BIZMANDU
www.bizmandu.com

बीमाका नक्कली काजगको समस्या रोक्न वैदेशिक रोजगार विभागको नयाँ निर्देशन, विवरण अनलाइनमा

२०७० फागुन २०

बीमाका नक्कली काजगको समस्या रोक्न वैदेशिक रोजगार विभागको नयाँ निर्देशन,  विवरण अनलाइनमा
बीमाका नक्कली काजगको समस्या रोक्न वैदेशिक रोजगार विभागको नयाँ निर्देशन, विवरण अनलाइनमा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति निकाल्दा पेश गर्ने बीमाका काजगपत्र नक्कली भेटिन थालेपछि अनलाईनमा हेर्न मिल्ने व्यवस्था गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले बीमा कम्पनीहरुलाई विभाग र सरोकारवाला व्यक्तिले अनलाईनमै हेर्न पाउने गरी विवरण राख्न निर्देशन दिएको हो । आगामी वैशाख १ गते देखि म्यादी बीमाको यस्तो विवरण अनलाईनमा राख्नु पर्नेछ । विभागमा सूचीकृत बीमा कम्पनीले फोटो सहित बहु विवरण देखिनेगरी अनलाईनमा राख्नु पर्नेछ ।
म्यादी बीमा गर्ने कामदारको कागजात हराउने र कतिपय बीमाको नक्कली कागजात पेश हुने गरेको भन्दै विभागले अनलाईनमा देखिने गरी विवरण राख्न निर्देशन दिएको हो । नक्कली कागजात पेश हुँदा पीडित पक्षले क्षतिपुर्ति पाउन समेत कठिन भएको कारण यस्तो नयाँ व्यवस्था गर्न लागेको विभागले जनाएको छ । यस्तो विवरण पाँच वर्षसम्मका लागि अर्काइभ बनाएर राख्नुपर्ने व्यवस्था पनि विभागले गरेको छ । पाँच वर्षसम्म विवरण खोज्न मिल्ने गरी राख्दा काजगात हराउने र पीडित पक्षले क्षतिपुर्ति नपाउने समस्या समाधान हुनेछ । विभागले वैदेशिक रोजगार कम्पनीहरुलाई पनि वीमा कम्पनीको अनलाईनमा राखिए अनुसारको काजगात मात्रै पेश गर्न निर्देशन दिएको छ । विभागबाट श्रम स्वीकृति लिन म्यादी बीमा गरेको कागजात पेश गर्नुपर्छ ।
कल्याणकारी कोषको पैसा बैंक मार्फत लिने
विभागले कल्याणकारी कोषको पैसा बैंकमार्फत मात्रै लिने भएको छ । एक जना कामदारले एक हजार रुपैयाँ यो कोषमा बुझाउनु पर्छ । कामदार पहिलो पटक जाँदा वा विदामा स्वदेश आएर फर्किदा यस्तो पैसा तिर्नुपर्छ । यस अघि यस्तो पैसा विभागले नै उठाउँदै आएको थियो । विभागले बैंकहरुलाई कल्याणकारी कोषको पैसा लिन कोटेशन मागेको छ । सात प्रतिसत भन्दा कम खराव कर्जा भएका क वर्गका बाणिज्य बैंकले कोटेशन भर्न पाउनेछन् ।

Tata
GBIME
Nepal Life