BIZMANDU
www.bizmandu.com

आपसमा आँखा पनि नजुधाइ महासंघ अध्यक्षका प्रत्याशीले भने–प्रजातान्त्रिक प्रकृयामा नेतृत्व

२०७० चैत्र २५

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा आगामी कार्याकालका लागि अध्यक्षका दुबै जना प्रत्याशीले आर्थिक सम्मृद्धिलाई चुनावी एजेन्डा बनाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार विहान आयोजना गरेको ककसमा अध्यक्षका प्रत्याशी भाष्करराज राजकर्णीकार र प्रदिपजंग पाण्डेले निजी क्षेत्रको सशक्तीकरणनै आफुहरुको मुल मुद्दा भएको बताए । खासै फरक चुनावी अजेन्डा प्रस्तुत गर्न नसकेका दुबै प्रत्याशीले प्रजातान्त्रिक प्रकृया अनुसार निर्वाचनबाट आफै नेतृत्वमा चुनिने दावी गरे ।
राजकर्णीकारले वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने अलिखित सहमति रहेको र त्यस अनुरुप आफुलेनै संस्थालाई हाँक्न पाउनु पर्ने दाबी गरे । उलने आफुले जितेमा ‘विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्ष खुला निर्वाचनबाट आउने र दोस्रो कार्याकालमा स्वतः अध्यक्ष हुने’ प्रावधान लागु गर्ने बताए । महासंघ इतिहासमा प्रदिपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठबीच हुन लागेको निर्वाचनमा आफूले सहमित गराएको दाबी गर्दै उनले अहिले पनि त्यस्तै मेलमिलाप गराउने व्यक्तिको खाँचो रहेको बताए ।

पाण्डेले विधानमा कहि पनि वरिष्ठ उपाध्यक्ष मात्र अध्यक्ष हुने व्यवस्था नरहेको र संस्थालाई बलियो पार्न कतिपय अग्रजहरुले त्याग समेत गरेको स्मरण गराए । चण्डीराज ढकाल दोस्रो कार्यकालका लागि उठ्न लाग्दा प्रथम उपाध्यक्ष रहेका दिवाकर गोल्छा बाहिरिएर कुशकुमार जोशीले उम्मेद्वारी दिएको उल्लेख गर्दै अहिले पनि वरिष्ठ उपाध्यक्षले त्याग गर्न सक्ने उनले बताए । सबैले सहमति गरे आफू वाधक नहुने उनले जनाए ।
बोलीमा एक अर्काबीच गम्भिर घोचपेच नगरे पनि मञ्चमा आमसामने बसेका राजकर्णिकार र पाण्डेले आँखा जुधाएर हेराहेर गरेनन् । दुबै उम्मेद्वार बोलेका बेला दर्शकदीर्घामा हेर्थे भने सुन्नु पर्दा भुइँ तिर आँखा लगाउँथे । राजकर्णिकार आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेद्वार पशुपति मुरारका र एसोसिएट उपाध्यक्ष उम्मेद्वार शेखर गोल्छा सहित कार्यक्रममा पुगे भने पाण्डेको प्यानलका वस्तुगत उपाध्यक्ष उम्मेद्वार दिनेश श्रेष्ठ उपस्थित थिए । सदस्यका प्रत्याशी अञ्जन श्रेष्ठ, साहिल अग्रवाल सहित दर्जन भन्दा बढि उद्योगी व्यवसायी वहस सुन्न आएका थिए ।
राजकर्णीकार र पाण्डे दुबै जना कुशकुमार जोशी अध्यक्षमा निर्वाचत हुँदा महासंघको उपाध्यक्ष चुनिएका हुन् । पाण्डेले उपाध्यक्षमै दुई कार्याकाल बिताए भने राजकर्णीकार एक कार्यकाल उपाध्यक्ष भए पछि सुरजवैद्यको प्यानलबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित बने । अध्यक्ष, उपाध्यक्ष र कार्यकारी सदस्य निर्वाचनबाट सिधै चुनिन्छन् भने कार्य समितिले निर्वाचित सदस्यहरु मध्येबाट वरिष्ठ उपाध्यक्ष छान्ने प्रावधान छ । २९ चैतमा महासंघको ४८ औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ ।
निर्वाचनका साविक अजेण्डा बाहेक सेजन ककसमा विदेशमा नेपाली व्यवसायीले लगानी गर्न पाउने÷नपाउने विषयमा समेत वहस उठ्यो । दुबै अध्यक्षका प्रत्याशीले विदेशमा लगानीलाई सैद्धान्तिक समर्थन गरे पनि घुमाउरो दृष्टिले फरक धारणा राखेका छन् ।

