BIZMANDU
www.bizmandu.com

संस्थागत सुशासन पालना नगरेपछि एनबीलाई कारवाही, निर्जीवन बीमा व्यवसायमा पूर्ण रोक

२०७० पुष १५

काठमाडौं  । बीमा समितिले एनबी इन्सुरेन्सको कारोवारमा फेरी रोक लगाएको छ । एनबी इन्सुरेन्सलाई सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ प्राप्त नभएपछि बीमा समितिले एनबीको कारोवार रोक्ने निर्णय गरेको हो । बीमा समितिले सोमवार सार्वजनिक सूचना जारी गरेर एनबी इन्सुरेन्सको सम्पूर्ण निर्जीवन बीमा व्यवसायमा रोक लगाएको जानकारी दिएको छ । एनबी समूहसम्वद्ध यो इन्सुरेन्सलाई सुधार गर्न बीमा समितिले पटक पटक निर्देशन दिंदै आएको थियो । निर्देशनको अटेर गरेपछि समितिले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्त बुझ्दो नभएपछि बीमा ऐन २०४९ को दफा १२ कको उपदफा (३) बमोजिम बीमा व्यवसायमा रोक लगाउने निर्णय गरिएको हो ।

एनबी इन्सुरेन्सका सञ्चालकहरुले बीमाकर्तासँग शुल्क उठाएर व्याक्तिगत रुपमा खर्च गरेको पाइएपछि समितिले एनबी इन्सुरेन्सलाई कारवाही गर्ने निर्णय गरेको हो । सञ्चालकहरुले इन्सुरेन्सलाई आफ्नै घर भाडामा दिनुका साथै भाडा वापत पाँच करोड ९० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेका थिए ।
नियमअनुसार एकैपटकमा २० लाख रुपैयाँभन्दा बढीको खर्च गर्नुपरे बीमा समितिबाट स्वीकृती लिनुपर्दछ । तर एनबी इन्सुरेन्सका सञ्चालकहरुले केएसडी नामको आफ्नै कम्पनीलाई १० पटक गरेर घरभाडा भुक्तानी गरेका थिए । मासिक दुई लाख ३० हजारका दरले प्रत्येक दुई वर्षमा १० प्रतिशतले बढ्ने गरी पाँच करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
यसरी भुक्तानी गर्दा एनबी इन्सुरेन्सलाई पाँच वर्षमा व्याजवापत झण्डै छ करोड रुपैयाँ घाटा लागेको थियो । एनबी इन्सुरेन्सले स्थिर सम्पत्ति किन्दा वा निर्माण गर्दा आफ्नो नेटवर्थको ३० प्रतिशतभन्दा बढी खर्च गर्न नपाउने नियम पनि उल्लंघन गरेको थियो । कम्पनीले अघिल्लो आर्थिक वर्षको अझैसम्म पनि वित्तीय प्रतिवेदन साधरणसभाबाट स्वीकृत गरेको छैन, यसैकारण नेटवर्थ गणना गर्दा त्यस अघिल्लो वर्षलाई आधार लिइएको छ ।
त्यसअघिल्लो वर्ष कम्पनीको नेटवर्थ जम्मा छ करोड ५० लाख रुपैयाँ मात्र थियो, नेटवर्थको ३० प्रतिशत अर्थात एक करोड ९५ लाख रुपैयाँ मात्र एनबी इन्सुरेन्सले खर्च गर्न सक्छ । तर घरभाडाकै लागि कम्पनीले नेटवर्थले तोकेको ३० प्रतिशतभन्दा झण्डै चार करोड रुपैयाँ बढी भुक्तानी गरेको छ ।
बीमा समितिको स्थलगत अध्ययन अनुसार एनबी इन्सुरेन्सले सर्भेयरको अन्तिम मूल्यांकन आउनु अघि नै दावी भुक्तानी गरेको पाइएको थियो । एनबी इन्सुरेन्सका सञ्चालक जेन श्रेष्ठ प्रवन्ध सञ्चालक रहेको नेशनल हाइड्रोलाई इन्सुरेन्सले ऋण लिएर सर्भेयरको अन्तिम प्रतिवेदन नआउँदै भु्क्तानी गरेको थियो ।
नेशनल हाइड्रोलाई भुक्तानी दिनका लागि इन्सुरेन्सले पश्चिमाञ्चल फाइनान्समा राखेको २० लाख रुपैयाँ मुद्धतीलाई धितोमा राखेर १८ लाख रुपैयाँ ऋण लिएको थियो । इन्सुरेन्सले सात लाख बिमालेख जारी गरेको छ भने एक लाख ३० हजार बिमालेखको भुक्तानी गर्न बाँकी छ । छ  वटा शाखा कार्यालय र सातवटा सम्पर्क कार्यालय छन् । बीमा समितिको यो निर्णयपछि एनबी इन्सुरेन्सले बीमा गर्न, बीमा लेखको भुक्तानी गर्न, दावी भुक्तानी गर्नमा रोक लागेको छ ।
एनबी इन्सुरेन्सले चुक्ता पुँजी बढाउनुपर्ने प्रस्ताव पनि पूरा गरेको छैन् । बीमा समितिले गत आर्थिक वर्षको मसान्तसम्म निर्जीवन बीमा कम्पनीलाई आफ्नो चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । १४ करोड रुपैयाँ चुक्ता पुँजी भएको एनबीको २५ करोड चुक्ता पुँजी पुर्याउने कुनै पनि प्लान अहिलेसम्म पेश गरिएको छैन् । अघिल्लो वर्षदेखि बीमा कम्पनीको शुसान सुधारमा लागेको बीमा समितिले यसअघि नै राजेन्द्र खेतान मुख्य प्रवद्र्धक भएको एभरेष्ट इन्सुरेन्स टेकओभर गरेर सञ्चालन गर्दै आएको छ ।

Vigo
GBIME
Tata