BIZMANDU
www.bizmandu.com

खडेरीले खायो धान, उत्पादन घट्ने भएपछि सरकारले चामल निकासीमा प्रतिवन्ध लगाउने

२०६९ भदौ ६

खडेरीले खायो धान, उत्पादन घट्ने भएपछि सरकारले चामल निकासीमा प्रतिवन्ध लगाउने
खडेरीले खायो धान, उत्पादन घट्ने भएपछि सरकारले चामल निकासीमा प्रतिवन्ध लगाउने

काठमाडौ । खडेरीले उत्पादन घटेर भाउ आकासिने देखिएपछि सरकारले चामल निकासी रोक्ने भएको छ । सरकारले गतवर्ष धान उत्पादन बढेको भन्दै चामल निकासीको अनुमति दिने निर्णय गरेको थियो । कृषि मन्त्रालयको तथ्यांकका आधारमा चामल निकासी गर्न दिने निर्णय भएको थियो, वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, तर विश्वभर नै खडेरी लागेर खाद्यान्नको मूल्य आकासिएकोले अब निकासीलाई रोक्ने तयारी भएको छ ।
उनका अनुसार पहिला भएका निर्णय अनुसार १० हजार टन  चामल मात्रै चीनतर्फ निकासी हुनेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि मन्त्रालयले खाद्यान्न बचत हुने प्रतिवेदन दिएपछि एक महिना अघि चीनतर्फ चामल निकासी गर्न दिने निर्णय गरेको थियो । यही आधारमा मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट पाँच÷ पाँच हजार चामल निकासीको अनुमति मन्त्रालयले दिएको थियो । यसअघि सरकारले विश्वबजारमा खाद्यान्नको मूल्य आकासिएपछि तीन वर्षअघि खाद्यान्न निकासीमा प्रतिवन्ध लगाएको थियो ।
यो वर्ष विश्वबजारमै खाद्यान्नको मूल्य आकासिएको थियो भने धेरै मुलुकले खाद्यान्न निकासीमा प्रतिवन्ध लगाएर समस्याको समाधान खोजेका थिए । अमेरिकामा सबैभन्दा ठूलो घडेरी परेको छ । विश्वभरनै खडेरीका कारण मूल्यवृद्धि आकासिएको छ । नेपालमा पनि पछिल्लो समयमा खाद्यान्नको मूल्य अस्वभाविक रुपमा बढेको छ ।
विश्व खाद्य कार्यक्रमले भन्यो धान उत्पादन घट्छ
 मौसमले साथ दिंदा गत वर्ष धान उत्पादनमा रेकर्ड ब्रेक भएको थियो तर अहिले त्यही मौसमले साथ नदिएपछि धान उत्पादन घट्ने अनुमान संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्याक्रमको छ । गत वर्ष यही धान उत्पादन राम्रो हुँदा कृषितर्फको वृद्धिदर ४।९३ प्रतिशत पुगेको थियो, यसले आर्थिक वृद्धिदरलाई समेत बढाएको थियो तर यसपटक नेपालमा धान उत्पादन घट्ने भएको छ, त्यसले कृषितर्फको वृद्धिदरमा मात्र असर पार्ने छैन, पुरै आर्थिक वृद्धिदरलाई पनि सुस्त बनाउने पक्का छ ।
विश्व खाद्य कार्यक्रमले सोमवार सार्वजनिक गरेको ‘राइस मार्केट मोनिटर’ प्रतिवेदन अनुसार नेपालमा धानको उत्पादन तीन लाख मेट्रिक टनले घटने भएको छ । सन् २०११ मा नेपालमा ५१ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादन बढेपछि सरकारले सन् २००८ देखि रोक लगाएको चामल निकासीलाई खुला गरेको थियो । यही आधारमा नीजि क्षेत्रका केही कम्पनीले १० हजार मेट्रिक टन चामल चीन निर्यातका लागि सरकारसँग प्रस्ताव गरेका छन् । सरकारले अघिल्लो महिना ती कम्पनीलाई चामल निकासीको अनुमति दिएको छ । यस अघि नेपालबाट ५० हजारदेखि एक लाख मेट्रिक टनको निर्यात अनुमति दिने विषयमा नेपाली अधिकारीहरुले छलफल गरेको प्रतिवेदनमा उल्लेख छ ।
गतवर्ष ५१ लाख मेट्रिक टन धान अर्थात ३३ लाख मेट्रिक टन चामल उत्पादन भएको थियो । यो वर्ष त्यो घटेर ४८ लाख मेट्रिक टन धान अर्थात ३२ लाख मेट्रिक टन चामल उत्पादन हुने भएको छ ।
धान रोप्ने समयमा मनसुन सुरु नभए पछि त्यसको असर उत्पादनमा परेको हो, सोमवार सार्वजनिक प्रतिवेदनको एक अंशमा विश्व खाद्य कार्यक्रमले जानकारी दिएको छ । धान उत्पादन कम हुनुमा दोस्रो कारण रासायनिक मलको अभाव भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन भन्छ, धान उत्पादन कम हुनुमा देशको पश्चिमी हिस्सामा रासायनिक मलको उपलब्धता कम हुनु पनि हो । बम्पर धान उत्पादन भएपछि या वर्ष नेपालको आयात ६० प्रतिशतले घटेर एक लाख टन हुने अनुमान पनि कार्यक्रमको छ ।
नेपालमा सन् २००७ देखि सन् २००९ सम्म सरदर ४३ लाख मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङ्क छ । त्यसैगरी सन् २०१० मा ४५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । सन् २०११ मा बम्पर धान उत्पाद भएकै कारण नेपालमा तीन लाम मेट्रिक टन धान मौज्दात राखिएको थियो । सन् २०१२ मा धान उत्पादन घट्ने भएपछि सन् २०१३ का लागि मौज्दात एक लाख मेट्रिक टनले घटेर दुई लाख मेट्रिक टन मात्रै रहने अनुमान विश्व खाद्य कार्यक्रमले गरेको छ ।
मौसमले साथ नदिंदा नेपालमा मात्र होइन यो वर्ष भारतमा पनि धान उत्पादन कम हुने भएको छ । भारतमा ७८ लाख मेट्रिक टनले धान उत्पादन घट्ने अनुमान विश्व खाद्य कार्यक्रमको प्रतिवेदनले गरेको छ । विश्वमा यो वर्ष ७२ करोड ४५ लाख मेट्रिक टन धान ४८ करोड ८२ लाख मेट्रिक टन चामल उत्पादन हुनेछ । यो वर्ष गतवर्षभन्दा २२ प्रतिशतले कम पानी परेपछि धान उत्पादन घटेको कार्यक्रमको अनुमान छ । भारतमा धान उत्पादन घटे पनि चीनको मुख्यभूमीमा भने धान उत्पादन बढ्ने भएको छ । अफ्रिकामा पनि तीन प्रतिशतले धान उत्पादन बढ्नेछ, अष्ट्रेलियामा ३२ प्रशितले धान उत्पादन बढ्नेछ ।

Tata
GBIME
Nepal Life