Tata
GBIME
Nepal Life

चोरबाटोबाट विदेशमा लगानी गर्नेलाई संरक्षण गरिन्न
भाष्करराज राजकर्णिकार
मैले निर्वाचन अभियानलाई कम भड्किलो बनाउने प्रयन्त गर्दै आएको छु । निर्वाचन गए पनि महासंघलाई कम भन्दा कम क्षती पुगोस् भनेर म प्रतिबद्ध छु । मेरो पहिलो मुद्दा नै निजी क्षेत्रको सशक्तिकरण रहेको छ । निजी क्षेत्र मुलुकको आर्थिक विकासको नेतृत्व लिन सक्छ भन्ने यथार्थलाई म थप पुष्टि गरेर देखाउन चाहन्छु ।
अहिले महासंघमा ९३ वटा जिल्ला नगर उद्योग बाणिज्य संघ आवद्ध छन् । यिनीहरु सबैलाई समेटेर एकमुष्ट चेम्बर कानुन निर्माणका लागि लविङ गर्नेछु । एसोसिएट वा वस्तुगत सदस्य वा जिल्ला नगर उद्योग बाणिज्य संघको नेतृत्वमा बस्नेलाई मात्र होइन कैलालीमा रिक्सा चलाएर स्वरोजगारी गर्ने जस्ता आम व्यवसायीको पनि साझा थलो महासंघ हो भनेर प्रत्याभुत गर्न चाहन्छु म । साथै छ महिना भित्र विधान संसोधन गरि महासंघमा वरिष्ट उपाध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने र उ दोस्रो कार्याकालका लागि अध्यक्षमा स्वतः चुनिने व्यवस्था गर्न लागि पर्नेछु ।
अझै पनि व्यवसायीक वातावरण र निजी क्षेत्र मैत्री पुर्वाधार निर्माणमा राज्यपक्षबाट कमि कमजोरी भइ रहेका छन् । सम्पत्ति शुद्धिकरण निवारण जस्ता ऐनहरु रातारात आउन सक्छन् तर विद्युत, उद्योग सँग सम्बन्धित ऐनहरु त्यसै अड्किएर बसेका छन् । त्यसैले लगानी तथा उद्योग व्यवसाय मैत्री ऐन तत्काल पारित गराउन निरन्तर लविङमा रहनेछु ।
नेपाली पुँजी देशबाहिर लगानी गर्ने जस्ता मुद्दा पनि अहिले जल्दो बल्दो रुपमा रहेका छन् । लगानी भनेको पानी जस्तो हो जहाँ भिरोलो हुन्छ त्यहाँ बग्छ भनेर नेपाल उद्योग बाणिज्य महासंघले भन्दै आएको छ । त्यसैले लगानी, सिप, क्षमता र प्रतिश्पर्धा रोक्न सकिँदैन । यो अवस्थामा अहिले हामी वैदेशिक लगानी ऐन वनाउने चरणमा छौं । त्यसको मुख्य उध्येश्य भनेको स्वदेशमै वार्षिक साढे चार लाख रोजगारी सिर्जना गर्नु हो । त्यसका लागि चीन, भारत जस्ता छिमेकी तथा अन्य मुलुकबाट समेत लगानी आकर्षित गर्ने हाम्रो चाहना रहेको छ । हो त्यहि विदेशी लगानी ऐनमा एउटा बुँदा थपेर नेपालबाट समेत विदेशमा पैसा लगानी गर्न पाइनेछ भन्ने व्यवस्था राखियो भने त्यो प्राविधिक रुपमा सहि हुँदैन ।
यसो भन्दैमा नेपाल उद्योग बाणिज्य महासंघ र नेपाली निजी क्षेत्र विदेशमा लगानी गर्न दिनु हुँदैन भन्ने संकुचित मानसिकता बाट ग्रस्त छैन । हामीसँग प्रतिश्पर्धी क्षमता भएका कतिपय उद्योगहरु छन् जसलाई बाहिर लैजान जरुरी छ । म, पुँजीको मात्र कुरा गर्दिन, क्षमता, ब्रान्ड र सिप सबैको कुरा गर्छु । यिनीहरुलाई बाह्य प्रतिश्पर्धी बजारमा लैजानै पर्छ । तर, डेढ दशककको द्वन्द, छ बर्षको अस्थिर राजनीति, अगाडीको अन्यौलता र अहिलेको हाम्रा अर्थतन्त्रका परिसुचकहरुले तत्काल नेपालमा पुँजीको आवश्यकता छ भन्ने देखाएका छन् । त्यसैले नेपालमा पुँजी भित्र्याउने काम गर्नु पर्छ । तत्काल पुँजी बाहिर लैजाने बाटोमा लागि हाल्नु हुँदैन ।
नियम र वैधानिकताको अभावमा जसरी चोरबाटोबाट विदेशमा लगानी गरिरहेका छन् र विदेशमा लगानी गइरहेको छ । अथवा, विदेशमा लगानी गरेर नै सम्पत्ति आर्जन गर्ने त्यस्ता स्वदेशी पुँजीपति कोही छन् भने तिनका पक्षमा उभिनु पर्छ भन्ने मलाई लाग्दैन । मेरो व्यक्तिगत मान्यता के छ भने कमसे कम २१ औं शताब्दिमा लगानीकर्ता र उद्योगीहरुले आफुलाई त्यो पक्षमा इमान्दारी साथ उभ्याउन सक्नुपर्छ ।
नयाँ बन्ने संबिधानमा दुई तीन वटा कुरा प्रत्याभुत गर्नै पर्नेहुन्छ । आर्थिक स्वतन्त्रता र निजी सम्पत्ति राख्न पाउने अधिकार हाम्रो मौलिक हकको रुपमा स्थापित हुनु पर्छ । श्रम र लगानी बिचको सन्तुलन कायम राख्ने विषयलाई पनि मुलभुत अर्थतन्त्रका रुपमा संबिधानमा लिपिबद्ध गर्न सक्नु पर्छ ।
४८ औं वार्षिक साधारण सभा गर्दै गर्दा अबको कार्यकाल ४९ औं, ५० आंै र ५१ औं तीन बर्षको हो । यो तीन बर्षको कार्याकालमा म महासंघको संगठित निजी क्षेत्रको ५० औं वर्षगाँठको रुपमा मनाउन चाहन्छु र यसमा म निजी क्षेत्रको सशक्तिकरणलाई जोड्न चाहन्छु । तीन वर्ष हामी उत्सव मनाउँछौं तर निजी क्षेत्रको शक्तिकरण सँगसँगै ।

