BIZMANDU
www.bizmandu.com

प्रभु र किष्ट मर्जमा जाने, यसै आर्थिक वर्षमा एकीकृत कारोवार, मर्जपछि किष्ट प्रभुमा परिवर्तन

२०७० चैत्र २०

काठमाडौं । किष्ट बैंक र प्रभु विकास बैंक मर्जमा जाने भएका छन् । किष्ट र प्रभुवीचको मर्ज सम्झौतामा विहिवार साँझ हस्ताक्षर भएको छ । मर्जको समझदारीका विषयमा दुवै बैंकले शुक्रवार केन्द्रिय बैंकलाई जानकारी दिने छन् भने आइतवारबाट सेयर कारोवार रोक्का हुनेछ ।

यसै आर्थिक बर्ष भित्र एकिकृत कारोवार गर्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको, संयुक्त मर्जर समितिको तर्फबाट संयोजक राजगोपाल राजभण्डारीले जारी प्रेस विज्ञप्तिमा छ । मर्जर समितिमा प्रभु बिकास बैंकका तर्फबाट संचालक एवं मर्जर कमिटिका संयोजक रामेश्वर सापकोटा र किस्ट बैंकका तर्फबाट संचालक एवं मर्जर कमिटिका संयोजक बिष्णुगोपाल श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
किष्ट बैंक र प्रभु विकास बैंक केही समयदेखि मर्जको तयारीका थिए । मर्ज गर्नका लागि किष्ट बैंकको बहुमत सेयर प्रभु समूहले खरिद गरेकाे छ । किष्टका मुख्य लगानीकर्तामध्ये कमल ज्ञवालीले सेयर विक्रि गरेका छन् ।
मर्जकै तयारी स्वरुप प्रभु समूहबाट किष्ट बैंकमा चार सञ्चालक नियुक्त भएका छन् भने प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृत पनि नियुक्त गरिएको छ । किष्ट बैंकमा कुमार लम्साललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ भने प्रभु विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका अशोक शेरचनलाई नायव प्रमुख कार्यकारी अधिकृत बनाइएको छ ।

मर्जपछि बैंकको नाम प्रभु बैंक लिमिटेड रहने पनि मर्जर समितिले जारी प्रेस विज्ञप्तिमा छ । किष्ट बैंकको पछिल्लो वित्तीय विवरण, भविष्यमा हुन सक्ने सम्भावित कारवाहीलाई ध्यानमा राखेर प्रभु बैंक राख्ने सहमति भएको विज्ञप्तिमा छ ।
किष्ट बैंकसँग दुई अर्ब रुपैयाँको चुक्ता पुँजी छ, त्यसैगरी प्रभु विकास बैंकसँग साढे ७६ करोड रुपैयाँको चुक्ता पुँजी छ । प्रभु फाइनान्समा वैभव फाइनान्स र समृद्धि विकास बैंकलाई मर्ज गरेर गतवर्ष प्रभु विकास बैंक निर्माण गरिएको हो । किष्ट र प्रभु मर्जपछि बन्ने बैंक शाखा सञ्जालका हिसावले देशकै ठूलो निजी बाणिज्य बैंक बन्ने छ ।
दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार प्रभु विकास बैंकसँग अहिले दश अर्ब रुपैयाँ निक्षेप छ भने किष्ट बैंकसँग १९ अर्ब ४० करोड रुपैयाँ निक्षेप छ । त्यसैगरी प्रभुले सात अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने किष्टले १५ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ ।
दोस्रो त्रैमासमा किष्ट बैंक १९ करोड ८८ लाख घाटामा छ भने प्रभु पाँच करोड ७५ लाख रुपैयाँ मुनाफामा छ । बिहिवार नेपाल स्टकमा किष्ट बैंकको प्रति सेयर २०७ रुपैयाँमा कारोवार बन्द भएको छ भने प्रभुको २४० मा कारोवार बन्द भएको छ । अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई पनि मर्ज प्रक्रियामा संगसंगै लिएर जानका लागी बृहत मर्जरको ढोका खुल्ला राखिएको जानकारी बैंकले दिएको छ ।

Tata
GBIME
Nepal Life