसुस भएको उनी सुनाउँछन् । ‘त्यहाँको पढाइ र अनुभवअनुसार यहाँ काम गर्न खोज्दा नमिल्ने अवस्था पनि आउँदो रहेछ’ उनी सुनाउँछन् । तर, अहिले उनी घुलमिल भइसकेका छन् ।
नेपाल र परिवारप्रति उनको अलि बढि नै लगाव छ । अमेरिका बस्दा पनि वर्षेनी नेपाल आउँथे । ‘विदेशमा रहेका आफन्तले भन्ने गर्थे, दिकेश विदेशको हावापानीले छोए पछि तिमी नेपाल फर्किँदैनौं । ‘तर म सुरु देखिनै फर्किन्छु भन्नेमा दृढ थिएँ ।’ भविष्यमा नेपालमै केहि व्यवसाय गर्छु भन्ने मेरो योजना थियो, उनी सुनाउँछन् । आफ्नो वुवाको काम गर्ने शैली देखेर व्यवसाय गर्ने शौख पलाएको थियो, दिकेश भन्छन् ।
प्रविधिमा आधारित व्यापार भएकाले सामसुङमा सधैं चनाखो रहनु पर्छ । गत बर्षसम्म सामसुङ स्मार्टफोन सिरिजमा कोहि प्रतिश्पर्धी नरहेकोमा अहिले बजारमा धेरै कम्पनीका उत्पादन आइसकेका छन् । ‘मध्यम र उच्चकोटीका फोनमा हामीलाई त्यत्रो चुनौती छैन’ उनी भन्छन् ‘तर, सस्ता स्मार्टफोनमा प्रतिश्पर्धी थपिएका छन् ।’ त्यसैले बजारमा कसरी अब्बल रहि रहने भनेर अध्ययन अनुसन्धान गरि योजना बनाउन टिम नै खडा गरेका छन् । मसँग नेपालमा विक्री हुने सबै मोवाइल कम्पनीका स्थानीय कर्मचारीको कुल संख्याभन्दा ठूलो टीम छ, दिकेश भन्छन् ।
उनैले हरेक प्रोडक्टमा अलग/अलग ढंगको ब्रान्डिङ र मार्केटिङ योजना अघि बढाउन थालेका छन् । कुनै मासिक किस्तावन्दीमा, कुनैमा पुरक उपहार लगायतका स्किम रणनीतिकै रुपमा सामसुङ मोवाइलले सुरु गरेको छ । मुल्य तय हुँदा चलि आएको ‘मार्जिन’मा मात्र आधारित नभइ भारतको समेत अधिकतम खुद्रा मुल्य (एमआरपी) हेरेर निर्णय लिने गरेको उनी बताउँछन् ।
टिमले निकालेको निश्कर्षका आधारमा सन् २०१४ लाग्ने वित्तिकै जनवरीमा सामसुङले सबै मोवाइलमा मुल्य घटाएको छ । यो रणनीति बजारमा सफल देखिएको उनको अनुभव छ । ‘अरु देशको मुल्यसँग तुलना गर्दा नेपालमा सामसुङ फोनहरुको मुल्य केहि महङ्गो देखिन्थ्यो’ उनी भन्छन् ‘अहिले हामी विदेशकै तहमा तथा कतिपय मोडलको मूल्य त्योभन्दा पनि सस्तो राखेका छौं ।’
भर्खरै सार्वजनिक गरिएको एस फाइभको एमआरपी ७६ हजार राखिएको छ । जुन, अरु धेरै देशभन्दा कम रहेको उनी बताउँछन् । विदेशमा लामो समयदेखि चले पनि नेपालमा प्रभावकारी नदेखिएको प्रि वुकिङ समेत एस फाइभमा सफल भएको दिकेशको अनुभव छ । सार्वजनिक गर्नु अगावै तीन सयभन्दा बढि फोन वुकिङ भएका थिए । प्रविधिमा आधारित व्यापार र त्यसको ब्रान्डिङमा यस्ता नयाँ प्रयोगले उनलाई उत्साहित बनाएको छ । नेपालमा पनि टिमले गरेको अध्ययनबाट नयाँ नयाँ कुरा ल्याउने गरेको र यो बर्षको एक÷दुई महिना सम्म नै नविन कुरा आउने क्रम चलि रहने उनको भनाइ छ ।
