BIZMANDU
www.bizmandu.com

पत्रकार सम्मेलनमा कर्मचारीले भने, केएफसी व्यवस्थापनसँग हाम्रो माग छैन्

२०६९ भदौ ५

पत्रकार सम्मेलनमा कर्मचारीले भने, केएफसी व्यवस्थापनसँग हाम्रो माग छैन्
पत्रकार सम्मेलनमा कर्मचारीले भने, केएफसी व्यवस्थापनसँग हाम्रो माग छैन्


काठमाडौं । एक साता अघि बन्द भएको केन्टुकी फ्राइड चिकेन (केएफसी) खोल्न आज व्यवस्थापन, कर्मचारी, श्रम कार्यालयका प्रतिनिधी र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीवीच संयुक्त बार्ता हुने भनिए पनि व्यवस्थापनले त्यसलाइ अस्वीकार गरेको छ । यसअघि सोमवारका लागि तय गरिएको बैठक सार्वजनिक विदाका कारण स्थगित गरिएको थियो । स्रोतका अनुसार महासंघले छलफलका लागि वार्तामा आउन व्यवस्थापन र मजदुरलाई आव्हान गरेको थियो । तर व्यवस्थापनले अस्वीकार गरेपछि समस्या सिर्जना भएको छ ।
यस अघि शुक्रवार बिहान ११ बजे तय गरिएको बैठकमा मजदुर, श्रम कार्यालयका प्रतिनिधी र महासंघ प्रतिनिधी आए पनि व्यवस्थापनबाट प्रतिनिधित्व नभएपछि स्थगित गरिएको थियो । शुक्रवार महासंघका प्रतिनिधीहरुले व्यवस्थापनलाई वार्तामा बस्न राजी गराएपछि अर्को बैठक बस्ने भन्दै निस्किएका थिए ।  देवायानी इन्टरनेशनल अन्तर्गत रहेका केएफसी, पिज्जा हट, पिज्जा हट डेलिभरी र क्रिमवेल रेष्टुरेण्ट एक सातादेखि बन्द छन् ।
उता मजदुरहरूले भने व्यवस्थापन पक्षमाथि हातपात नगरेको जानकारी दिएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेर तत्कालका लागि युनियन गठन बाहेकको कुनै संघर्षका कार्यक्रम नभएको जानकारी पनि दिएका छन् । युनियन गठन प्रक्रिया सुरू गरेपछि व्यवस्थापनले अनिश्चकालकालागि रेष्टुरेन्ट बन्द गरेको जानकारी पनि उनीहरूले पत्रकार सम्मेलनमा दिएका छन् ।
विवाद के हो ?
केएफसी व्यवस्थापनले मंगलवार प्रेस वक्तव्य जारी गर्दै भनेको थियो, मजदुरले प्रवन्धकमाथि हातपात र दुरव्यवहार गरे, त्यसै कारण कम्पनी अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । मजदुरहरुले भने व्यवस्थापक माथि कहिल्यै र कहिं पनि दुरव्यवहार नभएको दावी गरेका छन् ।
मुल विवाद कम्पनीमा ट्रेड युनियन दर्ता प्रक्रिया सुरु भएपछि भएको हो, कर्मचारी स्रोतले भन्यो । ट्रेड युनियन दर्ता भएपछि व्यवस्थापनले एकतर्फी ताला लगाएको हो, ताला अझै खुलेको छैन, स्रोतले भन्यो ।
वैद्य माओवादी निकटका मजदुरहरुले केफएसी, पिज्जाहट र क्रिमवेलको सञ्चालन कम्पनी देवयानी इन्टरनेशनलमा मजदुर संगठन दर्ता प्रक्रिया सुरु गरेका थिए । मजदुर संगठन दर्ता गर्न उनीहरुले ६७ जनाको हस्ताक्षरसहितको कागजात श्रम कार्यालयमा बुझाएका थिए ।
श्रम कार्यालयबाट मजदुर संगठनको दर्तासमवन्धी प्रमाणपत्र आउनै लाग्दा व्यवस्थापनले देवयानी इन्टरनेशनल बन्द भएको घोषणा गरेको थियो । यसअघि उनीहरुले २०६८ चैतमा पनि माओवादी नटुक्रिंदै संगठन दर्ताको काम अघि बढाएका थिए ।
