BIZMANDU
www.bizmandu.com

भारतका १७ औं धनी नेपाल आएर भन्छन्, लगानी गर्ने सोच छ, राजनीतिक स्थिरता चाहियो

२०७० फागुन ६

भारतका १७ औं धनी नेपाल आएर भन्छन्, लगानी गर्ने सोच छ, राजनीतिक स्थिरता चाहियो
भारतका १७ औं धनी नेपाल आएर भन्छन्, लगानी गर्ने सोच छ, राजनीतिक स्थिरता चाहियो

काठमाडौं । प्राकृतिक स्रोत उपयोगमा अन्तराष्ट्रिय ख्याति कमाएको भारतीय कम्पनी वेदान्द रिर्सोसेसका संस्थापक अध्यक्ष अनिल अग्रवालले आफू नेपालीमा लगानी सम्भावनाको खोजिमा रहेको बताएका छन् । विहारमा जन्मिएर मुम्बइ हुँदै लन्डनमा विजनेश सेल्टर बनाएका अग्रवालले पछिल्लो समय अफ्रिकामा तिब्र गतिमा आफ्नो व्यवसाय विस्तार गरि रहेका छन् । फोब्सको सूचीमा विश्वका तीन सय ९५ औं तथा भारतका १७ आंै धनाड्य अग्रवालसँग तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

उनको कम्पनीले जिङ्क, लिड, चाँदी, तामा, आल्मुनियम, फलाम, तेल तथा ग्याँस जस्ता प्राकृतिक स्रोतमा आधारित विश्वस्तरका वस्तु उत्पादन गर्दै आएको छ । सन् १९८८ मा वार्षिक २० लाख अमेरिकी डलर आम्दानी गर्ने उनको कम्पनीले सन् २०१३ मा १५ अर्ब डलरको कारोवार गरेको थियो ।
अग्रवालले पछिल्ला केहि बर्षमा भारतको मद्रास आल्मुनियम कम्पनी, भारत आल्मुनियम कम्पनी, हिन्दुस्थान जिङ्क, सेसा गोवा, डेम्पो, कोन्कोला कपर इन जाम्बिया, एङ्ग्लो जिङ्क, केयर्न इन्डिया लगायतका कम्पनी खरिद गरेका थिए ।
केयर्न कम्पनीको अधिग्रहणसँगै उनको नेपाल नाता पनि जोडिएको छ । केयर्न कम्पनीसँग नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको उत्खनन गर्ने लाइसेन्स छ । तर सुरक्षा लगायतका कारण देखाउँदै कम्पनीले नेपालमा काम भने गर्न सकेको छैन् ।
भारतमा व्यवसाय विस्तारका लागि मात्र पछिल्ला केहि बर्षमा २० अर्ब डलर भन्दा बढि लगानी गरि सकेको अग्रवाल बताउँछन् । होटल हायात तथा होटल याक एन्ड यतिका संस्थापक राधेश्याम सर्राफको नातीनी नतिशाको विवाहका लागि काठमाडौं आएका अग्रवालले नेपालका प्राकृतिक स्रोतमा आफूले लगानी गर्न सक्ने सम्भावना जिवित रहेको बताए ।
बिजमाण्डू सम्पादक सरोज काफ्ले र प्रभात भट्टराईसँगको ‘एक्स्लुसिभ’ अन्तर्वार्तामा अग्रवालले भने, नेपालमा राजनीतिक स्थिरता आएमा लगानीका लागि उदार छु ।

Tata
GBIME
Nepal Life

तपाईलाई नेपाल कस्तो लाग्यो ?
यो विश्वकै एउटा सुन्दर देश हो । मैले नेपाललाई विगत ४५ वर्षदेखि चिनेको हुँ । यहाँ सबै कुराको सम्भावना छ । यो विश्वको सबैभन्दा इमान्दार देश हो । विश्वमा जहाँ पनि मानिसले नेपालीलाई तिनीहरुको इमान्दारितामा विश्वास गर्छन । मलाई यस्तै लाग्छ । यहाँ युवा जनशक्ति छ, भारतसँग जोडिएको छ । राजनीतिक स्थिरता भएमा नेपालको भविष्य राम्रो छ ।

