काठमाडौं । जनरल फाइनान्सले नेपाल स्टक एक्सचेञ्जमा रोक्का रहेको कारोवार फुकुवा गर्न आग्रह गरेको छ । साउन अन्तिम दिन फाइनान्सले सर्वसाधरण सेयरधनीलाई मर्का परेको भन्दै कारोवार फुक्का गर्न आग्रह गर्दै नेप्सेलाई पत्र लेखेको हो । फाइनान्सका पूर्व महाप्रवन्धक राजुकुमार प्रधानले पदीय अधिकार दुरुपयोग गर्दै फाइनान्सको रकम हिनामिना गरेपछि नेप्सेले कारोवारमा रोक लगाएको हो । कारोवार फुकुवा गर्न फाइनान्सले नेप्सेलाई यसअघि असार २६ गते समेत पत्र पठाएको थियो ।
फाइनान्सले कम्पनीको पहलमै प्रधानलाई कारवाही भैरहेको जानकारी दिंदै कारोवाही फुकुवाको लागि निवेदन दिएको हो । कारोवार रोक्का हुँदा कम्पनीको शाखमा असर परेको र फाइनान्सका विषयमा थप नकारात्मक असर पर्ने जानकारी पनि दिइएको छ । दैनिक काम सुचारु भैरहेको जानकारी दिंदै फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र चार बराबर एक हकप्रद सेयर दिइने लक्ष्य समेत नेप्सेलाई जानकारी गराएको छ । फाइनान्सले नेप्सेलाई चौथो त्रैमासको अपरस्किृत वित्तीय विवरण समेत पठाएर गत वर्ष १५ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी पनि दिएको छ । त्यस अघिल्लो वर्ष फाइनान्सले २४ करोड रुपैयाँ मुनाफा गरेको थियो ।
प्रधानको काण्ड सार्वजनिक भएको तेस्रो त्रैमासमा फाइनान्स ११ करोड ४८ लाख रुपैयाँ घाटामा थियो । फाइनान्सले पत्र लेखे पनि आइतवार स्टकमा कुनै पनि कारोवार भएन । नेप्सेले पनि कारोवार फुकुवा गरेको कुनै पनि सूचना आइतवार सार्वजनिक गरेन । जनरल फाइनान्सको नेप्से कारोवार साढे तीन महिनादेखि स्थगित छ ।
प्रोग्रेसिभ र ललितपुर मर्ज हुने
प्रोगे्रसिभ र ललितपुर फाइनान्स मर्ज हुने भएपछि आइतवारबाट यी दुई फाइनान्सको कारोवार नेप्सेले रोक्का गरेको छ । प्रोग्रेसिभको अनुरोधमा कारोवार रोक्का राखिएको नेप्सेले जानकारी दिएको छ ।