BIZMANDU
www.bizmandu.com

सोझै संस्थामा हात हाल्दा थप विग्रिएको अनुभव, दुरुपयोग भएको रकम व्यक्तिबाटै उठाउने रणनीति

२०७० फागुन ३

काठमाडौं । केन्द्रिय बैंकले सोझै वित्तीय संस्थाहरुलाई कारवाही गर्नुको साटो ऋण दुरुपयोग गर्ने व्यक्तिलाई कारवाही गर्ने रणनीति लागु गरेको छ । संस्थालाई सोझै कारवाही गर्दा बचतकर्ता त्रसित भएर निक्षेप वाहिरिने तथा संस्था सुध्रनुको साटो थप समस्यामा पर्न थालेपछि केन्द्रिय बैंकले संस्था छाडेर व्यक्तिलाई कारवाही गर्ने रणनीति अगाडि वढाएको हो । केन्द्रिय बैंकले यस अघि सस्थालाई नै कारवाहीको दायरामा ल्याउने गरेको थियो ।
नयाँ रणनीति अनुसार केन्द्रिय बैंकको कारवाहीमा विकास बैंक तथा फाइनान्स कम्पनीका करिब एक दर्जन सञ्चालक तथा व्यवस्थापक परिसकेका छन् । व्यक्ति विशेषका कारण भएको ऋण दुरुपयोग उनीहरुबाटै उठाएर संस्थालाई जोगाउने रणनीति राष्ट्र बैंकले बनाएको हो ।
यसअघि ऋण दुरुपयोगका मुद्दामा सोझै संस्थालाई कारवाही गर्दा संस्था थप विग्रिएपछि राष्ट्र बैंकले कारवाहीको रणनीति नै परिवर्तन गरेको हो । राष्ट्र बैंकले जम्मा १३ करोड ४३ लाख रुपैयाँको ऋण दुरुपयोगमा गोर्खा विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दा संस्थालाई राष्ट्र बैंक आफैले टेक ओभर गर्नु परेको छ । भर्खरै मात्र पनि नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सियल इन्स्टिच्युसनको सञ्चालक समिति आफैले जिम्मा लिनु पर्यो ।
राष्ट्र बैंकले संस्थालाई सोझै कारवाही गर्दा गोर्खा, नेपाल सेयर मार्केट्सका साथै क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, हिमालय फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र जनरल फाइनान्स थप समस्यामा गएका छन् । सोझै कारवाही गर्दा यी संस्थाको असल ऋण उठाएर निक्षेपकर्ताको पैसा भुक्तानी गर्नु पर्यो भने खराव ऋणको अनुपात थप बढेको छ ।
राष्ट्र बैंकले दुरुपयोग भएको ऋण सञ्चालक समिति र व्यवस्थापनलाई दवाव दिएर उठाउने, त्यसरी नउठे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुसन्धान गर्ने जिम्मा दिने रणनीति लिएको छ । यो रणनीति अनुसार, एनआइडिसी क्यापिटल मार्केट्सका सञ्चालक शिवजी राय यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । किस्ट बैंकको कर्जा दुरुपयोगमा पनि केन्द्रीय बैंकले आरोपित कर्मचारीहरुमाथि कारवाही गर्न सिआइबीलाई अनुरोध गरेको थियो ।
पछिल्लो समय राष्ट्र बैंकले ललितपुर फाइनान्स र नेपाल फाइनान्सका केही सञ्चालकले दुरुपयोग गरेको ऋण उठाउन दवाव दिएको छ । राष्ट्र बैंकले प्रत्यक्ष दवाव दिएपछि यी संस्थामा दुरुपयोग भएका केही ऋणहरु उठेका पनि छन् । ‘प्रत्यक्ष दवाव दिएपछि केही संस्थाबाट दुरुपयोग भएका ऋण उठेका छन्.,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तिर्ने नियत नराख्नेलाई कानुनी बाटो (प्रहरी) मार्फत कारवाही अगाडि वढाउँछौं ।’ उनले राष्ट्र बैंकले लिएको पछिल्लो रणनीति सफल हुँदै गएको जानकारी दिए । ‘पहिलेजस्तै सोझै संस्थालाई कारवाही गर्ने हो भने यस्ता संस्थाका सुची लामो हुन्थ्यो,’ उनले भने ।
सुधारका लागि ६ महिनाको समय दिएर समस्याग्रस्त घोषणा गरेका संस्थाहरु करिव तीन बर्ष पुग्दा पनि सुधार हुन नसकेपछि राष्ट्र बैंक नयाँ रणनीति अनुसार अगाडि वढेको हो । राष्ट्र बैंकले कारवाही गरेर सुध्रिन मौका दिएका संस्थाहरुमा अहिले खराव ऋण मात्र वाँकी छन् । हिमालय फाइनान्स र क्यापिटल मर्चेन्टमा सम्पत्ति भन्दा दायित्व वढी रहेको सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन (डिडिए) प्रतिवेदनले देखाएको छ । समस्याग्रस्त संस्थामा गोर्खा वाहेक कुनै पनि संस्थाका निक्षेपकर्ताले अझैसम्म आफ्नो पैसा फिर्ता पाउन सकेका छैनन् ।

Tata
GBIME