विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । बजार संयमित बनाउन सक्छ भनेर सामूहिक लगानी कोषको भुमिकाका विषयमा विगतम जति चर्चा भयो कोषहरु स्थापना भएपछि त्यस्तो प्रभाव बजारमा देखिएको छैन । अझैपनि उछाल आउँदा बजार बढ्ने क्रममा होस् वा दिनमै दुई, तीन पटक सर्किट ब्रेकर लाग्नेगरी घट्ने अवस्थाको अन्त्य हुन सकेको छैन् । किन त ? सिद्धार्थ सामूहिक लगानी कोष सञ्चालन गरिरहेको सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत धुव्र तिमिल्सिना भन्छन्, ‘अहिले सञ्चालनमा रहेको दुई योजनाको मुल फण्ड करिब दुई अर्ब रुपैयाँको छ । बजार सामान्य गतिमा रहँदा दैनिक न्युनतम २० करोडको कारोबार हुन्छ, हाम्रो फण्डको आकारले पनि बजारलाई नियन्त्रिण गर्न सकिदैन ।’
गत वर्षसम्मको कारोबार रकमका आधारमा हालका कोषले बजारलाई अनावश्यक घट्बढ गर्नबाट रोक्न सक्ने अवस्था थियोे । तर, अहिले कारोबारको आकार निकै ठूलो भइसक्यो । सेयर ब्रोकर एशोसिएनका अध्यक्ष नरेन्द्रराज सिजापति भन्छन्, ‘बजारमा दैनिक चार/पाँच करोड रुपैयाँको कारोबार हुँदा यी कोषको केही भुमिका देखिएको थियो । तर, अहिले उनीहरुले चाहेर पनि बजार संयमित बनाउन सक्ने अवस्था छैन् ।’
कारोबारको रकम बढ्नु मात्रै होइन, लगानी गर्नेको क्षमताले पनि बजारलाई प्रभाव पार्छ । बजारमा अहिले व्यक्तिगत रुपमै अर्ब रुपैयाँ बराबर लगानीको आकार भएका ठुला सेयर खेलाडीहरुको संख्या एक दर्जनको हाराहारीमा रहेको ब्रोकरहरु बताउँछन् । त्यस्तै, एक दर्जनकै हाराहारीमा पाँच करोड देखि ४०/५० करोड रुपैयाँ पूँजी भएका इन्भेष्टमेन्ट कम्पनी पनि सक्रिय छन् । समूह बनाएर लगानी गर्ने लगानीकर्ताहरुको जमात पनि अहिले बढिरहेकोले सेयर बजारमा सामूहिक लगानी कोष भन्दा यी संस्था तथा लगानीकर्ता बढि प्रभावशाली देखिए । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत तिमिल्सिना भन्छन्, ‘हाम्रो कोष मार्फत् सेयरमा भएको लगानीमा पनि केही हिस्सा निश्चित समयसम्म होल्ड गर्ने प्रकृतिको हुन्छ ।’ अर्काेतर्फ यी योजनाहरुको सबै हिस्सा सेयर बजारमा मात्र लगानी भएका छैनन् । कोषको केही हिस्सा निक्षेपमा छ भने केही ऋणपत्रमा लगानी छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सञ्चालन गरिरहेको नबिल ब्यालेन्स्ड फण्ड१ ले ४४ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । गत माघ मसान्तसम्मको मूल्यको आधारमा यस्तो लगानीपछिको सम्पत्तिको मुल्य ६६ करोड ५१ लाख रुपैयाँ छ । त्यस्तै, सिद्धार्थ लगानी वृद्धि योजना १ ले ५२ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । माघ मसान्तसम्मको मूल्यको आधारमा यस्तो लगानीपछिको सम्पत्तिको मुल्य ७५ करोड छ । नबिल ब्यालेन्स फण्ड अन्तर्गगत सूचीकृत ऋण पत्रमा सात करोड ४३ लाख, सूचीकृत नभएका सेयर र ऋणपत्रमा क्रमशः १० करोड सात लाख र चार करोड, मुद्दतीमा सात करोड ५० लाख छ । सिद्धार्थ लगानी बृद्धि योजना अन्र्तगत सार्वजनिक निष्कासनमा तीन करोड ४७ लाख, अन्य धितोपत्रमा ६२ हजार र बैंकमा एक करोड ८८ लाख रुपैयाँ मौज्दात छ ।
कोष आफै लगानीकर्ता भएकोले बजार नियन्त्रित बनाउन प्रत्यक्ष भुमिका नहुने बताउँछन् । तिमिल्सिना भन्छन, ‘एउटा लगानीकर्ता कसरी बजार निर्माता हुनसक्छ, हामी बजार निर्माता होइनौं, धेरैमा यो भ्रम अझै बाँकी छ, हामी संस्थागत लगानीकर्ता हौं ।’ नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमूख कार्यकारी अधिकृत प्रविणरमण पराजुली भन्छन्, ‘हामीले त इकाइ लिएका लगानीकर्ताहरुको हितमा काम गर्नुपर्छ, यो भनेको कम्पनीले अधिकत्तम नाफा कमाउनु हो र उनीहरुलाई बढि लाभांश दिनु हो ।’ त्यसैले बजार नियन्त्रित बनाउनु पर्छ भन्दैमा सामूहिक लगानी कोषले अघिमूल्यन भइसकेका सेयरहरु खरीद गरिदिन्छन् भनेर सोच्न नहुने पनि पराजुली बताउँछन् । तर यसको अर्थ बजारमा सामूहिक लगानी कोषको केही भुमिका नै हुदैन भन्ने धारणा बनाउन नहुने उनीहरुको तर्क छ । तिमिल्सिना भन्छन्, ‘व्यक्तिगत लगानीकर्ता धेरै भएको बजारमा हामी जस्तो संस्थागत लगानीकर्ताको प्रवेशले केही नियन्त्रित त बनाएको थियो नै । त्यस्तै, सेयर किनबेच गर्दा पनि अधिकांश लगानीकर्ताहरुले हामीलाई पछ्याइरहेको पाइन्छ । यसले र्याशनल व्यवहार लगानीकर्ताहरुमा परिरहेको छ ।’
पछिल्लो समय सामूहिक लगानी कोषको प्रवेशसँगै संस्थागत रुपमा बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतले पनि लगानी गरेको कारण बजार धेरैहदसम्म संयमित हुन थालिसकेको उनीहरुको धारणा छ । त्यसबाहेक बजारमा लगानी व्यवस्थापकहरु पनि सक्रिय रहेकोले जति धेरै संस्थागत लगानीकर्ता बढ्यो, त्यति नै बजार संयमित हुने धारणा उनीहरुको छ ।
हाल यी दुवै योजनाको पर्पmर्मेन्स राम्रो छ । नबिल ब्यालेन्स्ड फण्ड—१ को माघ मसान्तमा प्रतिइकाइ खुद सम्पत्ती मूल्य बढेर १४.५७ रुपैयाँ पुगेको छ । निष्कासनको समयमा प्रति इकाइ १० रुपैयाँको दरले लगानी गरेकाहरुको प्रति इकाइमा १४.५७ रुपैयाँ पाइरहेका छन् भन्ने यसले देखाउँछ । यो ४५ प्रतिशतको बृद्धि हो । त्यस्तै, सिद्धार्थ लगानी वृद्धि योजना—१ को माघमा प्रतिइकाइ खुद सम्पत्ती मुल्य १६.२२ रुपैयाँ छ । प्रतिइकाइ १० रुपैयाँमा लगानी गरेका लगानीकर्ताहरुको इकाइको मूल्य ६२ प्रतिशतले बढेको छ । सिद्धार्थले आव २०६९/७० मा भएको नाफा पछि दुई करोड २५ लाख रुपैयाँ प्रतिफलको रुपमा समेत वितरण गर्न लागेको छ । तर कतिपय लगानीकर्ताहरु योजनाको नेटवर्थभन्दा बजारमा कारोबार भइरहेको इकाइ मूल्य कम भएकोमा भने चिन्तित देखिन्छन् ।
