BIZMANDU
www.bizmandu.com

कृषि विकास बैंक ४७ औं बर्षमा, उत्पादनमुखी अर्थतन्त्रका लागि वित्तीय क्षेत्र एकजुट् हुन आग्रह

२०७० माघ ७

कृषि विकास बैंक ४७ औं बर्षमा, उत्पादनमुखी अर्थतन्त्रका लागि वित्तीय क्षेत्र एकजुट् हुन आग्रह
कृषि विकास बैंक ४७ औं बर्षमा, उत्पादनमुखी अर्थतन्त्रका लागि वित्तीय क्षेत्र एकजुट् हुन आग्रह

काठमाडौं । कृषि क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको कृषि विकास बैंकले मंगलबार ४६ बर्ष पुरा गरेको छ । पछिल्लो समय बाणिज्य बैंकको रुपमा कारोवार गरि रहेको बैंकले देशभर दुई सय ४३ वटा शाखाबाट कारोवार गर्दै आएको छ ।

बैंकको ४७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने अभियानमा वित्तीय क्षेत्रले अग्रणी भूमीका खेल्नु पर्ने बताए । संबिधानसभाको दोस्रो निर्वाचन जितेका सबै दलको प्राथमिक एजेण्डा मुलुकको अर्थतन्त्र सुदृढ पार्ने रहेको र राजनीतिक स्थिरतासँगै मुलुक आर्थिक विकासमा अघि बढ्ने विश्वास लिएको उनको भनाइ थियो ।
मन्त्रीको हैसियतमा आफूले हस्तक्षेप शून्य नीति लिएकाले सरकारी बैंकहरुले समयानुकूल प्रतिस्पर्धी भएर अघि बढ्नुपर्ने उनले बताए । ‘सरकारको स्वामित्त घटाउँदै बैंकलाई समयसापेक्ष प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो’ उनले भने ‘जसबाट पूँजी र प्रविधिसंगै सक्षम व्यवस्थापन भित्रिने मात्र होइन बैंकले राजनीतिक हस्तक्षेपबाट पनि मुक्ती पाउनेछ ।’
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले पूँजी हाल्नेले नियन्त्रण गर्ने परम्परा स्वाभाविक भएको भन्दै सरकारको व्यावसायिक हस्तक्षेपलाई अन्यथा लिन नहुने बताए ।  निक्षेप र करदाताहरुप्रति सरकारको दायित्व रहने भएकाले सरकारी निगरानी आवश्यक भएको उनको तर्क थियो । ‘उमेरले परिपक्व र अग्लो हुँदैमा संस्थाहरु स्वस्थ हुँदैनन्’ उनले भने ‘कम व्याजमा कृषि क्षेत्रमा लगानी बढाउन र वाणिज्य बैंकका नाममा सामाजिक दायित्वबाट पर भाग्नु हुँदैन ।’
वाणिज्य बैंकहरुले निश्चित प्रतिशत कृषिमा लगानी गर्नुपर्ने सरकारी नियमले कृषि विकास बैंकलाई थप सजिलो बनाएको नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष राजन सिंह भण्डारीले बताए । कमाई पारदर्शी भए लगानीले पनि सोही अनुसारको प्रतिफल दिने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा मन्त्री कोइरालाले बैंकका पूर्व महाप्रबन्धक, अध्यक्ष र २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई सम्मान गरे । २०२४ माघ ७ गते स्थापना भएको कृषि विकास बैंकको अधिकृत पूँजी  १३ अर्ब र चुक्ता पूँजी नौं अर्ब ६३ करोड रहेको छ । बैंकले ८९ कार्यालयबाट एबीबीएस, एक सय ७८ कार्यालयबाट रेमिट, मुद्रा सटही र प्रतितपत्रको कारोवार सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life