BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको नाफा छ सय प्रतिशत बढ्यो, छ महिनामा २० करोड, एसबीआईको नाफा ४५ करोड माथि

२०७० माघ २२

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य बृद्धि देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म यो बैंकको नाफा गत वर्षको तुलनामा छ सय प्रसितले बढ्यो । गत वर्षको साउन देखि पुससम्म तीन करोड २९ लाख नाफा कमाएको यो बैंकले यस वर्षको सोही अवधिमा २० करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा पनि तीन करोड ७७ लाख रुपैयाँबाट २५ करोड ३० लाख रुपैयाँ पुगेको छ । 
यस अवधिमा बैंकले व्याज आम्दानी निकै बढाएको छ । गत वर्षको तुलनामा यस वर्ष बैंकले व्याज आम्दानी करिब साढे ११ करोड थप्यो । यसले बैंकको खुद नाफालाई माथि पुर्याउन सबैभन्दा ठूलो भूमिका निर्वाह गर्यो । दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ४९ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । बैंकले पुँजीको लागत (कस्ट अफ फण्ड) पनि घटाउँदै लगेको छ । 
बैंकको गत वर्ष ६.९६ प्रतिसत रहेको कस्ट अफ फण्ड यस वर्ष ६.२८ प्रतिसतमा झरेको  छ । बैंकले यस वर्ष चार करोड ४३ लाख रुपैयाँ राइट व्याक गरेको छ । बैंकको प्रोभिजनिङ पनि घट्दै गएको छ । बैंकले निक्षेप नौ अर्व बढाएर ३१ अर्ब नघाएको छ भने कर्जा लगानी करिब साढे सात अर्ब रुपैयाँ बढाएर २५ अर्ब नघाएको छ । 
गतवर्ष स्टेण्डर्ड फाइनान्सलाई माछापुच्छ्रेमा मर्ज गराएपछि गैरआवासीय नेपाली उपेन्द्र महतोले त्यहाँ होल्ड बढाउँदै लगेका छन् । यसअघि बहुमतमा रहेका पोखराका उद्योगपति सुर्यबहादुर के।सी परिवारको माछापुच्छ्रे बैंकमा रहेको होल्ड घट्दै गएको छ भने महतो परिवार शक्तिशाली बनेको छ । बैंकमा महतो परिवारको सेयर स्वामित्व २५ प्रतिशत माथि पुगेको छ भने केसी समूहको स्वामित्व घटेको छ । 
त्यस्तै  नेपाल एसबीआई बैंकको नाफा २० प्रतिशतले बढेर ४५ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा ३८ करोड १८ लाख रुपैयाँ थियो । बैंकको फि कमिसनबाट भएको आम्दानी, खुद व्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । बैंकको खुद व्याज आम्दानी ८.३२ प्रतिशतले बढेर ८३ करोड रुपैयाँ पुगेको छ । फि , कमसिनबाट भएको आम्दानी २२ प्रतिशतले बढेर १७ करोड पुगेको छ । बैंकको अन्य आम्दानी १७ प्रतिशतले बढेर आठ करोड भएको छ । 
बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी १० प्रतिशतले बढेर पाँच करोड २५ लाख भएको छ । बैंकको सञ्चालन मुनाफा भने १४ प्रतिशतले बढेर ६५ करोड १६ लाख भएको छ । बैंकको कर्मचारी खर्च, र अन्य सञ्चालन खर्च केही बढेको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा करिब ५० प्रतिशतले घटाएर चार करोड ६५ लाख रुपैयाँ छुट्याएको छ । बैंकले यसअघि सम्भावित जोखिमको लागि छुट्याएको छ करोड २८ लाख पनि फिर्ता भएको उल्लेख छ । 
बैंकको निक्षेपको तुलनामा कर्जा लगानीमा भएको वृद्धि बढि छ । बैंकको कर्जा निक्षेप अनुपात भने केही बढेर ७६.६४ भएको छ । बैंकले कर्जा लगानी बिस्तार गर्न सकेको यसले देखाउँछ । राष्ट्र बैंकले यस्तो अनुपात ८० मा कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ । कर्जा १५ प्रतिशतले बढेर ३२ अर्ब ३२ करोड, निक्षेप चार प्रतिशतले बढेर ५६ अर्ब ४४ करोड भएको छ । 
बैंकको रियल स्टेट कर्जा २० प्रतिशतले बढेर एक अर्ब २९ करोड रहेको छ । यो कुल कर्जाको चार प्रतिशत हो । बैंकले ओभरड्राफ्ट कर्जामा कुल कर्जाको ६२ प्रतिशत लगानी गरेको छ । बैंकको चुक्तापूँजी १२ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४, मूल्य आम्दानी अनुपात ३२, प्रतिसेयर नेटवर्थ एक सय ६० रहेको छ । 
 

Tata
GBIME
Nepal Life