BIZMANDU
www.bizmandu.com

नेप्सेलाई यो वर्ष किन ‘फेवरेवल’ ? आर्थिक वृद्धि, मुल्य वृद्धि, सेयर बजार र व्याजको विश्लेषण

२०७० साउन ९

नेप्सेलाई यो वर्ष किन ‘फेवरेवल’ ? आर्थिक वृद्धि, मुल्य वृद्धि, सेयर बजार  र व्याजको विश्लेषण
नेप्सेलाई यो वर्ष किन ‘फेवरेवल’ ? आर्थिक वृद्धि, मुल्य वृद्धि, सेयर बजार र व्याजको विश्लेषण

काठमाडौं । आर्थिक बृद्धिदर, मुल्य बृद्धि र व्याज दरले सेयर बजारलाई सीधा प्रभाव पार्छ । चालु आर्थिक वर्षमा अर्थतन्त्रका यी प्रमुख तीन सूचकका आधारमा सेयर बजार थप बढ्ने देखिन्छ । सरकारले आर्थिक वर्ष २०७०/७१ को लागि जारी गरेको बजेट र नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले चालु आर्थिक वर्षमा अर्थतन्त्र बढ्ने, व्याजदर घटाउने र मुद्रास्फीति बढाउने छ ।
आर्थिक बृद्धि र सेयर बजार
नेपालको अर्थतन्त्रमा कृषिको योगदान करिब ३६ प्रतिशत छ । यस वर्ष मनसुनी वर्षा समयमै हुदा मुलुकभर धान ठीक समयमा रोपिएको छ । धानले कृषिजन्य क्षेत्रको योगदानमा सर्वाधिक हिस्सा ओगट्छ । गत वर्ष साउन पहिलो सातासम्म देशको आधा हिस्सामा मात्रै धान रोपिएको थियो तर यस वर्ष ८५ प्रतिशतभन्दा बढी हिस्सामा धान रोपाई भइसकेको छ । वर्षा समयमै हुँदा मकैको उत्पादनमा पनि सकारात्मक प्रभाव परेको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

यसपटक समयमा पानी परेपछि देशको ८५ प्रतिशत हिस्सामा धान रोपार्इं सकिएको छ, यसको कनेक्सन पनि सेयर बजारमा छ ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षमा सरकारले समयमै बार्षिक बजेट सार्वजनिक गरेको छ । यसले पनि विकास निर्माण र आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउँछ । यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारमा तरलता बृद्धि गरी व्याजदर घटाउने नीति अवलम्बन गरेको कारण लगानी बढ्ने देखिन्छ । जसका कारण चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर गत वर्षको अनुमानित ३.६ प्रतिशतभन्दा बढी हुन्छ ।
विगत ११ वर्षको आर्थिक बृद्धिदर र नेप्से परिसूचकको सम्बन्ध ०.४४ अंक धनात्मक छ । यसको अर्थ अर्थतन्त्र बढ्दा सेयर बजार पनि बढ्छ भने घट्दा सेयर बजार पनि घट्छ ।
आर्थिक वर्ष २०६४÷६५मा सेयर बजार उच्च विन्दुमा पुग्नु अघि आर्थिक बृद्धिदरको ट्रेण्ड बढ्दो थियो भने त्यसपछि आर्थिक बृद्धिदर घट्दै गयो र सेयर बजार पनि घट्यो । यो वर्ष निर्वाचन हुने भएकोले अर्थतन्त्र र तरलता दुवै बढ्छ । संविधान सभाको पहिलो निर्वाचन भएको वर्ष आर्थिक बृद्धिदर ५.८ प्रतिसत पुगेको थियो । त्यसको अघिल्लो वर्ष आर्थिक बृद्धिदर २.७५ प्रतिशत मात्रै थियो । आर्थिक वर्ष २०६३/६४ मा ६८३ अंकमा रहेको सेयर सूचक पनि बढेर संविधान सभा चुनाव हुँदाको वर्ष ९६३ अंकमा पुग्यो । त्यसभन्दा पछिल्लो वर्ष आर्थिक वृद्धिदर घटेर ३.९ प्रतिशतमा झर्यो सेयर सुचक पनि झरेर ७४९ अंकमा आइपुग्यो ।

