BIZMANDU
www.bizmandu.com

मुटुमा समस्या देखिएपछि गभर्नर डा. युवराज खतिवडा गंगालाल भर्ना, सीसीयुमा उपचार गरिदै

२०७० असोज १३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई मुटुको समस्याले बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । शनिवार एक कार्यक्रममा सहभागि भइरहेकै बेला छाती दुखेर बेहोस भएपछि गभर्नरलाई शहिद गंगालाल हृदय केन्द्रमा पुर्याइएको थियो । गभर्नरको मुटुमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
आकस्मिक कक्षमा सामान्य उपचारपछि उनलाई सीसीयूमा सारिएको थियो । ‘शनिवार उहाँ कार्यक्रममा सहभागी भएकै बेला बेहोस भएपछि अस्पताल पुर्याइएको रहेछ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले भने, ‘मुटुमा सामान्य समस्या देखिएको छ । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’ प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार गभर्नर खतिवडाको छातीमा टेम्पोररी पेश मेकर राखिएको छ ।
गभर्नर शनिवार खतिवडा समाजको कार्यक्रममा सहभागि भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनी बेहोस भएका थिए । कार्यक्रम स्थलबाटै उनलाई अस्पताल पुर्याइएको राष्ट्र बैंक स्रोतले जनाएको छ । गभर्नर खतिवडाले यस अघि पनि नर्भिक अस्पतालमा उपचार गराएका थिए ।
आइतबारसम्म दुबै डेपुटी गभर्नर मुलुकबाहिर रहने कार्यक्रम छ । आइतबार नै डेपुटी गभर्नर महाप्रसाद अधिकारी फ्रान्सबाट स्वदेश फर्कने कार्यक्रम छ । अर्का डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले मंगोलिया गएका छन् ।

GBIME
Tata