काठमाडौं । निर्वाचन आयोगका सचिवले राजिनामा दिएकै दिन आयोगका पदाधिकारीहरुले मंसिर ७ मा घोषणा गरेको चुनाव हुन नसक्ने घोषणा गरेका छन् । यसले जेठ १४ को मध्य राती संविधान सभा भंग गरेर मंसिर ७ गते चुनाव घोषणा गरेको सरकारलाई झन् अफठ्यारोमा पारिदिएको छ ।
निर्वाचन आयोगले संवैधानिक र कानूनी जटिलतालाई आधार देखाउँदै मंसिर ७ मा चुनाव हुन नसक्ने घोषणा गरेको हो । आयोगले दलहरुवीच सहमति नहुनु पनि चुनाव हुन नसक्ने अर्को कारणका रुपमा अघि सारेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्तहरु आयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले पत्रकार सम्मेलन गरेर चुनाव हुन नसक्ने घोषणा गरेका हुन् ।