यी योजना सञ्चालक समेत धेरै लगानीकर्ता तान्न नसक्नु अहिलेको चुनौती बनिरहेको बताउँछन । इकाइ मूल्य नेटवर्थभन्दा कम भएकै कारण लगानीकर्ता तान्न समस्या भएको मान्न उनीहरु तयार छैनन् । तिमिल्सिनाले भने, ‘नेटवर्थ प्रति सेयरभन्दा कम भयो भनेर चिन्ता गर्नु पर्दैन, हाम्रै नेटवर्थ १० हुँदा प्रति इकाइ १३ रुपैयाँमा कारोबार पनि भएको थियो, अहिले नेटवर्थ १६ हुँदा पनि १३ रुपैयाँमै कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि यस्ता योजनाको इकाइ मुल्य ३०/४० प्रतिशत कम नै हुन्छ ।’ कम्पनीको ग्रोथ छ भने मुल्य नेटवर्थभन्दा पाँच गुणा बढि पनि हुनसक्ने उनी बताउँछन् । ग्रोथको मूल्यांकन परिस्कृत वित्तीय विवरणको आधारमा मात्र भइरहेकोले सेयर बजारमा अन्य कम्पनीहरुको मुल्य उच्च हुने गरेको उनको धारणा छ । ‘यहाँ इकाइ वा सेयर निष्कासन अवधिमा नै बुक विल्डिङको प्रक्रिया अपनाएर मूल्य निर्धारण हुदैन तिमिल्सिनाले भने, मूल्य निर्धारण गर्ने क्वालिफाइड लगानीकर्ता भयो भने मात्र इकाइ वा सेयरले सूचीकृत भएपछि उचित मुल्य पाउँछ ।’‘योजनाहरुमा लगानी गर्दा प्रत्यक्ष सेयरमा लगानी गर्दाभन्दा कम जोखिम हुन्छ भनेर हामी र नियमक निकायले लगानीकर्ताहरुलाई बुझाउन सकेका छैनौं, पराजुली भन्छन्, तर यसबाहेक लगानीकर्ता आकर्षित गर्न नसक्नुमा अन्य करण पनि रहेको छन । दोस्रो बजारमा यी इकाइको मूल्यमा धेरै अन्तरले उतारचढाव हुदैन त्यसैले धेरै फाइदा नहुने देखेर पनि सट्टेवाज किसिमका लगानीकर्ताहरुको यी इकाइलाई कम प्राथमिकतामा राख्ने गर्छन् ।’
अन्तर्राष्ट्रिय स्तरमा जस्तो प्रतिफलमा छुट नदिएकोले पनि लगानीकर्ता आकर्षित हुन नसकेको तिमिल्सिनाको धारणा छ । हाल योजनाले सेयर खरीद बिक्री गर्दा भएको प्रतिफल र योजनाको आम्दानीमा कर छुट छ । तर लगानीकर्ताले सञ्चालक कम्पनीहरुबाट पाउने प्रतिफलमा र उनीहरुले इकाइको किनबेच गर्दा हुने फाइदामा भने पूँजीगत लाभ कर लाग्छ ।
हाल बजारमा अन्य योजनाहरु पनि सञ्चालनमा आउने तयारीमा रहेका छन् । सिद्धार्थ क्यापिटलले गत बैसाख दुई गते नै आफ्नो ८० करोडको आकारको दोस्रो योजना सिद्धार्थ इक्विटी ओरियण्टेड स्किम, एनएमबी क्यापिटलले गत जेठमा ६० करोड रुपैयाँको आफ्नो पहिलो योजना र लक्ष्मी क्यापिटलले पनि असोजमा करीब ४० करोड रुपैयाँ बराबरको आफ्नो योजना धितोपत्र बोर्डमा दर्ता गराएका छन् ।