काठमाडौं । दुधको परल मूल्य पाउनु पर्ने माग गर्दै दुध किसानले सोमबारदेखि आन्दोलन गर्ने भएका छन् । ‘हाम्रो आन्दोलन भोलिदेखि सुरु हुन्छ,’ केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष माधव कोइरालाले भने । सरकारलाई दिएको पाँच दिने अल्टीमेटम माघ २४ गते समाप्त भएको र सरोकारवाला निकायले आवश्यक कदम नचालेपछि आन्दोलनको विकल्प नरहेको उनले बताए । सहकारीले दुग्ध विकास संस्थानका कार्यालयहरु घेरेर आन्दोलन सुरु गर्ने भएको छ । ‘पहिलो चरणमा डिडिसीका कार्यालय घेराबन्दी गर्छौं, माघ २९ गते विरोधका थप कार्यक्रम घोषणा गरिनेछ,’ उनले भने ।
केन्द्रिय दुग्ध सहकारीका अनुसार, किसानको दुधको लागत ४० रुपैया प्रति लिटर पुगिसकेको छ तर सस्थानले औषत ३४ रुपैया मात्र भुक्तानी गरिरहेको छ । ‘लागतमा केही थप मूल्य पाएमा हामी आन्दोलन स्थगित गर्न सक्छौ,’ उनले भने । सस्थान र निजी डेरीले घ्यु, पनिर, दही र मिठाईको मूल्य ३०÷४० प्रतिशत बढाएपनि किसानलाई कुनै लाभ नदिएको आरोप किसानको छ । ‘घ्युको मूल्य किलोको पाँचसयबाट सातसय पुगेको छ । यस्तै पनिर, दही र मिठाईको मूल्य पनि बढेको छ, तर त्यसबाट किसानलाई कुनै लाभ भएको छैन,’ संघका उपाध्यक्ष बाबुराम अधिकारीले भने ।
सस्थान र डेरीले भारतबाट ४९ रुपैयाँ लिटरमा दुध किन्न थालेपनि नेपाली किसानलाई परल मूल्य दिन आनाकानी गरिरहेका छन् । ‘भारतबाट किन्ने दुध र यहाँ किसानले पाउने मूल्यमा १५ रुपैयाँ फरक छ । यो किसान मार्ने षडयन्त्र हो,’ उनले भने । दुधको उचित मूल्य नपाउदाँ किसानहरु यस क्षेत्रबाट पलायन भैरहेको संघले जनाएको छ । संघले दुधको परल मूल्य कायम गर्न माघ १९ मा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र दिएको थियो । किसानहरुले विगत दुई वर्षदेखि दुधको मूल्य बढाउन माग गर्दै आएका छन् । एक वर्ष अगाडि उपभोक्तालाई दुधको मूल्य बढाइएपनि किसानलाई दिइएको छैन ।