BIZMANDU
www.bizmandu.com

सुरु भयो योजना आयोगमा उपाध्यक्षको खोजी, त्रिवर्षीय योजनाको तयारीमा, ६० प्रतिशत काम पूरा

२०७० माघ २७

काठमाडौं । राष्ट्रिय योजना आयोगले अध्यक्षको रुपमा नव निर्वाचित प्रधानमन्त्री सुशिल कोइरालाको तश्विर औपचारिक रुपले आफ्नो वेवसाइटमा ‘अपलोड’ गरेको छ । कोइरालाले प्रधानमन्त्री कार्यालयमा सपथग्रहण गरेसँगै आयोगले अध्यक्षबाट खिलराज रेग्मीको नाम हटाएको हो । 
प्रधानमन्त्रीले अध्यक्षता गर्ने भए पनि आयोगको कार्यकारी नेतृत्व उपाध्यक्षले गर्छन् । चुनावी मन्त्रिपरिषद्ले नियुक्त गरेका रविन्द्रकुमार शाक्य नै अहिले आयोगको उपाध्यक्षको रुपमा छन् । नयाँ सरकारले आयोगमा उपाध्यक्ष र सदस्यहरु नियुक्त गरेपछि तेह्रौं त्रिवर्षीय योजना २०७०–२०७३ सार्वजनिक गर्ने तयारी गरिएको छ । 
आयोगका सहसचिव पुष्पलाल शाक्यअनुसार नयाँ योजनाको ६० प्रतिशत काम सकिएको छ । ‘विभिन्न मन्त्रालयबाट तथ्याङ्क तथा सुझाव संकलन लगायतका प्राविधिक काम सकिएकोछ’ उनले विजमाण्डूसँग भने ‘आयोगले पुर्णता पाएको एक÷डेढ महिनामै नीतिगत कार्ययोजना तय गरि तेह«ौं योजना आउँछ ।’ गठवन्धनमा समस्या आइ आयोगमा नियुक्ती बिलम्ब भयो भने योजनामा पनि ढिलाइ हुनेछ ।
कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेस निकट अर्थशास्त्रीहरुको नाम आयोगका उपाध्यक्षको रुपमा चर्चा हुन थालेको छ । पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेल, पुर्व सदस्यद्वय डा. पुष्पराज राजकर्णीकार, डा. पोषराज पाण्डे तथा अर्थमन्त्रालयका बरिष्ठ सल्लाहकार डा. चिरन्जीवी नेपालको नाम आयोगका उपाध्यक्षको रुपमा बढि चर्चामा छ । समानुपातिक सूचीमा राखे पनि सांसद नछानेपछि कांग्रेसले पुर्व अर्थसचिव रामेश्वर खनाललाई योजना आयोगको जिम्मेवारी दिने चर्चा पनि चलेको छ ।
 

Tata
GBIME
Nepal Life