केएफसी दरवारमार्गमा भएका मजदुरको हस्ताक्षरसहित दर्ता प्रक्रियाका लागि आवेदन दिएपछि व्यवस्थापनले संगठन दर्ताका लागि हस्ताक्षर संख्या नपुगेको जानकारी दिंदै श्रम कार्यालयमा पत्र लेखेको थियो । केएफसी दरवारमार्ग कुनै कम्पनी नभएको र यसको प्यारेन्ट कम्पनी देवयानी इन्टरनेशनल भएको भन्दै संगठन दर्ताका लागि हस्ताक्षर संख्या नपुग्ने जानकारी दिएपछि प्रक्रिया रोकिएको थियो ।
माओवादी टुक्रिएपछि संगठनको पकड बलियो बनाउन वैद्य माओवादीले केएफसीमा संगठन दर्ता प्रक्रिया फेरी सुरु गरेको हो । तर्थद समितीका एक सदस्यले भने कम्पनीसँग हाम्रो कुनै पनि माग छैन, हामी वैधानिक प्रक्रियाबाट संगठन दर्ता मात्रै गर्दैछौं । उनले वार्तामा बस्न व्यवस्थापनलाई पटक पटक आग्रह गरिएको पनि जानकारी दिए । तर व्यवस्थापन वार्तामा बस्न नचाहेको उनले बताए ।
व्यवस्थापनको प्रतिक्रिया आएन
यस विषयमा देवयानी इन्टरनेशनलका नेपाल प्रतिनिधी विष्णुवद्र्धन रेड्डी र नेपाली व्यवस्थापक रोशन अडिगाले कुनै प्रतिक्रिया दिएनन् ।
कति छ तलव
देवयानी इन्टरनेशनलमा संगठन दर्ता प्रक्रियामा गएका मजदुरहरुको आधारभूत तलव जम्मा ३५ सय रुपैयाँ छ । उनीहरुलाई व्यवस्थापनले तीन हजार रुपैयाँ भत्ता थपेर मासिक छ हजार पाँच सय रुपैयाँ दिने गरेको छ । यसबाहेक प्रत्येक महिना हरेक कर्मचारीलाई सातदेखि आठ हजार रुपैयाँको हाराहारीमा सेवा शुल्कको रकम आउँछ । कम्पनीले विक्री हुने सामानको दश प्रतिशत सेवा शुल्क लिन्छ, जुन शुल्कको ठूलो हिस्सा कर्मचारीलाई मासिक तलवमा जोडेर दिइन्छ । व्यवस्थापनले केएफसीमा २८० कर्मचारी भएको बताए पनि अहिले त्यहाँ १६५ जना कर्मचारी कार्यरत छन् ।
कारोवार के छ ?
कम्पनीले औषतमा पाँचवटा आउटलेटबाट दैनिक आठ लाख रुपैयाँको विक्री गर्ने गर्दछ । यसमध्ये दुई लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र सेवा शुल्कको वापत उठेको हुन्छ । कम्पनीको नेट सेल्स छ लाख रुपैयाँ बराबर छ, स्रोतले भन्यो । यो हिसावमा कम्पनीले वार्षिक २२ करोड रुपैयाँको कारोवार गर्दछ । कम्पनीले रेष्टुरेण्टमा प्रयोग हुने अधिकांश सामान भारतबाट आयात गर्दछ भने केएफसीका लागि आवश्यक चिकेन ब्राजिलबाट आयात गर्दछ । तै पनि सबै खर्च कटाएर कम्पनीलाई २० देखि ३० प्रतिशतको हाराहारीमा मुनाफा बस्छ, स्रोतले भन्यो । यो आधारमा कम्पनीले वार्षिक चारदेखि छ करोड रुपैयाँको हाराहारीमा मुनाफा कमाउँछ ।
देवायानी इन्टरनेशनलले काठमाडौको दरवारमार्गमा केएफसी, पिज्जाहट र क्रिमवेल रष्टुरेण्ट सञ्चालन गर्दै आएको छ भने  व्लुवर्ड मलमा केएफसी र पिज्जा हट डेलिभरी सञ्चालन गर्दै आएको छ ।  तीन वर्ष अघि भारतका लगानीकर्ता रविकान्त जयपुरियाको कम्पनी आरजे कर्पको सबसिडरी देवयानी इन्टरनेशनलले काठमाडौंमा मल्टिनेशनल फुड चेन केएफसी र पिज्जा हट खोलेको हो । नेपालमा पप्सीका उत्पादन गर्ने बरुण बेभरेज र धापासीमा बनाइएको बरुण हाउजिङमा समेत जयपुरीयाले लगानी गरेका छन् । देवयानीले पाँचवटा रेष्टुरेणट खोल्न नेपालमा झण्डै २० करोड रूपैयाँ लगानी गरेको छ । यी पाँच स्टोरबाट दैनिक औषतमा आठ लाख रूपैयाँ बराबरको कारोवार हुने गरेको छ ।

Tata
GBIME
Nepal Life