सामसुङ अब्बल बनाइ रहन उनले अधिकतम समय दिइ रहेका छन् । व्यवसायमा त्यस बाहेक थप योजना तत्काल नबनाएको उनी सुनाउँछन् । ‘मोवाइल फोन विश्वमै तिब्र गतिमा अघि बढि रहेको प्रविधि हो’ उनी भन्छन् ‘यसप्रति मैले थोरै मात्रै वेवास्ता गरे पनि समस्या आउन थाल्छ, त्यसैले पुर्णकालिन रुपमा यसमा लागेको छु ।’
ज्वेलरी, हाउजिङ लगायत अरु पारिवारिक व्यवसाय बुवाले नै ‘ह्यान्डल’ गर्ने हो । व्यवासयमा तत्काल अरु योजना नबनाए पनि सामाजिक काममा उनले संलग्नता बढाएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वका लागि गत वर्ष डिएम फाउन्डेसन स्थापना गरि त्यसको निर्देशक तथा प्रमुख कार्यकारी पनि उनी बनेका छन् । यो फाउण्डेशनले विद्यार्थीलाई छात्रबृत्ति लगायतका सहयोग प्रदान गर्दै आएको छ ।
सम्भवको डिजिटल दौड
कान्तिपुर पब्लिकेशन देशको नम्बर एक मिडिया हाउस हो । २०४९ सालमा जन्मिएको कान्तिपुरभन्दा दुई वर्ष जेठा छन् सम्भव सिरोहिया । बुवा कैलाशको नेतृत्वमा कान्तिपुरको साविक काममा उनलाई सिमित हुन मन लागेन । उनले नयाँ बाटो रोजे । कान्तिपुर २२ औं बर्ष प्रवेश गरेको अवसरमा ७ फागुनदेखि सञ्चालनमा आएको कान्तिपुर डिजिटल कर्पमा उनी प्रमुख सञ्चालन अधिकृत छन् ।
जसले, कान्तिपुर मिडिया ग्रुप अन्तर्गत मल्टिमिडिया सम्बन्धि सबै काम हेर्ने गर्छ । त्यहि बेला सार्वजनिक गरिएको कान्तिपुर मिडिया ग्रुपको मोवाइल एप्लिकेसन (केएमजी)देखि अनलाईन संस्करण, कान्तिपुर समूहको प्रवद्र्धन गर्ने युट्युव, ट्विटर, फेसवुक पेज जस्ता सामाजिक सञ्जाल पनि कर्प अन्तर्गत छन् ।
कान्तिपुर दैनिक ल्याउँदा जसरि निजी लगानीकर्ताले जोखिम मोलेर सञ्चार व्यवसाय सुरु गरेको थियो त्यसैगरि भोलिको युग सूचना प्रविधि हो भन्ने बुझेर आफुले कर्प सुरु गरेको उनी बताउँछन् । ‘त्यतिवेला पनि घाटा खान किन पेपर खोलेको भन्ने थिए होलान्’ उनी भन्छन् ‘तर, हाम्रो अध्यक्षले समस्याको बिचमा सम्भावना देखेर नै कान्तिपुरका लागि ‘इनिसिएट’ लिनु भयो र अहिले कर्प पनि त्यहि चुनौती बिचको अवसर हो ।’
समाजले मागे पछि त्यता जानुभन्दा समाजका लागि माग सिर्जना गर्नु उनी महत्वपुर्ण ठान्छन् । भविष्यमा सबथोक डिजिटल हुन्छ भन्नेमा उनी ढुक्क छन् र त्यसका लागि आजदेखि उनी जग हाल्दैछन् ।
अहिले नै डिजिटल प्रविधि प्रतिको चाहना बढ्दो छ । ‘केएमजी सार्वजनिक गरेको तीन साता भित्र ८० हजार डाउनलोड भयो’ उनी भन्छन् ‘र, छिट्टै हामी एक लाख डाउनलोड छुँदैछौं ।’ डाउनलोड गरेर प्रयोग पनि निरन्तर बढि रहेको उनी सुनाउँछन् । यी अनुभवका आधारमा १५ देखि १८ बर्षसम्म कान्तिपुर दैनिकको अहिलेकै बजार कायम रहे पनि त्यस पछि डिजिटलले उछिन्ने उनको विश्वास छ ।