नेपालमा लगानीको वातावरण कस्तो लाग्यो ?
अहिले लगानीको वातावरण सायदै छ । तर, लगानीको राम्रो वातावरण अवश्य आउने छ । यसमा कुनै शंका छैन । हामी जस्ता मानिसको नेपालसँग कुनै न कुनै सम्वन्ध छ । हामीलाई यहाँको बारेमा थाहा भैरहेको हुन्छ । वातावरण राम्रो बने भारतीय लगानीकर्ता यहाँ नआउने प्रश्नै छैन् ।

नेपालको भारतसँग ठूलो व्यापार घाटा छ । नेपाल सरकारले भारतीय लगानी आर्कषित गर्न खोजीरहेको छ । नेपालमा भारतीय लगानी आउला ?
यो सबै कुरा उत्पादन लागतमा भर पर्छ । नेपालमा उत्पादन लागत कम हुन सक्छ । नेपालमा जलविद्युतको धेरै सम्भावना छ । अन्य व्यवसायबाहेक यसलाई भारतीय व्यवसायी र व्यापारीले सम्भावनाको रुपमा हेर्नेछन् ।

नेपाली अर्बपति उद्यमी बिनोद चौधरीसँग यहाँको सामिप्यता छ । नेपालमा कुनै संयुक्त व्यवसाय सुरु गर्ने योजना छ की ?
यत्तिबेला हाम्रो कुनै योजना छैन, तर हामी प्राकृतिक संसाधनको खोजीको क्षेत्रमा केही काम गर्ने सोंच्मा छौं । यसमा हामीले सोंचिरहेका छौं ।

तपाईको कम्पनी कार्यन इनर्जीले नेपालमा पेट्रो प्रोडक्टको खोजी गरेको थियो । अहिले अवस्था के छ ?
अहिले सबै काम बन्द छ । म अहिले आएको छु । नेपालमा ग्याँसको सम्भावना देखिएको थियो । हामीले त्यसको विस्तृत खोजी गर्न सक्छौ । अहिले नै कुनै निर्णय भएको छैन । हेरौ के गर्न सकिन्छ । यसमा गहन अनुसन्धान आवश्यक छ र त्यो हामीले गरेका छौ ।

नेपालमा जलविद्युतको सम्भवना छ । केही भारतीय कम्पनीले पनि यसमा चासो पनि देखाएका छन् । तपाईको यो क्षेत्रमा लगानीको सम्भवना छ ?
नेपाल सरकार स्थायी होस र भारत गएर भारतीय उद्योगीलाई आह्वान गरेमा लगानी आउन सक्छ । सरकारले आफ्नो प्रस्तुतीमा के कस्ता उद्योग फलदायी छन् भनेर बताउन सक्नु पर्छ । लगानी प्रक्रिया सरल बनाउनु पर्छ । त्यसो भएमा लगानी आउन सक्छ ।

भारतीय लगानीकर्ताले नेपालमा कस्तो सुविधा चाहन्छन ?
सबैको चाहना स्थिर सरकार हो । स्थिर सरकार आएपछि नेपालले यहाँका अवसरका बारेमा भारतीय व्यापारीलाई लगानीका लागि यी क्षेत्र छन, यसबाट रोजगारी पनि र्सिजना हुन्छ लगानीकर्तालाई लाभ पनि हुन्छ भनी बताएमा लगानी आउन सक्छ । नेपाल शिक्षाको ठूलो केन्द्र बन्न सक्छ । राम्रो अनुसन्धान केन्द्र बन्नु पर्छ । र्फास्युटिकल्समा राम्रो अनुसन्धान केन्द्र आवश्यक छ । नेपालमा क्षमता भएका मानिस र जलवायु पनि राम्रो छ । इन्टरनेटमा आधारित व्यवसाय जस्तै सफ्टवेयर बिजनेस पनि यहाँ फस्टाउन सक्छ । यसले धेरैलाई रोजगारी दिन सक्छ । त्रिभुवन विश्वविद्यालयले यसका लागि जनशक्ति निर्माण गर्न सक्छ । क्षमता विकास भएपछि सबै कुरा हुन्छ ।