BIZMANDU
www.bizmandu.com

छ महिनामै ग्लोबल बैंकको नाफा ५३ करोड माथि, दोब्बरले बढ्यो, सानिमाको नाफा पनि ५० प्रतिशत बढ्यो

२०७० माघ ९

काठमाडौं । ग्लोबल आईएमई बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अथवा साउन देखि पुससम्मको अवधिमा ५३ करोड २८ लाख रुपैंया खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा दोब्बर भन्दा बढी हो । गत वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । दोस्रो त्रैमासले बैंकले आर्थिक वर्षभरिमा गर्ने खुद नाफाको दरलाई संकेत गर्छ । यो दर कायम रहे बैंकले चालु आर्थिक वर्षमा खुद नाफा एक अर्ब रुपैयाँ नघाउन सक्ने देखिएको छ । अर्को त्रैमासिक अवधिमा ग्लोबल आईएमई र कमर्ज एण्ड ट्रष्ट बैंक गाभिइसक्ने भएकोले पनि नाफा एक अर्व नाघ्छ । गत आर्थिक वर्षमा बैंकले ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको निक्षेप ३७ अर्ब रुपैयाँको हाराहारीमा छ भने कर्जा लगानी ३० अर्ब छ । 
बैंकले प्रोभिजनिङबाट २६ करोड रुपैयाँ राइट व्याक गरेको छ । यसले नाफा बढाउन सहयोग गरेको छ । व्याज आम्दानी ७८ करोड ९७ लाख रुपैयाँ गरेको छ । यो व्याज खर्च कटाएर भएको आम्दानी हो । बैंकले विदेशी मुद्राको कारोबारबाट ६ करोड ७० लाख कमाएको छ । बैंकको खराव कर्जाको मात्रा ३.२२ प्रतिसत रहेको छ । 

Tata
GBIME
Nepal Life

सानिमाको नाफा ५० प्रतिशत बढ्यो

सानिमा बैंकले खुद नाफा करिब ५० प्रतिसतले बढाएको छ । बैंकले दोस्रो त्रैमाससम्म १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले १३ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस वर्षको पहिलो त्रैमासमा बैंकले आठ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकमा १९ अर्ब ८८ करोड निक्षेप छ भने १७ अर्ब १७ करोड कर्जा लगानी गरेको छ । 
बैंकले दोस्रो त्रैमाससम्म ३६ करोड २७ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । त्यस्तै विदेशी मुद्राको कारोबारबाट सात करोड ५९ लाख रुपैयाँ कमाएको छ । यो बैंकको खराव कर्जाको मात्रा निकै थोरै छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खराव कर्जाको मात्रा कुल कर्जाको ०.१० प्रतिसत रहेको जनाइएको छ ।