व्याजदर र सेयर बजार
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाले यो बर्ष व्याजदर घट्ने देखिन्छ । बैंक तथा वित्तीय सस्थाले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दात अनुपात(सिआरआर) एक प्रतिशत विन्दुले घटाएको छ । सिआरआर घट्दा बैंकिङ क्षेत्रमा तरलता बढ्न गई व्याजदर घट्छ । गत जेठ मसान्तसम्मको तथ्यांक अनुसार सिआरआर घट्दा बजारमा न्युनतम ११ अर्ब रुपैयाँ थपिन्छ । यसैगरी मौद्रिक नीतिमा स्थायी तरलता अनुपात पनि घटाइएको छ ।
यसले बैंक तथा वित्तीय सस्थाले सरकारी धितोपत्रमा गर्नुपर्ने अनिवार्य लगानी घटाउँछ । यो व्यवस्थाले पनि बजारमा तरलताको मात्रा बढाउछ । अमेरिकी डलरको मुल्य बढ्दा नेपाल भित्रिने रेमिटेन्सको मात्रा बढ्ने भएकोले तरलता बढ्छ ।  गत असारमा डलरको मुल्य हालसम्मकै उच्च ९६ रुपैयाँ पुग्यो । यसले पनि रेमिट्यान्सको आप्रवाहमा पनि उल्लेख वृद्धि भएको छ ।
सरकारले कर्मचारीको तलब बढाएको छ, तलब बृद्धिले पनि बजारमा तरलता बढाउँछ । समयमै बजेट आएको कारण सरकारी खर्च बढ्न गई तरलताको अभाव हुने संभावना देखिंदैन । गत आर्थिक वर्षमा समयमै बजेट आउन नसकेको कारण सरकारले खातामा जम्मा भएको पैसा समेत खर्च गर्न सकेको छैन ।
गत आर्थिक वर्षको अन्त्यसम्म पनि सरकारी खातामा २७ अर्ब ८८ करोड रुपैयाँ बचत थियो । सरकारी खर्च समयमै नहुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या देखिने गर्छ । व्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ । विगत १० वर्षको नेप्से परिसूचक र ट्रेजरी विल्सको बार्षिक औसत व्याजदरको सम्बन्ध ०.१९ धनात्मक छ । दस बर्षको अवधिलाई दुई भागमा बाँडेर सम्बन्ध विश्लेषण गर्दा अघिल्लो र पछिल्लो पाँच वर्षको सम्बन्ध क्रमस: ऋणात्मक ०.४६ र ०.५४ छ ।
यसको अर्थ व्याजदर घट्दा सेयर बजार बढेको छ भने बढ्दा सेयर बजार घटेको छ । आर्थिक वर्ष २०६४/६५ पछि सेयर बजार घट्नुको कारण व्याजदरमा भएको निरन्तर वृद्धि पनि हो । आर्थिक वर्ष २०६३/६४मा २.४४ प्रतिसत रहेको ट्रेजरी विल्सको वार्षिक औसत व्याजदर आर्थिक वर्ष २०६७/६८ मा बढेर ७.४१ प्रतिसत पुगेको थियो । यही अवधिमा नेप्से परिसूचक ११७५ अंकबाट घटेर २९२ अंकमा झर्यो ।
मुद्रास्फीति र सेयर बजार
विगत १० वर्षको मुद्रास्फीति दर र नेप्से परिसूचकको सम्बन्ध ०.४१ धनात्मक छ । मुद्रास्फीति र सेयर बजारको सम्बन्ध सकारात्क हुन्छ । कर्मचारीको तलबमा भएको वृद्धि, अनिवार्य नगद मौज्दातमा गरिएको कमी, डलरको मुल्यमा भएको वृद्धि (नेपाली मुद्राको अवमुल्यन) लगायतका कारण चालु आर्थिक वर्षमा मुद्रास्फीति दर गत आर्थिक वर्षको संसोधित अनुमान ९.९ प्रतिशतभन्दा बढी हुने देखिन्छ ।
सरकार र राष्ट्र बैंकले चालु आर्थिक वर्षमा आठ प्रतिशत मुल्य वृद्धिदर कायम हुने लक्ष्य राखेका छन् । आर्थिक वर्ष २०६५/६६मा मुद्रास्फीति दर १२.३ प्रतिशत हुँदा २०६५ भदौमा नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ११७५ पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०६८/६९मा मुद्रास्फीति दर ८.३ प्रतिशतमा झर्दा नेप्से परिसूचक ३८९ अकंमा झर्यो ।
अर्थतन्त्रका यी सूचकांकका आधारमा चालु आर्थिक वर्षमा सेयर बजार थप बढ्ने देखिन्छ । प्राविधिक विश्लेषणका आधारमा नेप्से परिसूचकको यस पछिको पहिलो अवरोध ५९१ विन्दुमा छ । दोस्रो र तेस्रो अवरोध क्रमसः ६५१ र ६६३ मा छ । चालु आर्थिक वर्षमा नेप्से परिसूचक तेस्रो अवरोधसम्म पुग्ने छ ।
यो आलेख रविन्द्र भट्टराईले आफ्नो नयाँ पुस्तक सेयरको आधारभूत विश्लेषणमा आधारित रहेर तयार पारेका हुन् ।