काठमाडौं । लाइफ इन्स्योरेन्न कर्पोरेशन (नेपाल)ले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०६८/६९ को नाफाबाट सुरुमा २१ प्रतिशत लाभांसको प्रस्ताव गर्यो, त्यसको चार महिनापछि कम्पनीले आर्थिक वर्ष २०६८/६९ र २०६९/७० गरी सेयरधनीलाई दुई आर्थिक वर्षकै लाभांस दिने निर्णय सार्वजनिक गर्यो । अहिले लाइफ इन्स्योरेन्स कर्पोरेशनले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने छ ।
एलआईसी नेपालले जीवमा बिमा कोषको एक्चुरिअल भ्यालुएशन गराएपछि नाफा बढेको हो । नाफा बढेपछि कम्पनीले बोनस सेयर पनि बढाउने निर्णय गरेको हो । एलआईसीको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०६९/७० मा १२ करोड ४३ लाख नाफा भएको थियो । त्यसअघिल्लो वर्षमा १७ करोड १७ लाख रुपैयाँ मुनाफा थियो । अहिलेको एक्चुरिअल भ्यालुएशनमा नाफा २८ करोड २८ लाख पुगेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
यो एक्चुरियल नाफा बीमा समितिबाट पारित हुन भने बाँकी छ । बीमा समितिले नियमित रुपमा यो बर्षबाट जीवन बीमा कोषको एक्चुअरील भ्यालुएशन गर्न निर्देशन दिएपछि अन्य जीवन बीमा कम्पनीले पनि यस्तो भ्यालुएसन गरिरहेका छन् ।
हालसम्म बीमा समितिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले मात्र एक्चुअरी मूल्यांकन पछिको रिपोर्ट पेश गरेको छ । यो व्यवस्था लागू भएको पहिलो बर्ष भएकोले जीवन बीमा कम्पनीहरुको गत बर्षको नाफा प्रकासित भएभन्दा बढ्ने छ । यसअघि हरेक तीन÷तीन बर्षमा जीवन बीमा कम्पनीहरुले यस्तो कोषको एक्चुरियल भ्यालुएशन गर्दै आएका थिए ।
समितिले गत असारमा जीवन बीमा कम्पनीहरुलाई सल्भेन्सी मार्जिन (दायित्वको तुलनामा कम्पनीको सम्पत्ती कति छ भनेर निकालिने अनुपात) को व्यवस्था गर्न निर्देशन दिएसंगै हरेक बर्ष एक्चुअरी मूल्यांकन गर्नुपर्ने अवस्था आएको हो ।
बीमा समितिका उपनिर्देशक दिनेशकुमार लालले भने, ‘गत बर्ष जीवन बीमा कम्पनीहरुले प्रकासित गरेको नाफा एक्चुअरी मूल्यांकनपछि ३० देखी ४० प्रतिशत सम्म बढ्ने देखिन्छ ।’ तर हरेक बर्ष एक्चुअरी मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएकोले अबको बर्षदेखि भने हरेक बर्ष वास्तिविक नाफा देखिन थाल्ने लालले बताए । निर्जीवन बीमा कम्पनीहरुलाई भने एक्चुअरी मूल्यांकन गर्नुपर्ने व्यवस्था नै छैन् ।
हालसम्म एक्चुअरी मूल्यांकन गर्ने संस्था (बिमाङ्की) भने नेपालमा छैन् । कम्पनीहरु भारत लगायतका अन्य देशमा रहेका संस्थाहरु मार्फत् एक्चुअरी गराउँने गर्छन् ।
के हो एक्चुअरी मूल्यांकन ?
जीवन बीमा कम्पनीहरुले सञ्चालन गरेको बीमा योजना अन्र्तगत हुने आम्दानी वा बीमित (बीमा गरिएको व्यक्ति) हरुले कम्पनीलाई बुझाउने शुल्क बिभिन्न खर्च कटाएपछि जीवन बीमा कोषमा राखिने गरिन्छ । बीमा समितिका उपनिर्देशक लालका अनुसार जीवन बीमा कोषहरुले सञ्चालन गरेको बिभिन्न योजनाहरुबाट भएको आम्दानीहरु पूँजीगत जगेडा कोष, बिशेष जगेडा, अन्य जगेडा लगायतका शिर्षकहरुमा राखिएको हुन्छ ।
यी आम्दानीहरु (बीमा शुल्क , लगानी वा कर्जाबाट भएको आय) बाट दाबि भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि बाँकी हुने रकमलाई बीमा कम्पनीहरुमा बचत भनिने चलन छ । यही बचत रकम बार्षिक रुपमा जीवन बीमा कोषमा सारिने गरिन्छ ।
जीवन बीमा कम्पनीहरुले कुनै बीमीतको मृत्यु नभएको खण्डमा पनि बीमा योजना परिपक्व भएपछि त्यो व्यक्तिलाई निश्चित रकम भुक्तानी दिनुपर्ने हुन्छ । जीवन बीमा कम्पनीको कुनै पनि योजना परिपक्व नहुँदासम्म त्यसप्रतिको दायित्व कायम रहन्छ । यसले गर्दा कम्पनीहरुले यस्तो बचत जीवन बीमा कोषमा राख्ने गर्छन् । जीवन बीमा कोषमा रहेको रकमको वास्तविक मूल्यांकन गर्ने कार्य नै एक्चुअरी मूल्यांकन हो । एक्चुअरी मूल्यांकन गणितिय शुत्रहरु प्रयोग गरेर निकालिने हिसाब हो । एक्चुअरी अध्ययन गरेका व्यवसायिक व्यक्तिहरुले यस्तो हिसाब गर्छन् । यो चार्टर्ड एकाउन्टेन्टभन्दा पनि माथिल्लो स्तरको शिक्षा भएको बताइन्छ ।
जीवन बीमा कम्पनीहरुको एक्चुअरी मूल्यांकनपछि कम्पनीको नाफामा पर्ने असरलाई सामान्य रुपमा बुझ्न यो उदाहरण हेर्न सकिन्छ । मानौं, कुनै कम्पनीको जीवन बीमा कोषमा एक सय रुपैया रहेको छ । तर त्यसमध्ये कम्पनीको दायित्व (तिनुपर्ने रकम) जम्मा ९० रुपैयाँ रह्यो । एक्चुअरी मूल्यांकनले दायित्व पछि बाँकी हुने रकम देखिन्छ । यसरी त्यही उदाहरण अनुसार आएको दायित्व मुक्त १० रुपैयाँ मध्य निश्चित प्रतिशत कम्पनीहरुले आफ्नो नाफामा देखाउँन पाउँछन् । कम्पनीहरुले दायित्व मुक्त रकमको १० प्रतिशत आफ्नो नाफामा जोड्न पाउने व्यवस्था रहेको समितीका उपनिर्देशक लाल बताउँछन् ।
यदी एक्चुअरी अगाडी कुनै कम्पनीको नाफा ५० रुपैयाँ छ भने अघिको उदाहरण अनुसार दायित्व मुक्त १० रुपैयाँको १० प्रतिशत (एक रुपैयाँ) कम्पनीको नाफामा जोड्न पाइने भयो । यसरी एक्चुअरी मूल्यांकन पछि कम्पनीको नाफा अब ५० रुपैयाँबाट बढेर ५१ रुपैयाँ हुने भयो ।