BIZMANDU
www.bizmandu.com

अन्ततः डलर लडखडायो, आइतवार ९० रुपैयाँभन्दा तल झर्यो

२०६९ असार १७

काठमाडौं । अन्ततः आइतवार नेपाली बजारमा डलरको विनिमयदर घटेर ९० भन्दा तल झ¥यो । नेपाल राष्ट्र बैंकले आइतवारका लागि प्रति डलरको विनिमयदर ८९ रुपैयाँ ३० पैसा तोकेको छ । विजमाण्डूले डलरको विनिमयदर ९० भन्दा तल झर्ने प्रक्षेपण शुक्रवार नै गरेको थियो ।
सोमवारका लागि राष्ट्र बैंकले डलरको विक्री मूल्य ८८ रुपैयाँ ७० पैसा र खरिद मूल्य ८९ रुपैयाँ ३० पैसा तोकेको छ । भारतमा प्रधानमन्त्री मनमोहन सिंहले अर्थमन्त्रालयको पनि जिम्मेवारी लिंदै सुधारका कार्यक्रम थाल्ने घोषणा गरेपछि भारुको अधिमूल्यन भएको थियो ।
त्यस लगत्तै युरोजोनका दुई मुलुकलाई वित्तीय संकटबाट मुक्ति दिलाउन युरो राष्ट्रका सरकार प्रमुखहरु सहमत भएपछि डलर कमजोर बनेको थियो । युरो र भारतीय रुपैयाँ मजबुत हुँदा नेपालमा पनि डलरको मूल्य घटेको हो । नेपाल र भारतीय मुद्रावीच स्थिर विनिमयदर तोकिएकाले नेपाली मुद्रामा त्यसको सीधा असर पर्छ ।
अघिल्लो शुक्रवार र शनिवार डलर रेकर्ड महँगो हुँदै ९१ रुपैयाँ ८८ पैसाको स्तरमा पुगेको थियो । सोमवार डलरको अझै अधिमूल्यन हुने र डलर ८९ रुपैयाँ तल झर्ने सम्भावना छ । डलरसँगै पाउण्डस्ट्रलिङ, युरो लगायतका अन्य मुद्रा समेत अवमूल्यन भएका छन् । राष्ट्र बैंकले सोमवारका लागि पाउण्ड १४०.२८ मा, युरो ११३.०५ मा, चिनियाँ युआन १४.०५को विनिमय दर तोकेको छ ।

Tata
GBIME
Nepal Life