यो बिचमा उनलाई विदेश पढ्न जाने अवसर आयो । वेलायतको भिसा लागि सकेको थियो । उनलाई भने नेपाल छोड्न मन लागेन । उड्ने दुई दिन अघि अविभावकलाई मनाए र त्यता गएनन् । त्यसपछि अष्ट्रेलिया पढ्न जाने तयारी भयो । गए । तर, छ महिना भन्दा बस्न मन लागेन ।
‘मलाइ नेपाल सम्झेर सारै छटपटि लाग्थ्यो’ उनी सम्झन्छन् ‘मैले धेरै अवसर छुटाइ सकें जस्तो लाग्यो त्यसैले फर्किएँ ।’ काम भने पछि म सानैदेखि हुरुक्क हुन्थें उनी भन्छन्, म अहिले त्यसलाई सम्भावनामा बदल्दै छु । स्कुलमा छँदा समेत फुर्सद मिल्दा कान्तिपुरका विभिन्न शाखामा ‘इन्टर्न’ गर्थे । ‘मार्केटिङमा इन्टर्न गर्दा मलाइ क्लिक भयो’ उनी सुनाउँछन् ‘यो क्षेत्र अरु भन्दा रमाइलो लाग्यो र भविष्यमा जे गरे पनि यहि क्षेत्रमा गर्छु भन्ने आत्मविश्वास बढ्यो ।’ उनले इभेन्ट म्यानेजमेन्ट कम्पनी पाटी नेपालमा पनि केहि समय काम गरे ।
नेपालमा अरु कारणभन्दा पनि यहाँको अवसरले मलाई तानेको छ, सम्भव भन्छन् । विषेश गरि सूचना प्रविधिमा नेपालमा अथाह सम्भावना छ । नेपाल उद्योग बाणिज्य महासंघले मलेसियाका पुर्व प्रधानमन्त्री महाथिर विन मोहम्मदको प्रमुख आतिथ्यमा अघिल्लो महिना आयोजना गरेको विजनेश कन्क्लेभमा समेत नेपालमा सूचना प्रविधिको सम्भावना बारे उनले ‘प्रिजेन्टेशन’ दिएका थिए । त्यसपछि चीन, जर्मनी लगायत मुलुकबाट समेत आएको प्रतिक्रियाले उनलाई झनै उत्साहि बनाएको छ ।
उनी सूचना प्रविधि र मार्केटिङलाई एकसाथ लैजान अभियानमा छन् । त्यसैको कडि हो, एसियन डिजिटल मार्केटिङ प्रालि । एसियन डिजिटलले अहिले मोवाइल एप्लिकेसन क्यास अन एडको नेपालमा मार्केटिङ गरिरहेको छ । ‘फुलफ्लेज्ड मिडिया सर्भिस’ दिने अभिप्राय अन्तर्गत यस्ता सेवा थप गरेको उनी बताउँछन् ।
सम्भव नेपाल भेन्चर प्लस नामको नयाँ परियोजनाको पनि तयारीमा छन् । सन् २०१४ भित्रै त्यसलाई ल्याउन आफू लागि परेको उनी सुनाउँछन् । ‘नेपालमा क्रिएटिभ जनशक्तिले बिभिन्न सिर्जनात्मक एप्स तथा सफ्टवेयर विकास गर्दै आएका छन्’ उनी भन्छन् ‘तर, उनीहरुले पाउनु पर्ने प्लेटफर्म पाएका छैनन् किनभने त्यसलाई चाहिने बजार खोज्ने आइडिया उहाँहरुसँग नहुन सक्छ ।’ यस्ता उत्पादकहरुलाई स्वदेश तथा विदेशको बजार खोजिदिन नेपाल भेञ्जर प्लसको ‘कन्सेप्ट’ आएको हो । यसलाई एक सामाजिक उद्यमको रुपमा अघि बढाउने उनको सोंच छ । ‘हामी पहिला सूचना प्रविधिसँग सम्बन्धि स्थानीय स्रोतको खोजि गर्छौं’ उनी भन्छन् ‘त्यसपछि तीन महिना ग्रुमिङ गरि लगानीकर्ताको अगाडी उभ्याइ दिन्छौं ।’