विदेशमा विज्ञता अनुसारको लगानी गर्न दिनु पर्छ
प्रदिपजंग पाण्डे
मुलुकको अर्थतन्त्रमा ७२ प्रतिशत योगदान गर्ने निजीक्षेत्र अहिले उपेक्षित छ । त्यसैले आर्थिक जागरण मेरो मुल मुद्दा हो । अहिले पनि २२ वर्ष पुरानो औद्योगिक ऐन अनुसार चल्न हामी बाध्य छौं । नयाँ ऐनको तयारी गरिए पनि त्यो संसदमा थन्किएको छ । लोडसेडिङ, पुर्वाधार अभाव लगायतका कैयन् मुद्दामा निजीक्षेत्र रुमलिन बाध्य छ । त्यसैले उद्योग व्यवसाय मैत्री वातावरण निर्माणका लागि म हरसम्भव प्रयास गर्नेछु ।
सबै व्यवसायी साथीहरुको जुन रोदन र क्रोदन छ त्यो मेरो रोदन हो । म पनि विभिन्न उद्योगबाट फरक फरक अनुभव लिएर आएको व्यक्ति हुँ । उद्योगका समस्या मलाई थाहा छन् । तिनै समस्याको अनुभव व्यहोर्दै विमा र बैंकिङ जस्ता क्षेत्रमा लागेका छु । तर, सेवामा केन्द्रित हुनु भन्दा उद्योगमा लगानी बढोस्, स्वदशमै उत्पादन बृद्धि होओस्, स्वदेशी लगानी बढ्यो भने विदेशी लगानी स्वतः आउँछ, स्वदेशी लगानी नबढुन्जेल विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहन्छन् ।

