काठमाडौं । मर्ज हुन लागेका दुई बैंक ग्लोबल आइएमई र कमर्ज एण्ड ट्रष्टले विशेष प्रस्ताव पारित गरेका छन् । सोमवार कमर्जको र मंगलवार ग्लोबलको विशेष साधारणसभा भएको थियो ।
.jpg)
साधारणसभाले मर्ज प्रस्तावसँगै सेयर मूल्य अनुपातलाई पनि स्वीकृत गरेको हो । ग्लोबलको एक सय कित्ता सेयर बराबर कमर्जको ६५ कित्ता सेयर दिने गरी मर्ज प्रस्ताव स्वीकृत भएको हो । कमर्जको काठमाडौंमा र ग्लोबलको वीरगञ्जमा विशेष साधारणसभा भएको थियो ।
साधारणसभाबाट प्रस्ताव स्वीकृत भएकाले चैत महिना भित्रमा मर्ज सम्पन्न गर्ने लक्ष्य लिएको ग्लोबल बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा छ । कमर्ज गाभिएपछि पनि ग्लोबल आइएमई बैंककै रुपमा कारोवार गर्ने सहमति भएको छ ।
कमर्जले मर्ज प्रस्ताव अघि दुई प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । साधारणसभाले यो बोनस स्वीकृत गरेको छ । बोनस स्वीकृत भएपछि कमर्जको चुक्ता पुँजी दुई अर्ब चार करोड रुपैयाँ हुनेछ ।
ग्लोबल आईएमई बैंकको अहिले चुक्ता पुँजी दुई अर्ब ७८ करोड रुपैयाँ छ । सेयर स्वाप रेसियोको आधारमा मर्ज हुँदा नयाँ बैंकको चुक्ता पुँजी चार अर्ब १० करोड रुपैयाँ हुनेछ । ग्लोबलमा कमर्जको एक अर्ब ३२ करोड रुपैयाँ पुँजी जोडिनेछ । मर्जपछि ग्लोबल आइएमई निजी क्षेत्रका बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकभन्दा दोस्रो ठूलो बैंक बन्नेछ । बोनस सेयर वितरणपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी चार अर्ब १२ करोड रुपैयाँ छ ।
मर्जपछि दुई बैंकको कुल निक्षेप ४८ अर्व रुपैयाँ, कर्जा लगानी ४० अर्व रुपैयाँ हुनेछ । मर्जसँगै बैंकको शाखा संख्या ८८ वटा पुग्नेछ भने ७९ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ्ग सेवा र ९ वटा एक्सटेन्सन काउण्टर हुनेछन् । मर्जरपछि बैंकको ग्राहक संख्या करिब पाँच लाख पुग्ने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।