नेपाली ‘रिसोर्स’मा आधारित भएर अन्र्तराष्ट्रिय बजार हासिल गर्ने उनको सपना छ । मिडियाबाट बाहिर निस्केर आफुहरुले दुई बर्ष अघि सुरु गरेको इ–कमर्स एस कान्तिपुरले एउटा गति लिइ सकेको र अब त्यसलाई विस्तार गर्ने अभियानमा आफूहरु लागेको उनी बताउँछन् । त्यस मार्फत नेपालका कृषि उत्पादन हुन् वा हस्तकला या सूचना प्रविधि नै किन नहोस अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनको अठोट छ । ‘एस कान्तिपुरमा मेरो दिर्घकालिन सोच नेपाली उत्पादन विदेश निर्यात गर्नु नै हो’ उनी भन्छन् ।
गौरवको सपना नेपालभर चेन होटल
नेपालमा पर्यटनको जति सम्भावना छ त्यसलाई ट्याप गर्ने पुर्वाधार र सेवा सुविधामा लगानीकर्ताको उति नै अभाव पनि छ । यस्तोमा एक तन्नेरीले सपना देखेका छन् राजधानीमा तीन सहित देशभर होटल चेन निर्माण गर्ने र पर्यटकलाई उच्चकोटीको सुविधा दिने । त्यसका लागि राजधानीमा एउटा तीन तारे होटल निर्माण सुरु भइ सकेको छ भने अन्तराष्ट्रिय होटल चेन म्यारियटको कोर्टियाड र फेयरफिल्डसँगको सहकार्यमा अर्को पाँच तारेको डिजाइन अन्तिम चरणमा छ ।
वेलायतका बैंकमा राम्रा जागिरको अवसर छोडेर गौरभ अग्रवाल नेपाल फर्किएको एक दशक छेउछाउ पुगि सकेको छ । उनको सुरु देखिकै सपना व्यवसायमा लाग्नु थियो । ‘व्यवसाय गर्ने र त्यो पनि नेपालमै भनेर निर्णय गर्न मलाई कुनै कठिन थिएन’ उनी भन्छन् । एकदेखि १० कक्षा सम्म भारतीय स्कुलमा तथा त्यसपछि स्नातकसम्म वेलायलमा पढे पछि भविष्य र करियरको खोजि गर्दै उनी नेपाल आएका हुन् ।
वेलायतबाट फर्किए पछि अग्रवालले केहि बर्ष परिवारकै पुख्र्यौली व्यवसायमा सघाए । उनले सुरुमा पारिवारिक रुपमा अघि बढाएको हाउजिङ परियोजना हेरे । विराटनगरमा रहेको चकलेट र सावुन उद्योग उनले अहिले पनि हेरि रहेका छन् । पछिल्ला दुई बर्षदेखि उनले आफ्नो सपना अनुरुप नै होटल प्रोजेक्ट अघि बढाएका गौरव एमएस समुह अन्तर्गत नेपाल हस्पिटालिटीको प्रबन्ध निर्देशक छन् । एमएस समुह ‘लो प्रोफाइल’मा बसेर उद्योग गर्ने व्यवसायीक घरानाको पृथक पहिचान बनाएको छ ।
मौन प्रगतिमा रमाउने अभिक
एनजिएमका ‘कि म्यान’ हुन् अभिक ज्योती । अभिक हिरो प्रबद्र्धकको विश्वास जित्न सफल भएका छन् । बुवा रुप अध्यात्ममा बढि तल्लिन छन् । त्यसैले अभिकले सानैदेखि बुवाको काम हेर्न थाले । एक दशक अघि अमेरिकाबाट एमएस सकेर फर्के लगत्तै पारिवारिक व्यवसायमै उनी रमाए । हिमाल आइरनको मार्केटिङ हेर्नेदेखि बन्द भएको ज्योति स्पिनिङ मिल्सको पुनः सञ्चालनसम्म घोत्लिएका छन् उनी
—