स्वदेशमा लगानी भित्र्याउने सँगै विदेशमा नेपाली लगानीकर्तालाई अवसर सिर्जना गर्ने लगायतका विषय पनि अहिले चर्चामा छन् । वास्तवमा कुनै पनि संकृण सोचबाट मुक्त हुनुपर्छ । महासंघको दायरा जति फराकिलो छ हाम्रो मन पनि उतिनै फराकिलो हुनु पर्छ । एउटा हाम्रो पैशा वाहिर जानु हुन्न बन्नेहरुको मत पनि बलियो छ । तर, विगत एक बर्षलाई मात्र मुल्याङ्कन गरौंन, कति पैसा बाहिर गयो होला ? विद्यार्थी पढ्नको लागि, औषधि उपचारको लागि र यहाँ आएको लगानीले लाभांशको रुपमा कति बाहिरिएको छ, हेरौंन । त्यहिँ निर हामीले बाहिरबाट कति पैसा भित्र्याउन सक्यौं त्यो पनि हेरौं ।
त्यसैले विदेशमा लगानी गर्न पाउने/नपाउनेबारे मेरो फरक धारणा छ । कुनै एउटा विज्ञता छ स्कुल/कलेजको, कुनै एउटा विज्ञता छ सिमेन्ट वा अरु कुनै क्षेत्रमा विज्ञता भएको होस् । बिभिन्न पेशाका विज्ञहरुले विदेशमा आफ्नो विज्ञता अनुसारको लगानी गर्न पाउनु पर्छ । जस्तो कोहि ‘कन्ट्रक्याटर’ छ र उसले अरबमा कन्ट्रयाक्ट लिएको छ भने त्यो अवस्थामा इन्जिनियिर पनि जाने भए, मजदुर पनि जाने भए साथै लगानीकर्ताले केहि लगानी लगेर आर्जन गरेको रकम त स्वदेशमै आउने हो नि । त्यसैले आफ्नो फिल्डमा भएको विज्ञता अनुरुपको लगानी विदेशमा गर्न दिनु पर्छ भन्ने मेरो भनाइ हो ।
त्यस्तै शिक्षाका विज्ञहरुले चाइना गएर स्कुलरकलेज खोल्न सक्छन् । मेरो औषधि उद्योग छ, मैले म्यानमार गएर औषधी उत्पादन गर्नसक्छु । किनभने त्यहाँ सम्भावना बढि छ । आठ/नौ वटा मात्र औषधी उद्योग छन् । त्यस्तै यहाँका सफल सिमेन्ट उद्योगीहरुले बाहिर गएर आफ्नो विज्ञता प्रस्तुत गर्न सक्छन् । कतिले अनौपचारिक रुपले गरेका पनि छन् । कतिले बाहिर गएर होटल खोलेका छन् । तर, त्यसरि विदेशमा गएर गरेको काम संस्थागत हुन सकेन । त्यसरि संस्थागत नहुँदा आर्जन गरेको रकम समेत धम फुकाएर मुलुकमा ल्याउने अवस्था भएन । त्यसैले स्विकृती लिएर विदेशमा लगानी गर्न दिएर प्रतिफल देशमा ल्याउने वातावरण सिर्जना गरिनु पर्छ ।
म धेरै नवोल्ने र वोलेको पुरा गर्ने संकल्प सहित निर्वाचन अभियानमा होमिएको छु । महासंघलाई गतिशिल नेतृत्व दिने मेरो प्रयन्त हो । अहिले महासंघको ढाँचा तथा आधार नै कमजोर भएको छ । महासंघमा भएका राम्रा कुरालाई संस्थागत गर्दै छुटेका काम गर्दै संस्थाको आधार बृहत बनाउन लागि पर्नेछु । महासंघ सबै पेशाका उद्योगी व्यवसायीको आफ्नै घर बन्न सकोस भन्ने मेरो अठोट रहेको छ ।
अहिले मुलुक १३ औं त्रिवर्षिय योजनाको पुर्व संध्यामा छ । नेपालको अर्थतन्त्र सबल बनाउन हाम्रा तर्फबाट के कस्ता सल्लाह सुझाव दिन सकिन्छ त्यसका लागि गृहकार्य गर्नेछौं । अझ पनि निजी क्षेत्र सम्पत्ति सम्बन्धि अधिकार र सम्पत्ति आर्जन गर्ने विषयमा द्विविधा छ । हरेक कोणबाट निजी क्षेत्र हतोत्साहित र मर्माहित छ । यो अवस्थाबाट मुलुकमा उत्पादन बृद्धि गर्न सकिँदैन । त्यसैले दिगो विकासको अवधारणा मैले उठाएको छु ।